Comments Add Comment

‘पिउनलायक छैन दिल्लीको पानी’

१ मंसिर, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा हावासँगै पानी पनि विषाक्त बनेको छ । भारतको एक सरकारी निकाय ब्युरो अफ स्टान्डर्डस (बीआईएस)ले गरेको परीक्षणमा दिल्लीको पानी पिउनलायक नभएको निष्कर्ष निकालिएको हो ।

दिल्लीको ११ स्थानबाट पानीको नमूना संकलन गरिएको थियो र ती सबैमा नकारात्मक नतिजा आएको भारतीय मिडियाहरुले जनाएका छन् ।

जी न्यूज लेख्छ, ‘आश्चर्यको कुरा त यो छ कि दिल्लीका बुराडी, कृषि भवन, अशोक नगर, नन्द नगरी, जनता बिहारदेखि लिएर १२ जनपथ अर्थात् स्वयम् उपभोक्ता मामला, खाद्य र सार्वजनिक वितरण मामिला मन्त्री रामविलास पासवानको सरकारी आवासको पानी सबैभन्दा दूषित पाइएको छ ।’

केन्द्रीय मन्त्री पासवानले धारामार्फत् वितरण गरिएको दिल्लीको पानी परीक्षण गर्दा खराब नतिजा आएको जानकारी दिएका छन् । उनले यो समस्या समाधानका लागि तत्कार दिल्ली सरकार दिल्ली जल बोर्डको बैठक बोलाउने पनि बताएको हिन्दुस्तान डटकमले लेखेको छ ।
बीआईसीले २१ ठूला शहरको पानी परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्टमा दिल्लीको पानी सबैभन्दा खराब र पन्जाबको सबैभन्दा सुरक्षित देखिएको छ । सरकारले वितरण गरेको पानीको नमूना परीक्षण गर्दा दिल्लीको सबै नमूना फेल भएको र पन्जाबको सबै नमूना पास भएको समाचारमा उल्लेख छ ।

बीआईएसले हालै गरेको परीक्षणमध्ये चण्डीगढ, गान्धीनगर, पटना, बैंगलोर, जम्मु, लखनउ, चेन्नाई र देहरादुनको ट्युबेलको पानी सबैभन्दा दुषित पाइएको छ ।

यसैगरी हैदरावाद, भुवनेश्वर र राँचीमा १० नमूनामध्ये एउटामात्र फेल भयो । यस्तै रायपुरका पाँच नमूना परीक्षणमा नकारात्मक नतिजा आयो । सिमलामा ६ र दिल्लीमा ११ मध्ये सबै ११ नमूना फेल भयो ।

अहिले भारतभर तीन चरणमा पानीको शुद्धता जाँच्ने प्रक्रिया चलिरहेको छ । १९ मानक राखेर पानीको शुद्धता जाँचिदैछ ।

पहिलो चरणमा राज्यको राजधानीमा पानी परीक्षण गर्ने क्रम चलिरहेको छ । दोस्रो चरणमा १५ जनवरीसम्म १ सय स्मार्ट शहरको रिपोर्ट सार्वजनिक गर्ने र तेस्रो चरणअन्तर्गत १५ अगष्टभित्र देशका सबै जिल्लाको रिपोर्ट सार्वजनिक गर्ने तयारी छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले सन् २०२४ भित्र भारतका सबै घरमा पानी पुर्‍याउने लक्ष्य राखेको छ ।

दिल्लीको वायुको प्रदूषणमात्रा पनि निकै बढेको छ । केही समयअघि त्यहाँको प्रदेश सरकारले सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment