Comments Add Comment

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको फिस्लिङमा स्थानीयले अवरुद्ध गराएको सडक । तस्वीर सौजन्य : दानबहादुर गुरुङ

१, मंसिर, चितवन । प्रहरीले पक्राउ गरेका युवकको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर उनीहरुले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु विरोधमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन् । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।

अहिले सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा एक सवारी साधनभित्र ती युवाले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कार्यालयका अनुसार अस्थायी प्रहरी पोष्ट फिस्लिङको भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेललाई उपचारका लागि भरतपुर  अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु  भएको हो । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।

चितवनका प्रहरी प्रमुख एससी दानबहादुर मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताए ।

‘मदिरा सेवन गरेर मात्तिदै आए । अरुमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि नै हातपात र कुटपिट गर्न थाले । सार्वजनिक ठाउँमा म सेनाको मान्छे हुँ भन्दै उनले प्रहरीलाई कुट्न थालेपछि हामीले नियन्त्रणमा लिएर प्रहरी पोष्टभित्र ल्याएका हौं’ उनले भने ।

प्रहरी नियन्त्रणमा प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेका प्रहरी प्रमुख मल्लले बताए ।  तर स्थानीय वासिन्दाले कँडेलको कुटपिटबाट मृत्यु  भएको भन्दै विरोध जनाएका छन् । ‘घास घटना के भएको हो भन्ने अनुसन्धानबाट खुल्ला’ एसपी मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment