 
																			१ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताएका छन् । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उनले बताए ।
“सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भने । नेपाल वैकल्पिक अध्ययन समाजले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ विषयक छलफलमा उनले नेपालको हितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।
सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राखेको दृष्टान्त पेश गर्दै नेता नेपालले विश्वका दुई उदीयमान अर्थतन्त्र भएका छिमेकी चीन र भारत जस्ता देशसँग थप विकसित सम्बन्ध जरुरी रहेको प्रष्ट पारे । द्विपक्षीय विषयमा नेपालका राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले राम्रो तयारी नगर्दा वार्ताका क्रममा अपेक्षित परिणाम आउन नसकेको भन्दै उनले आवश्यक तयारी गरेर तर्क सङ्गत तरिकाले छलफल गर्दा जस्तोसुकै समस्याको समेत समाधान हुने विश्वास व्यक्त गरे ।
चीन र भारतको बीचमा रहेको नेपाल एकअर्का मुलुकलाई जोड्ने पुल बन्नुपर्नेमा जोड दिँदै उनले अन्य देशसँग पनि सम्बन्ध विकास र विस्तारमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताए । उनले आफू परराष्ट्रमन्त्री भएका बेला फूलबारी–बङ्गलाबन्ध मार्ग खुलाउने विषयमा भारतसँग स्पष्ट संवाद गरेको प्रतिफल प्राप्त भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा रामशरण महतले दुई छिमेकीसँग राष्ट्रिय हितलाई केन्द्रमा राखेर विभिन्न खालका संयन्त्र बनाउन सकिने धारणा राखे । उनले दुई देशसँग विशिष्ठ प्रकारको सम्बन्ध रहेको भन्दै अन्तर्राष्ट्रियस्तरमा नै चीन र भारतले गर्ने सम्झौताको प्रभाव पर्ने भन्दै त्यसबाट नेपालले समेत फाइदा लिन सक्ने बताए ।
डा महतले नेपाल र भारतका बीचमा रहेको सीमा समस्या कूटनीतिक तवरबाट संवाद गरी हल गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले बोलाउनुभएको सर्वपक्षीय छलफलमा समेत आफूले सोही विचार राखेको उनको भनाइ थियो ।
कार्यक्रममा कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4