Comments Add Comment

प्रधानमन्त्रीले वार रुमबाटै त्रिशूली थ्री ए आयोजनाको उद्घाटन गर्ने

२ मंसिर, काठमाडौं । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्ले नै पुगेर उद्घाटन गर्ने कार्यक्रम छ ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमश: गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो पुग्ने विश्वास छ । यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।

यस आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान दिनेछ  । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्नेछ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत  १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।

चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा निर्माण भएको हो ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको थियो । भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा  पहिरोको रोकथाम तथा सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो । यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजनाले स्जियार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाँडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाँडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ ।  प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई)सँग  २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

सुरु सम्झौताअनुसार १७ जेठ २०७१ अर्थात् ३१ मे २०१४ नै यो आयोजना सम्पन्न हुन पर्ने थियो । विद्युतगृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो । त्यसपछि आयोजनाको म्याद दुई वर्ष थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य राखिएको थियो ।

विनाशकारी  भूकम्प  र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि म्याद फेरि तीन वर्ष थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्न भएको हो ।

यस आयोजनाबाट राष्ट्रिय विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’ अर्थात काठमाडौं उपत्यकाकाको विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भरपर्दो आधार तयार भएको छ । आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

आयोजना वर्षको साढे आठ महिना पूर्णक्षमता (६० मेगावाट)मा चल्ने छ । त्यस्तै हिउँदमा समेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट मुलकको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन थप बल पुग्ने नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । यो आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने छ ।  यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न  र आयातीत विद्युतको परिमाण घटाउन सहयोग पुग्ने छ ।

आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाडौं जिल्लामा ‘आयोजना सहयोग कार्यक्रम’अन्तर्गत ८ वटा विद्यालय भवन निर्माण, सडक कालोपत्रे तथा स्तरोन्नती, खानेपानी आपूर्ति प्रणाली कार्यान्वयन, त्रिशूली हस्पिटल जाने सडsको स्तनोन्नती, हस्पिटललाई उपकरण, खेल मैदान निर्माण, सिंचाइ सुविधा उपलब्ध गराउने जस्ता सामाजिक विकासको कामका लागि झण्डै ४० करोड रुपैयाँ खर्च गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment