Comments Add Comment

कास्कीमा आचारसंहिता उल‌ंघन गरेको ३ उजुरी

‘कर्मचारी सरुवा गरियो, कम्बल बाँडियो’

३ मंसिर, पोखरा । निवार्चन आचारसंहिता मिचेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखरामा ३ उजुरी परेको छ । कार्यालयमा पोखरा महानगर, पोखरा १५ वडाध्यक्ष र संघीय समाजवादीविरुद्ध १/१ उजुरी परेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् ।

निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ अनुसार निर्वाचन अवधिभर सम्बन्धित स्थानीय तह तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म प्रचारप्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने,’ आचारसंहितामा भनिएको छ, ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा गर्न वा काजमा खटाउन हुँदैन ।’

तर, कास्की क्षेत्र नम्बर २ मा विभिन्न सरकारी तथा राजनीतिक दलले आचारसंहिताविपरीत काम गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबारसम्म ३ वटा उजुरी परेको हो ।

महानगरले कर्मचारी सरुवा गरेको उजुरी

पोखरा महानगरविरुद्ध उपनिर्वाचनको समयमा कर्मचारी सरुवा गरेको भन्दै उजुरी परेको छ । उपचुनाव हुन लागेको कास्की–२ भित्र पर्ने पोखरा १६ मा कार्यरत २ शिक्षकलाई अन्यत्र सरुवा गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

महानगर शिक्षा महाशाखाले १ जनालाई १७ नम्बर वडा र अर्कोलाई ११ नम्बर वडामा सरुवा गरेको हो । सहायक निर्वाचन अधिकृत उपाध्यायले कार्यालयमा उजुरी परिसकेपछि छानबिन पश्चात सरुवा बदर गरिसकिएको जानकारी दिए ।

‘निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गरेको उजुरी आयो । उजुरीपछि अनुसन्धान गरेर सरुवा बदर गर्दियौं,’ उनले भने, ‘यो उजुरी पार लागिसकेको छ ।’

महानगर शिक्षा महाशाखा अधिकृत वसन्त पौडेल भने कर्मचारी सरुवा असार १९ गते नै गरेको दाबी गरे । ‘उपनिर्वाचनका लागि आचारसंहिता लागु समयअघि नै हामीले शिक्षक सरुवा गरेका हौं । यो कुरा अहिले बाहिर आएको मात्रै हो,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले प्रक्रियाअनुसार नै सरुवा गरेको विवरण पेश गरेका छौं ।’

पोखरा १५ वडाध्यक्षले कम्बल बाँडे !

कास्की क्षेत्र नम्बर २ भित्र पर्ने पोखरा १५ का वडाध्यक्षले स्थानीयलाई कम्बल बाँडेको भन्दै उजुरी परेको छ । पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले उपचुनाव आचारसंहिताविपरीत ‘मतदाता’लाई कम्बल बाँडेको उजुरी परेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

‘गाउँलेलाई प्रभावित पार्न कम्बल बाँडेको भनेर वडाध्यक्षविरुद्ध उजुरी परेको छ,’ उपाध्यायले भने, ‘उहाँले चाहिँ संस्थाले बाँडेको हो मैले होइन भन्नुभएको छ । वास्तविकता के हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ उजुरी परेका वडाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्षले आचारसंहिता विपरीत कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसले समेत प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

पोखरा १५ वडाध्यक्ष पौडेलले भने आफूले स्थानीयलाई कम्बल बाँडेको नभई १ गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुनमात्रै गएको दाबी गरेका छन् । ‘त्यहाँको एउटा संस्थाले मलाई प्रमुख अतिथिका रुपमा गएका हुँ । संस्थाले त्यहाँका गरिब जनतालाई १२ वटा कम्बल बाँडेको हो,’ उनले भने, ‘वडाध्यक्षको हैसियतले त्यहाँ पुगेको हुँ । मैले किन त्यस्तो काम गर्थें र ?’ उनले सामाजिक काम गरेको फोटो फेसबुकमा पोस्ट गर्दा अपवाह फैलाएको आरोप लगाए ।

संघीय समाजवादीविरुद्ध पनि

उपनिर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै संघीय समाजवादीविरुद्ध पनि उजुरी परेको छ । पोखरा १६ अर्मलामा पानीको पाइप बाँडेको भन्दै स्थानीयले उजुरी दिएको अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

तर, स्थानीयले दिएको उजुरीमा पाइपको फोटामात्रै देखिएको र त्यसबाहेक अरु प्रमाण पेश गर्न नसकेको बताए । ‘फोटोमा केही पाइप छन् । फोटो त जसले पनि खिच्न सक्छ । तर, खासमा के भएको रहेछ अनुसन्धान गर्दैछौं,’ उनले भने ।

प्रतिनिधि सभा सदस्य तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो । मंसिर १४ गते हुने उपचुनावका लागि स्वतन्त्रसहित २१ जना चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment