Comments Add Comment

के तपाईं सन्तुलित जीवन बाँचिरहनुभएको छ ?

सन्तुलित जीवनको लागि कामप्रतिको अपनत्व आवश्यक

भारतीय राष्ट्रपति एवं मोटिभेसनल स्पीकर एपीजे अब्दुल कलाम भन्छन् ‘यदि तपाईंको काम १० बजेदेखि ६ बजेसम्मको हो भने तपाईं एक मिनेट अघि पनि नपुग्नुहोस् र एक मिनेट बढीपनि नबस्नुहोस् । समयमा पुग्ने र समयमा निस्कनु नै मानिसहरुको आफ्नो जिम्मेवारी हो । धेरै समय काम गर्नुमात्रै सफल र जिम्मेवार जीवनको सूचक होइन ।’ कलामको यो भनाई धेरै समय काम गर्नु हुँदैन भन्ने अर्थमा भने होइन । उनले कुनैपनि मान्छेले ८ घण्टा मनैदेखि काम गर्छ भने उसले त्योभन्दा धेरै एउटै काममा आफ्नो ध्यान केन्दि्रत गराउँन सक्दैनन् । त्यसैले धेरै समय काममा खटिँदैमा परिणाम धेरै आउँछ भन्ने हुँदैन भन्ने कलामको मान्यता हो ।

कलामले यसैलाई जीवन सन्तुलनको सूत्र मानेका छन् । तर, के समयमा ध्यान दिँदैमा हामीहरु जीवनलाई सन्तुलित गराउन सक्छौं ? के हामीले सोचेको जस्तै हाम्रा जीवनहरु सन्तुलित भइरहेका छन् त ? मानिसहरु आफ्नो जीवन आफैंमा व्यवस्थित र सन्तुलित रहेको सम्झनेहरु धेरै हुन्छन् । तर, के मानिसहरु आफ्नो जीवनलाई सन्तुलित बनाउन सक्षम छन् त ?

धेरै मानिसहरुको विचारमा सन्तुलित जीवन भनेको नै परिवार र कामको लागि आवश्यक पर्ने समय दिनु हो । तर, परिवार र कामको लागि समय दिँदैमा जीवन सन्तुलित नहुने अन्तराष्टि्रय एक अध्ययनले देखाएको छ ।

टाइम्स म्यागाजिनले व्यवसायिक जीवन र सामाजिक जीवनको सन्तुलन कसरी हुन्छ ? भन्ने विषयमा एउटा अध्ययन गरेको थियो । सो अध्ययनबाट यी दुई जीवनबीच सन्तुलन राख्नु भनेको किंवदन्ती मात्रै रहेको निष्कर्ष निकालिएको छ ।

अध्ययनको क्रममा समेटिएकाहरुले आफूलाई सन्तुलित जीवन बिताएको दाबी गरेका थिए । तर, उनीहरुको सन्तुलित जीवनको अर्थ निश्चित समय घर र परिवारलाई दिनु मात्रै थियो । न कि मनैदेखि काममा लागिरहनु । हामी कामका लागि ८ घण्टाको समय दिन्छौं । तर, त्यो समयमा हामीले काममा कत्तिको मनोरञ्जन लिन सकेका छौं ? बाँकी ८ घण्टामा केही समय हामीले परिवारलाई दिन्छौं । त्यसमा पनि हामीले कत्तिको मन लगाएर समय दिएका छौं ? कार्यालयमा काम गर्ने समयमा कत्तिको दबाब महसुस गर्नुपरेको छ ? यो पनि सन्तुलित जीवनको एउटा आधार हो भन्ने टाइम्सको सो अध्ययनको निष्कर्ष छ । कार्यालयबाट घरमा आएर बस्दा घरमा हामीले कत्तिको पारिवारिक व्यवहार पाएका छौं ? त्यसको आधारमा हामीले आफ्नो पारिवारिक जीवन र व्यवसायिक जीवनबीचको सन्तुलन खोज्न सक्छौं । तर, अध्ययनको क्रममा कुनैपनि व्यक्ति त्यस्तो जीवन जिउन नसकेको पाइएको छ ।

अन्तराष्टि्रय श्रम संगठनले कुनैपनि कर्मचारीहरुको लागि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मापदण्ड तोकेको छ । त्यो मापदण्ड अनुसारको जीवनयापन गराउनुलाई नै धेरैले सन्तुलित जीवन मान्ने गरेका छन् । तर, त्यो भित्र मानसिक रुपमा हुने छटपटीको मापन धेरैले गर्ने गर्दैनन् ।

कुनैपनि मानिसले सन्तुलित जीवन बाँचेको छ भने उसको काममा पूरा ८ घण्टा नै पूर्ण रुपमा जोश देखिन्छ । आफ्नो कामप्रति अपनत्व र माया देखिन्छ । आफ्नो कामलाई आम्दानीको साधन मात्रै मान्ने या त मनैदेखिको जिम्मेवारीको रुपमा काम गर्ने गरेको छ ? भन्ने कुराले नै सन्तुलित जीवनलाई परिभाषित गर्ने गरेको छ । उनीहरुको अध्ययनले धेरै मानिसहरुले जागिर केवल आम्दानीको लागि मात्रै खाएको सम्झिएका  छन् । उनीहरुले आफ्नो ८ घण्टाको जिम्मेवारी हो भन्ने नसम्झिएका कारण त्यसमा धेरैको परिणाम कम आएको पाइएको छ । अझ कतिले त अध्ययनको क्रममा कामलाई जीवनदेखि मृत्युसम्मको जीवन सञ्चालनको साधनको रुपमा लिएको पाइयो । उनीहरु कामप्रतिभन्दापनि धेरै मनोरञ्जनप्रति आकषिर्त थिए । तर, कामकै लागि काम गर्ने गरेका थिए ।

मानिसहरु सन्तुलित जीवन जिउनको लागि विभिन्न उपाय अपनाउँछन् । धेरैले सन्तुलित जीवनको लागि स्वास्थ्यमा ख्याल राख्ने सन्तुलित खाना खाने जस्ता उपायहरु अपनाउने गर्छन् । तर, सन्तुलित जीवनको लागि स्वास्थ्य मात्रै नभएर आफ्नो मस्तिस्कदेखि नै सन्तुलन कायम राख्नु आवश्यक हुन्छ । जीवनको सन्तुलनको लागि सन्तुलित आहार र स्वास्थ्य पनि सहायक औजारहरु हुनसक्लान् । तर, यसको मुख्य औजार भनेको व्यवसायिक जीवन र सामाजिक जीवनबीचको सन्तुलन नै हो ।

हिजोआज धेरै मानिसहरु यान्त्रिक जीवन जिउने गरेको पाइन्छ । बिहान उठ्यो अफिस गयो, फेरि फर्कियो भोलिको प्रतीक्षामा बस्यो । यस्तो अवस्थालाई सन्तुलित जीवन मान्ने कि नमान्ने ? यही विषयमा विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले अध्ययन गरेका छन् । जसबाट केबल अफिस जानु र फर्किएर आउनुलाई मात्रै सन्तुलित जीवनको आधार मान्न नसकिने निष्कर्ष निस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment