+
+
Shares

एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १७:३५

एकपटक तारा रायमाझी पूर्वी नेपालको फन्को लगाउँदै साँझमा ताप्लेजुङ पुगे । राती स्थानियसँग रमझम गर्दै बस्दा कसैले भन्यो, ‘मेरो घरमा फर्सी फल्छ, तपाईंलाई एक ढाकर फर्सी दिन्छु ।’ अर्कोले भन्यो, ‘मेरो घरमा कुभिन्डो फल्छ, एक थुन्से कुभिन्डो दिन्छु ।’

नभन्दै बिहान त्यस्तै भयो । उनी बसेको घरमा कुभिन्डो र फर्सीको थुप्रो लगाइएछ । सुक्रबारको दिन थियो । उनी स्थानिय हाट-बजार घुम्न निस्किए । बजारमा उनले सेरगेम र सिलाम किने । घर फर्किएर उनले कुभिन्डो र फर्सीको केक बनाइदिए । सबैलाई चखाए । मुख मिठ्याउँदै उनीहरुले भने, ‘होइन हौ यसको त अनेक परिकार पो बन्ने रहेछ ।’

गाउँघरमा फर्सी, कुभिन्डो को तरकारी, दाल खाइन्छ । कसैले उसिनेर खान्छन् । तर, त्यसबाट अरु थुप्रै परिकार बन्छ भन्ने भेउ पाउँदैनन् । न त अभ्यास नै गर्छन् । एकनासे तरकारीले मुख अघाएपछि त्यो गाईबस्तुलाई ख्वाइन्छ । तारा रायमाझी भन्छन्, ‘हामीसँग भएका अन्नपात, सागसब्जीलाई थरीथरीको स्वादमा बनाउन सकिन्छ तर त्यस्तो प्रयास गरिदैन ।’ उनी के पनि भन्छन् भने स्थानियस्तरमा अनेक किसिमका खानेकुरा हुन्छन्, जसको पहिचान नै गरिएको हुँदैन । सदियौंदेखि खाँदै आएको खानेकुरा एउटै ढर्रामा तयार गरेर खाइन्छ ।

काठमाडौंका स्तरिय होटलहरुमा खानेकुरा बनाउन अभ्यस्त भएपछि उनलाई आफ्नै देशको कुना-कन्दरा चाहर्न मन लाग्यो । गाउँघरमा उपलब्ध रैथाने उत्पादनबाट नयाँ-नयाँ परिकार बनाउन जाँगर चल्यो । अन्ततः उनी पूर्व ताप्लेजुङदेखि पश्चिम धनगढीसम्म पुगे । जहाँ जे फलेको छ, जे उत्पादन भएको छ, त्यसैबाट थरीथरीका परिकार बनाउने अभ्यास गरे ।

प्रमाणपत्र च्यातेर होटलको भाँडा माझ्न थालें

म भोजपुरको एउटा गाउँमा जन्मिएको हुँ । एसएलसीको परीक्षा दिएपछि मलाई काठमाडौं घुम्न मन लाग्यो । काठमाडौं घुम्ने क्रममा मलाई केही काम गर्ने जाँगर चल्यो । एक साथीको सम्पर्कबाट सोल्टी होटल पुगें । त्यहाँ भाडाँ माझ्ने काम पाएँ । त्यो बेलामा म झण्डै झण्डै १८/१९ वर्षको थिएँ होला । यो कुरा सन् १९८२ तिरको हो । त्यतिबेला मेरो मासिक तलब ६ सय रुपैयाँ थियो ।

सेफ तारा रायमाझी

केही समय काम गरेपछि गाउँ फर्किएँ । एसएलसीको परीक्षाफल प्रकासित भएछ । तर, मेरो जन्ममिति मिलेन । मलाई यो जन्ममिति मिलाइरहने झन्झट गर्नुभन्दा पनि काम गर्ने जाँगर चल्यो । प्रमाणपत्र च्यातेर फेरी काठमाडौं आएँ । उही सोल्टी होटलमा काम थालें ।

त्यहाँ काम गर्दागर्दै मैले भान्साको काम पनि सिकें । त्यसपछि म हेल्पर हुँदै सेफको रुपमा काम गर्न थालें । सोल्टी होटलमा पनि त्यस्तै ५/६ महिना गरेँ होला । सोल्टी होटलकै अरु ग्रुपहरुसहित एल्लो प्यागोडामा हेल्पर कुकको रुपमा प्रवेश गरेर केही समयसम्म काम गरियो ।

हाम्रो गाउँ आफैंमा सुन्तला धेरै फल्ने गाउँ हो । एल्लो प्यागोडामा काम गर्दागर्दै मलाई गाउँघरमा गएर कस्तो काम गर्न सकिएला भन्ने सोचाई आइरहेको थियो । मैले आफ्नै गाउँमा गएर त्यहाँ एउटा सामान्य रेष्टुरेन्ट चलाउने, सुन्तलाको खेती गर्ने, अलैँचीको खेती गर्ने सोंच बनाएँ । हाम्रा पितापूर्खा हुनेखाने । आफुपनि त्यस्तै बनौला भन्ने लाग्यो । मेरो सोच एउटा प्रधानपञ्चसम्म भएपनि बन्छु भन्ने थियो । घोडामा चढौंला भन्ने सोचेर गाउँ गएको थिएँ ।

त्यो समयमा मैले २० हजार जति त सुन्तला मात्रै लगाएको थिएँ । धान कुट्ने मिलको मेसिन लगेर चलाउन थालेँ । सुन्तला, धान खेती पनि गर्न थाले । समग्रमाभन्दा त्यहाँ हुने सबै किसिमका खेतीहरुले हामीलाई गर्न सुरु गरेका थियौं । कसैलाई अलैचीको जिम्मेवारी दिइयो, कसैलाई धानको । गाउँमा धेरै मिलेर नयाँ परिवर्तनको सुरुवात गरेका थियौं ।

माओवादीले लखेटेपछि

माओवादी युद्धको तयारी चल्दै रहेछ । त्योसँगै हाम्रो पनि व्यवसाय पनि चलिरहको थियो । आफैंसँग खेलेको र आफैंसँग माछा मार्ने एउटा साथी खुनखार माओवादी बनेर आएको रहेछ । उसले एकदिन आएर आफूहरुको क्रान्ति सुरु भएको भन्दै यहाँ बस्दा समस्या हुनसक्ने चेतावनी दिएर निस्किए । त्यसपछि मैले त्यहाँ आफ्नो त्यो विकासको कामलाई निरन्तरता दिन सकिन । म आफ्नी श्रीमतीलाई लिएर काठमाडौं आएँ । यदि माओवादीको त्रास थिएन भने म केवल भोजपुरमा मात्रै आफ्नै व्यवसायमा सीमित हुन्थेँ होला । माओवादीले गाउँ निकाला गरेकोले रैथाने खानाको विकासको लागि देशभरी यात्रा गर्ने अवसर मिल्यो ।

रैथाने खाना खोज्दै

नेपाली खानाको विकासका लागि हरेक क्षेत्रमा घुम्ने र नेपाली खानामा केही गर्न सकियोस् भन्ने सोचेर देशका विभिन्न ठाउँको यात्रामा हिडेँ । मैले एल्लो प्यागोडामा ११ वर्ष कामगर्दा धेरै खाना बनाउने तरिका सिकेको थिएँ ।

जिल्ला जाँदा मैले रैथाने खानाहरुलाई कसरी व्यवसायिक बनाउन सकिन्छ ? भन्ने तर्फ धेरै ध्यान दिएँ । त्यसैको लागि मैले जुन हावापानी र त्यहाँको खानाहरु छ । त्यसैलाई प्रचुर प्रयोग गर्ने गरियो । त्यही क्रममा मैले ताप्लेजुङ पुगेर फर्सी र कुपिण्डोको केक बनाउने शैली सिकाएँ । त्यस्तै, धनगढीमा त्यही सिजनमा पुग्दा एउटा सम्धिनी नामको साग पाईँदो रहेछ । त्यो सागबाट मैले दाल, पकौडा र सब्जी बनाएर देखाएँ । अमेरिका तिर बसेकाहरुले यसलाई धेरै मन पनि पराए ।

त्यही अनुभवलाई विभिन्न इन्स्टिच्युटले दिने गरेको तालिमको माध्यमबाट देशभर प्रसार गर्ने अवसर पनि पाइयो । त्यसैको लागि म नपुगेको भनेको त्यस्तै ४/५ वटा जिल्ला मात्रै होला । यस्ता तालिमहरु सकेर आएपछि म काठमाडौंमा आएर एउटा रेष्टुरेन्ट तिर काम गर्न सुरु गरेँ । मैले यस्ता रेष्टुरेन्टहरुमा काम सुरु गरेपछि आफूले बनाउने नयाँ परिकारहरुको ट्रायल पनि गर्ने अवसर पाएँ ।

नेपालीहरुको खानाको प्रसार कसरी ?

कुनैपनि खानालाई कसरी ब्राण्डिङ गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालमा छाँटाको दाल खाने भनेको अलित माथिल्लो वर्गमा मानिसहरुले हो । सीमित मानिसहरुले मात्रै खाने गरेको भएकोले यो विश्वमा चर्चित थिएन । तर, त्यसैमा दाललाई बटर र टमाटर सहित हालेर एकजना साथीले ताज महलको छेवैमा लगेर बिक्री गर्न थालेछन् । अहिले त्यो विश्वभरी नै चल्न थालेको छ । यसरी परिस्कृत गरेर हाम्रा रैथाने खानाहरुलाई विश्व बजारमा प्रसार गराउन सक्छौं भन्ने उदाहरण मैले पनि त्यही घटनाबाट सिकेँ । त्यसैले कुनैपनि खानामा केही भिन्नता ल्याएर स्वाद फरक बनाउन सकिन्छ ।

नेपाली खानामा नेवारी खाना समृद्ध

नेपाली खानाहरु मध्ये नेवारी खाना समृद्ध खाना हो । मैले बुझेसम्म उहाँहरुको पूर्खा साउथ इण्डियनबाट आएका हुन् । त्यसैले होला उनीहरु आफैं पनि राँगाको मासुको मात्रै पनि धेरै परिकार बनाउन सक्छन् । त्यसैले अहिले नेपालका अरु रैथाने खानाभन्दा नेवारी खाना समृद्ध छ । यस बाहेक नेपालको सुदूरपश्चिम र त्यसमा पनि दार्चूला क्षेत्रका मानिसहरु आफ्नो ठाउँको रैथाने खानालाई महत्वका साथ अघि बढाउने गरेका छन् । पूर्वमा खानाको त्यस्तो विशेष व्यवस्था छैन ।

नेपाली खानामा दोस्रो समृद्ध खाना भनेको क्षत्री र ब्राहृमणहरुको नै हुन्छ । उनीहरुको खानामा धेरै पौष्टिकता पाउन सकिन्छ । तर, यो प्रवृत्ति प्रायजसो धनी वर्गहरुमा देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा खानाको अवस्थालाई हेर्दा नेपालीहरुले खान जानेका छैनन् भन्दा पनि फरक नहोला ।

युरोपियनहरु दैनिक ३०० देखि १५०० ग्रामसम्म खाना खाने गर्छन् । तर, नेपालीहरुले दैनिक धेरै खाना खाए भने ७०० ग्रामको हाराहारीमा मात्रै खान्छन् । यसबाट पनि के कुराको पुष्टि हुन्छ भने मानिसहरु धेरै खाने भनेको पुगिसरी आएपछि मात्रै हो ।

तितेपातीको अचारबाट व्यवसायको सुरुवात

पहिले हामीले धुलिखेलतिर तितेपातीको अचारबाट पनि आफ्नो व्यवसाय सुरु गरेका थियौं । हामीले रैथाने खानेकुरा खानेक्रममा न्युरो, मालिंगो, च्याउ आदिको पनि धेरै प्रयोग गरेका थियौं । त्यतिमात्रै होइन । हामीले तितेपातीको अचार बनाएर पनि बेच्न थालेका थियौं । कुनैपनि डाक्टरले अनुसन्धान गरेको कुरालाई व्यवहारिक रुपमा लैजान्छ भने हामीले बनाउन सिकेको कुरालाई व्यवहारिक रुपमा किन प्रयोग नगर्ने ? भन्ने सोचेर नै हामीले यसको सुरुवात गरेका हौं ।

सरकारले पनि यस्तो विषयमा ध्यान दिनु पर्छ जस्तो लाग्छ । हामीले खाने तरकारी मनोहराको फोहोर पानीमा पखालिन्छ । यस्तो हुँदा हामीहरुको स्वास्थ्य के होला ? अहिले विषादीको महामारी भइरहेको अवस्थामा यस्ता रैथाने खानाको विकासमा सरकारले पनि धेरै योगदान दिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?