Comments Add Comment

साइकल यात्रा : काठमाडौं टु जनकपुर

पर्यावरण र सांस्कृतिक संरक्षणको लागि काठमाडौंको पशुपतिदेखि जनकपुरसम्म साइकल यात्रा हुँदैछ । शुक्रबारदेखि सुरु हुने तीन दिने साइकल यात्रा  ऐतिहासिक सिन्धुलीगढी हुँदै जानेछ । त्यसैले यो अभियानको नाम नै ‘राईड थ्रु सिन्धुलीगढी’ राखिएको छ ।

हरेक वर्ष यही मौसममा गरिने साइकल यात्राको यो चौथो संस्करण हो । यस संस्करणमा नियमित रुपमा साइकलमा यात्रा गर्ने १५० जना साइकलयात्रीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । शुक्रबार बिहान काठमाडौंबाट निस्किएर सो टोली आइतबार जनकपुर पुग्नेगरी यात्रा तय गर्न लागिएको स्टोरी साइकलका क्युरेटर सौरभ ढकालले जानकारी दिए । सो साइकल यात्राको आयोजना समृद्ध सिन्धुली अभियानले गरेको छ । अभियानले केही दिन अघिमात्रै साइकलयात्राको जर्सी विश्व साइकलयात्री पुष्कर शाह र संयुक्त राष्ट्र संघका प्रतिनिधि इमेलिन क्लेय सुजन टाचरद्वारा सार्वजनिक गरेको थियो ।

सन् २०१६ देखि हरेक महिना हिउँद सिजनमा यो यात्रा गर्ने गरिएको छ । ढकालले यो अभियानले सांस्कृतिक एवं पर्यावरणीय संरक्षण र वातावरण प्रदूषणको समस्या समाधानको लागि साइकलको विकल्प नरहेको कुरालाई महत्व दिने बताए । यो मौसम साइकल यात्राको लागि उपयुक्त समय भएकोले अभियानले हरेक वर्ष हिउँद महिनामा नै यस्तो यात्रा गर्ने गरेको छ ।

आयोजकका अनुसार शुक्रबार पशुपती क्षेत्रबाट सुरु भएको साइकल यात्रा सिनामंगल, कोटेश्वर हुँदै भक्तपुरसम्म पुग्ने छ । भक्तपुरमा भक्तपुर पर्यटन बोर्डद्वारा जुजु द्यौले उनीहरुको स्वागत गर्ने कार्यक्रम छ । साइकलयात्रीहरु त्यहाँबाट बनेपा तर्फ लाग्नेछन् । त्यहाँपुगेपछि सुलभ सहकारी लिमिटेडले उनीहरुको स्वागत र खाजाको व्यवस्था गर्ने ढकालले जानकारी दिए । त्यसपछि उनीहरुलाई नमोबुद्द नगरपालिकाले भकुन्डे बेसीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

पहिलो दिन नै उनीहरुको यात्रा मंगलटार, कुशेश्वर महादेव मन्दिर परिसर जस्ता ठाउँमा स्थानीय जनप्रतिनिधिहरुसँगको भेटघाट एवं स्वागत कार्यक्रम सहित त्यही ठाउँमा खाना खाने कार्यक्रम छ । त्यहाँबाट साइकल यात्रीहरु झाङाझोली, पुरानो बजार, रातमाटा हुँदै मुल्कोट पुग्ने कार्यतालिका रहेको छ । मुल्कोट विकास समाजले साइकलयात्रीहरुलाई सांस्कृतिक कार्यक्रम सहित स्वागत र सम्मान गर्दै त्यहीँ खान र बस्नको व्यवस्था मिलाएको ढकालले जानकारी दिए ।

उनीहरुको दोस्रो दिनको यात्रा मुलकोटबाटै सुरु हुनेछ । दोस्रोदिन खनियाँखर्कको जुनार महोत्सवमा जाने कार्यक्रम रहेको छ । उनीहरु दोस्रो दिन बिहानको खाना ऐतिहासिक नगरी सिन्धुलीगढीमा खाने तयारी गरिरहेका छन् । दोस्रो दिनको बसाई उनीहरुको सिन्धुली माडीमा हुने र तेस्रो दिन जनकपुर जानेगरी यात्रा गर्न लागिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment