२० असोज, काठमाडौं । बाघको संख्या वृद्धिसँगै बढ्दै गएको मानव–बाघ द्वन्द्वको समाधान गर्न सरकारले ‘टाइगर स्याङ्चरी’ (बाघ संरक्षण) केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले अमेरिकास्थित संस्था ‘द वाइल्ड एनिमल स्याङ्चरी’ (टीडब्ल्यूएएस) सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा कोषका तर्फबाट कोषका सदस्य सचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र ‘द वाइल्ड एनिमल स्याङ्चरी’ का कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन्।
नेपालमा बाघको संख्या दोब्बरभन्दा बढी पुगेसँगै मानव बस्तीमा पस्ने र मानवीय क्षति निम्त्याउने गरेका छन् । द्वन्द्वग्रस्त बाघ (कन्फ्लिक्ट टाइगर) लाई प्राकृतिक वासस्थानबाट नियन्त्रणमा लिएपछि हाल विभिन्न साँघुरा खोरहरूमा राख्ने गरिएको छ ।
दीर्घकालीन स्याहार, आधुनिक आवास र वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै स्याङ्चरी निर्माण गर्नु अपरिहार्य देखिएपछि योजना अनुरूप अन्तर्राष्ट्रिय साझेदारी अघि बढाएको कृषि मन्त्रालयले जनाएको छ ।
समझदारी अनुसार नेपालमा कम्तीमा ५० हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरणमैत्री आधुनिक बाघ स्याङ्चरी निर्माण गरिने छ । अमेरिकी संस्था टीडब्ल्यूएएसले आफ्नो ४६ वर्षभन्दा लामो अनुभव र विज्ञता प्रयोग गर्दै स्याङ्चरीको भौतिक पूर्वाधार, प्राकृतिक वासस्थान डिजाइन, पशु चिकित्सालय तथा घेराबार निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक स्रोत जुटाउनेछ ।
जग्गाको स्वामित्व भने नेपाल सरकार वा एनटीएनसीकै रहनेछ । यो स्याङ्चरी समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थान मात्र नभई जनचेतना र संरक्षण शिक्षाको केन्द्रका रूपमा समेत विकास गरिने सम्झौतामा उल्लेख छ ।
स्याङ्चरीभित्र बाघलाई कुनै पनि व्यावसायिक मनोरञ्जन, फोटो सेसन, खेल वा प्रजनन प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । यो परियोजनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै दुर्लभ पाटेबाघको संरक्षणलाई सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4