Comments Add Comment

भारतको नक्साप्रति विरोध जनाउँदै नेपालले पठायो कूटनीतिक नोट

७ मंसिर, काठमाडौं । आजका पत्रिकामा भारतले गरेको नेपाली भूमि अतिक्रमण, उपनिर्वाचन, सीमा सुरक्षा बैठक र नेकपामा दुई अध्यक्षको कार्यविभाजनसँग सम्बिन्धित समाचारहरु छन् ।

कान्तिपुर दैनिकले भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक विरोध जनाएको छ । नेपालले बिहीबार नयाँ नक्साविरुद्ध कूटनीतिक नोट पठाएर भारतसमक्ष विरोध जनाएको हो ।

परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको नोटमा भारतद्वारा जारी पछिल्लो नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको कान्तिपुरले लेखेको छ ।

भारतको गृहमन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो । नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रष्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार कायम हुनुपर्ने दाबी गर्दै आएको छ ।

कान्तिपुरमा नेकपाको कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको समाचार प्रमुख छ । सो समाचारमा प्रचण्डले ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’ भनेका छन् । आफूलाई ‘बितेको डेढ वर्ष सेरेमोनियल अध्यक्ष महसुस भएको’ बताउँदै प्रचण्डले भनेका छन्, ‘गएको डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन, गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो । अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो ।’

प्रचण्डले एकता महाधिवेशनले सहमतिमा नेतृत्व छान्ने समझदारी कायमै रहेको पनि बताएका छन् ।

राजधानी दैनिकले नेपाल-भारत समन्वय बैठकमा तेस्रो मुलुकका नागरिकमाथि विशेष निगरानी गरिने सहमति भएको समाचार छ । साथै १४ मंसिरमा हुने उपनिर्वाचनमा २८ हजार सुरक्षाकर्मी परिचालन गरिने समाचार पनि राजधानीमा छ ।

अन्नपूर्ण पोष्ट दैनिकले स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयको जिम्मेवारी पाएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अब दुई विकल्प रहेको लेखेको छ । अन्नपूर्णले लेखिएको विकल्प हुन्- राजपासँग एकीकरण गरी संविधान संशोधनका लागि आन्दोलनमा जाने वा सरकारमै बसेर संविधान संशोधनका लागि दबाब दिने ।

यद्यपि राजपाका अध्यक्ष राजेन्द्र महतोले भने समाजवादीसँग पार्टी एकता नहुने अभिव्यक्ति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment