 
																			८ मंसिर, वीरगञ्ज । आन्दोलनरत नेशनल मेडिकल कलेजका १८औं व्याचका विद्यार्थी, प्रशासन र कलेज व्यवस्थापन पक्षबीच शनिबार पहिलोपटक त्रिपक्षीय वार्ता भयो । विद्यार्थीलाई कुटपिट गर्नेहरुलाई गिरफ्तारी गर्ने कि छानविन समिति बनाउने भन्ने विषयमा कुरा नमिल्दा वार्ता निश्कर्षविहीन बन्यो ।
वार्तामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र आन्दोलनरत विद्यार्थीका अगुवाहरु सहभागी थिए ।
वार्तामा तीनबुँदे प्रस्ताव पेश भए पनि सहमतिमा हस्ताक्षर भएन । मेडिकल कलेजका विद्यार्थीमाथि शुक्रबार भएको कुटपिटबारे छानविन समिति गठन गर्ने, आन्तरिक सुरक्षाको जिम्मा कलेज व्यवस्थापनले लिने र कलेजमा पठनपाठनको वातावरण तयार पार्न आन्दोलनरत विद्यार्थीले सहयोग गर्ने लगायत तीनबुँदे प्रस्ताव वार्तामा राखिएको थियो ।
तर, उपस्थितिमा हस्ताक्षर गरेका आन्दोलनरत विद्यार्थीहरु निर्णयमा हस्ताक्षर नगरी निस्किएपछि सहमति हुन पाएन ।
के भन्छन् विद्यार्थी ?

शुक्रबार कुटपिटको घटनापछि विरोध र्याली निकालेर वीरगञ्ज बजार परिक्रमापछि विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । साथै घटनामा संलग्नलाई कारवाही गर्न निवेदनसमेत दिएका थिए ।
शनिबारको वार्तामा विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, आन्तरिक सुरक्षा कायम गरिनुपर्ने र कुटपिटमा संलग्न सिनियरलाई हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेका थिए ।
कलेजले लिएको बढी शुल्क फिर्ता नभएसम्म विरोधका कार्यक्रम गर्न पाउनुपर्ने अडान पनि विद्यार्थीहरुले राखेका थिए । उनीहरुबीच झण्डै दुई घण्टाजति छलफल चलेको थियो ।
छानविन समिति गठन गरेर प्रहरीकै अगाडि भएको घटनालाई ढाकछोप गर्ने प्रयास भएको आशंका लागेर सहमतिमा हस्ताक्षर नगरेको आन्दोलनरत विद्यार्थी धनबहादुर तामाङले बताए ।
‘प्रहरीकै अगाडि महिलालाईसमेत कुटपिट भएको छ, हामीले कुटपीटमा संलग्नलाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउन भन्दा उहाँहरुले छानविन समिति बनाउनुभयो’ तामाङले भने ‘कहिलेबाट छानविन गर्ने, कहिलेसम्म टुंग्याउने, त्यस्तो केही उल्लेख थिएन । शुल्क फिर्ताको विषयमा पनि ठोस कुरा आएन, त्यसैले सहमतिमा हस्ताक्षर गरेनौं ।’
‘शुक्रबारको घटनापछि प्रहरीकोमा राति गएर आक्रमणकारीको नामैसहित निवेदन दिएका छौं, प्रशासनमा पनि उनीहरुको नाम बुझाएका हौं’ तामाङले भने, ‘पटक-पटक हातपात गर्ने उनीहरु नै हुन्, तर कारबाही नै हुन्न, अनि हामीले कसरी विश्वास गर्ने ?’
वार्ताबाट फर्केका विद्यार्थी तामाङले आफूहरु धर्ना लगायतका आन्दोलनरत कार्यक्रमलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।
छानविन समिति विद्यार्थीकै हितमा : प्रजिअ
एक महिनादेखि अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत एमबीबीएसका विद्यार्थीमाथि पटक-पटक कुटपिट भएको छ । प्रशासनले अहिलेसम्म कुटपिट गर्नेलाई पक्राउ गरेको छैन ।
प्रमुख जिल्ला अधिकारी भट्टराई छानविन समिति बनाउँदा विद्यार्थीको हित हुने तर्क गर्छन् ।
आन्दोलनरत विद्यार्थीले शनिबारको वार्तामा यसबारे सहमति जनाए पनि बाहिर निस्केर असन्तुष्टि जनाएको प्रजिअ भट्टराईले दाबी गरे ।
‘सौहार्दपूर्ण वातावरणमा छलफल भएको हो, विद्यार्थीकै सहमतिमा तीनबुँदे प्रस्ताव ल्याएका हौं, पछि निर्णयमा सही गर्नुअघि उनीहरु बाहिर निस्के त्यसपछि सही गर्न मानेनन्’ प्रजिअ भट्टराईले भने ‘उनीहरु कसैबाट परिचालित भएकाले बिच्किएको हुन सक्छ ।’
प्रजिअ भट्टराईका अनुसार कुटपिटको घटना छानविन गर्न समिति गठन, कलेजभित्र आन्तरिक सुरक्षाको जिम्मा कलेज व्यवस्थापनलाई दिने र पठनपाठनको उपयुक्त वातावरण निर्माणका लागि कलेज प्रशासन र विद्यार्थीबीच समझदारी बन्नुपर्ने कुरा आन्दोलनरत विद्यार्थीको हितमा छ ।
कलेजमा पठन-पाठनको वातावरण तयार पार्न आन्दोलनरत विद्यार्थीका अभिभावकलाई छलफलका लागि बोलाइएको उनले जानकारी दिए ।
आन्दोलनमा विद्यार्थी संगठनको ऐक्यवद्धता
नेशनल मेडिकल कलेजमा अतिरिक्त शुल्क फिर्ताको माग राखेर भइरहेको एमबीबीएस अध्ययनरत विद्यार्थीको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन् । शुक्रबारको घटनाका दोषीलाई कारबाही र अतिरिक्त शुल्क फिर्ताको माग राखेर शनिबार विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरे ।
नेशनल मेडिकल कलेजले विद्यार्थीमाथि गरेको दमनको विरोधमा समाजवादी विद्यार्थी युनियन पर्साले वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरेका हुन् ।

युनियनका विद्यार्थी नेताले शनिबार घण्टाघर चोकमा विद्यार्थीमाथिको दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, सुरक्षाको ग्यारेन्टी गर, विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही गर, राज्यले तोकेको शुल्क कायम गरेको माग राख्दै प्रदर्शन गरेका थिए ।
सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियुले पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापनपत्र बुझाए । उनीहरुले कलेजका प्रबन्ध निर्देशक अन्सारीको फोटो समेत जलाए ।विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको नेता अरुण यादवले बताए । कलेज प्रशासनले बाहिरिया गुण्डा लगाएर विद्यार्थीमाथि कुटपिट गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4