Comments Add Comment

मन्त्री पदबाट हटाइएका महासेठको जनकपुरमा स्वागत

मातृका यादवद्वारा अस्वीकार

८ मंसिर, जनकपुरधाम । आइतबार साँझ जनकपुर विमानस्थलमा काठमाडौंबाट आएको विमानबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र केही दिनअघि मन्त्री पदबाट हटाइएका रघुवीर महासेठ र मातृका यादव ओर्लिए ।

तीन जनालाई स्वागत गर्न हातमा फूल लिएर सयौं व्यक्ति विमानस्थलमा भेला भएका थिए । कर्मचारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु मुख्यमन्त्री र नेकपाका दुई नेतालाई स्वागत गर्न प्रतिक्षारत थिए । मुख्यमन्त्री राउतलाई स्वागत गर्न मुख्य सचिव रामकृष्ण सुवेदी, मुख्यमन्त्रीका सल्लाहकारहरु पुगेका थिए । केहि दिनअघि अमेरिका गएका मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा काठमाडौं हुँदै आइतबार जनकपुरधाम आएका हुन् ।

रघुबीरले ग्रहण गरे स्वागत, मातृकाले लगाएनन् माला

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री पदबाट हटाइएका महासेठ जहाजबाट ओर्लनेवित्तिकै केही कार्यकर्ताले माला लगाएर स्वागत गरे ।

महासेठले पार्टीको निर्णयअनुसार मन्त्रीबाट हटाएकाले त्यसबारे तत्काल केही नबोल्ने बताए । ‘नवनियुक्त मन्त्रीहरु योग्य हुनुहुन्छ’ उनले भने, ‘मैले गर्न खाजेका अधुरा सबै काम उहाँहरुले पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ उनले जयनगर–जनकपुर रेल छिट्टै चलाउने तयारी भइरहेको जानकारी गराए ।

यसअघि मन्त्रीबाट हटाएको दिन भने धनुषाको सपहीमा स्थानीय केही व्यक्तिले खुशियाली मनाएका थिए ।

एउटै विमानबाट आएका निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई पनि केही कार्यकर्ताले माला लगाउन खोजे । तर उनले मानेनन् । ‘मैले पहिले पनि माला लगाएको छैन र, आज पनि लगाउँदिनँ ।’

यादव भीआईपी कक्षमा समेत बसेनन् । पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘आफू स्वयं मन्त्री पदबाट चाँडो हट्न चाहन्थे । प्रधानमन्त्रीज्यूले हटाइदिनुभएकोमा धेरै धेरै धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment