Comments Add Comment

तीन विमानस्थलको अपडेट : निजगढमा प्रगति शून्य, पोखरा र गौतमबुद्ध रफ्तारमा

११ मंसिर, काठमाडौं । सरकारले निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत गरेको छ । तीमध्ये दुई आयोजना रफ्तारमा अघि बढेका छन् भने एउटाको प्रगति शून्य छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)को अवधिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति राम्रो देखिएको छ । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।

पर्यटन मन्त्रालय मातहत ५ वटा राष्ट्रिय गौरवका आयोजना रहेका छन् । त्यसमध्ये तीन वटा विमानस्थल आयोजना हुन् भने बाँकी दुईवटा लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोष हुन् । दुई धार्मिक क्षेत्रको कामको प्रगति पनि चौमासिक अवधिमा सन्तोषजनक देखिएको छ ।

अब कुन आयोजनाको प्रगति कति छ भन्ने चर्चा गरौं ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

निजगढ विमानस्थल अहिलेसम्म चर्चामै सीमित छ । यो आयोजनाको चर्चा ०५०/५१ सालबाटै सुरु भएको हो ।

आयोजना निर्माणपूर्वका तयारीका काम नै अगाडि बढ्न नसक्दा यो आयोजनाले गति लिन नसकेको हो । मन्त्रालयका अनुसार, आयोजनास्थलमा रहेका रूख कटानको खाका तयार भई अहिले मन्त्रालयमा छलफलको चरणमा रहेको छ । तर, वन मन्त्रालयले रूख कटान आदेश भने दिइसकेको छैन । निर्माणको मोडालिटीमा पनि अझै अन्यौल छ । यसबारे लगानी बोर्डसँग छलफल जारी रहेको छ ।

यहाँ रहेको सुकुम्बासी वस्ती स्थानान्तरणको समेत योजना तयार हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यो आयोजनाको श्लिान्यास मंसिरभित्र जसरी पनि गर्ने अभिव्यक्ति दिए पनि आयोजनालाई कुनै गति दिन भने सकेका छैनन् ।

तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म यस आयोजनाका लागि छुट्याएको मध्ये १५ प्रतिशत बजेट भने खर्च भइसकेको छ ।

पोखरा क्षेत्रीय विमानस्थल

यो आयोजनाको प्रगति तीव्र छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म कूल ५० प्रतिशत अर्थात् आधा काम पूरा भइसकेको छ ।

यो आयोजनाका लागि अझै एक वर्षको अवधि बाँकी छ । पहिलो चौमासिक अवधिमा ७.५ प्रतिशत भौतिक प्रगति भएको छ । पोखरा विमानस्थलको समेत धावनमार्ग बनिसकेको छ ।
एप्रोन एरियामा फायर फाइटिङ, वाटरमेन लाइन विस्तारको काम यस अवधिमा भएको छ । ह्यांगर भवनमा ट्रस्ट राख्ने, कन्ट्रोल टावर, टर्मिनल भवन तथा अन्य भौतिक निर्माणका काम जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यस अवधिमा आयोजनाको कूल वित्तीय प्रगति ३१.७ प्रतिशत भएको छ । पहिलो चौमासिकमा भने वित्तीय प्रगति २०.५ प्रतिशत भइसकेको छ । धेरै रकम मुआब्जामा खर्च वित्तीय प्रगति अस्वभाविक देखिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कूल प्रगति ८४.२५ प्रतिशत पुगेको छ । यो आयोजनाको भौतिक निर्माणतर्फको काम डिसेम्बर २०१९ भित्र पूरा गर्नुपर्ने तालिका छ ।

यो आयोजनाको धावनमार्ग बनिसकेको छ । ट्याक्सी वे मार्किङको काम सकिएको छ भने प्रशासन भवन निर्माणलगायत काम जारी छन् ।

यो आयोजनाको कूल वित्तीय प्रगति ५४ प्रतिशत र पहिलो चौमासिकको वित्तीय प्रगति ७.६ प्रतिशत रहेको छ ।

समग्र पुँजीगत खर्च नै टीठलाग्दो

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा पर्यटन मन्त्रालयको समग्र पूँजिगत खर्चको अवस्था टीठलाग्दो देखिएको छ । त्यसो त सरकारका अन्य निकायमा समेत चालु खर्चको भार अत्यधिक रहेको पाइन्छ ।

तथ्यांक अनुसार यसअविधमा पर्यटन मन्त्रालयको कूल १८.८५ प्रतिशत बजेट खर्च भएको छ । त्यसमध्ये पुँजीगत खर्च लक्ष्यको तुलनामा मात्र ७.२३ प्रतिशत हुन सकेको छ ।
चालु खर्च भने ३६.४७ प्रतिशत भइसकेको छ । वित्तीय व्यवस्थामा १७.२५ प्रतिशत प्रगति देखिएको छ । पर्यटन मन्त्रालय मातहतका निकायमा कूल २१ अर्ब १३ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १५ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ वित्तीय व्यवस्थामार्फत विमानस्थल आयोजनाहरूमा खर्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment