Comments Add Comment

काठमाडौंका बैंकबाट १९ लाख बढी चोरी, कर्मचारी संलग्न भएको आशंका

६ जना पक्राउ

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो । त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेका सबै नेपाली नागरिक हुन् । दिउँसो साढे ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले बतायो ।

यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ । यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो । दुवै प्रकरणमा संलग्न नेपाली एजेन्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment