Comments Add Comment

सुमीको एक्सन र सन्नीको प्रेममा ‘सरौतो’

तिहारपछि निरन्तर रुपमा चलचित्र असफलताको श्रृङ्खलालाई मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’ले तोड्ने अपेक्षा गरिएको छ । हरि गुमागाँई निर्देशित यो चलचित्रमा सुमी मोक्तान, विजय लामा, सन्नी सिंह लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रका लागि सुमीले २ बर्ष मार्सल आर्टको तालिम लिएकी थिइन् । सुमी संझिन्छिन्–‘एउटा चलचित्र सजिलै बन्दैन । यसका लागि मैले निकै नै मिहिनेत गरेकी छु । ७ महिना मैले बोल्न नसक्ने भूमिकाका लागि हाउभाउ नै सिकेकी छु ।’

चलचित्रले बदलाको कथा भन्छ । सुमी भन्छिन्–‘यो चलचित्र हरेक महिला, उनीहरुको बाबु–आमाले हेर्न आवश्यक छ । किनकी, कुनै पनि कुरामा अब महिला दबिएर बस्न हुँदैन । सानैबाट उनीहरुलाई प्रतिरक्षाको तालिम दिएको खण्डमा उनीहरु सबल बन्नेछन् भन्ने सन्देश चलचित्रले दिन्छ ।’

नायक सन्नी सिंहका लागि पनि यो चलचित्र विशेष छ । यो चलचित्रमा सुमीले एक्सन गरेकी छिन् भने सन्नी उनको प्रेममा छन् । सुमी भन्छिन्–‘चलचित्रमा नायिका हाबी हुने वित्तिकै विभिन्न खालका प्रश्न उठाइन्छ । तर, नायकले नै यस्तो काम गरेको खण्डमा कोही पनि बोल्दैन । तर, अब चलचित्रको भाषा बदलिनुपर्छ । नायिका केन्द्रित चलचित्र पनि बन्न आवश्यक छ ।’

छायांकारको रुपमा चर्चामा रहेका हरिले यो चलचित्र निर्देशन गरेका छन् । यसैले, चलचित्रमा छायांकन पाटो मात्र हाबी हुने हो कि भन्ने प्रश्न पनि उब्जन सक्छ । यसमा सुमी भन्छिन्–‘हरि हुमागाँई नभएको भए यो चलचित्र नै बन्ने थिएन । किनकी, यो चलचित्रको मुख्य हिरो नै उहाँ हो ।’

नेपाली चलचित्रमा महिला केन्द्रित एक्सन चलचित्र निकै नै कम बन्ने गरेका छन् । ‘सरौतो’ व्यापारिक रुपमा हिट भएको खण्डमा यस्ता खालका चलचित्र निर्माणमा अरु मेकरहरुलाई पनि तातो लाग्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment