Comments Add Comment

विवाह पञ्चमी महोत्सव : नेपाल आए अयोध्याका जन्ती

१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ ।

बुधबार फूलबारी लीला र मटकोर विधि पूरा गरिएको छ । राजा जनककी छोरी सीता फूल टिप्न गएको बेला रामसँग पहिलो भेट भएको सम्झनास्वरुप फूलबारी लीला कार्यक्रम गरिन्छ । यसैगरी मटकोर विधिमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर तलाउबाट माटो खनेर त्यही माटोले विवाहको बेदी (यज्ञस्थल) बनाउने परम्परा रही आएको छ ।

यस वर्ष चाँदनीचोकमा विश्राम नगर्ने

रामजानकी विवाह महोत्सवका लागि अयोध्याका जन्ती बुधबार साँझ महोत्तरीमा प्रवेश गरेका छन् । जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् ।

मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका महन्थसहितका व्यक्तिहरुले जन्तीको स्वागत गरेका छन् ।

जन्तीहरु बुधबार राति मटिहानीमै बास बसेका छन् । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ । मटिहानीमा रात्रि विश्राम गरेपछि उनीहरु बिहीबार बिहान लावालस्करसहित महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथको दर्शन गर्दै साँझ धनुषाको जनकपुरधाम पुग्ने छन् ।

मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाएर विश्राम गराई जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने चलन रहे पनि यसपालि भने उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुग्नेछन् ।

महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपश्चात् रामकलेवा विधि सम्पन्न गरेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बस्त्र आभूषणसहित बिदाइ गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment