Comments Add Comment

‘को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

‘अब दलित, जनजाति र मधेसीलाई प्रधानमन्त्री बनाउँछौं’

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् ।

बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा महिला, दलित, जनजाति र मधेसीलाई नेकपाले प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिए ।

पोखरापछि धरानको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हामीले नै अब जनजाति प्रधानमन्त्री, दलित प्रधानमन्त्री, मधेसी प्रधानमन्त्री बनाएर रिकर्ड कायम गर्ने काम पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्ने छ । म अहिले नाम लिन त सक्दिनँ । तर, मेरो दिमागमा चाहिँ को–को प्रधानमन्त्री, लाइनमा छन् भन्ने छ ।’

प्रचण्डले थपे, ‘किनभने, म शान्ति सम्झौतामा आएदेखि वामपन्थी प्रधानमन्त्रीहरुको लाइन छ अहिले । तपाईहरुले देख्नुभएको छ नि वामपन्थी, कम्युनिष्ट प्रधानमन्त्रीको निकै ठूलो लाइन बनेको छ । मलाई त्यो सौभाग्य प्राप्त भयो । प्रायः कम्युनिष्ट प्रधानमन्त्री मेरै प्रस्तावमा हुनुभएको छ, जो–जो भए पनि । र, अब जसरी राष्ट्रपति महिला हुनुभएको छ, उपराष्ट्रपति जनजातिबाट, मगर समुदायबाट हुनुभएको छ, भोलि प्रधानमन्त्री पनि त्यसैगरी समावेशी मान्यताबाट बनाउनेमा पनि कम्युनष्टि पार्टी नै अगाडि हुनेछ ।’

आफूलाई नेपाली कांग्रेसले ‘पाँच वर्ष प्रधानमन्त्री दिन्छौं, पार्टी एकता नगर् भनेको प्रचण्डले सुनाए । साथै उनले लोकतन्त्र भएका कारण झूठो कुरा नगरी जनतालाई माया गर्न थालेमा अर्कोपटक जनता कांग्रेसको पक्षमा पनि हुन सक्ने बताए । प्रचण्डले थपे, ‘तर, अहिले कांग्रेसले जुन बाटो अपनाएको छ, त्यही बाटो अपनायो भने त बत्ती बालेर खोज्नुपर्ने दिन नआउला भन्न सकिन्नँ ।

नेकपासँग तारा सुब्बाको परिवारले राख्यो तीन माग

फोक्सोको निमोनियाबाट निधन भएका धरानका तत्कालीन मेयर तारा सुब्बाका परिवारजनले प्रचण्डलाई भेटेर तीन वटा माग राखेका छन् । तारत सुब्बाका नाममा प्रतिष्ठान बन्नुपर्ने, धरान नगरपालिकामा सुब्बाका नाममा पार्क स्थापना गरिनुपर्ने र राजनीतिमा परिवारजनको स्थान सुरक्षित गरिनुपर्ने माग मेयर सुब्बाका परिवारजनले प्रचण्डसँग राखेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले माग पूरा गर्ने आश्वासन दिँदै चुनावी सभाबाटै भने, ‘यी काममा पार्टीको पुरै सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु । अध्यक्षसँग सल्लाह गरेर यी माग पूरा गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment