+

पोखरा रंगशालामा खेल होइन चित्रकला !

२०७६ मंसिर  १२ गते १३:१९ २०७६ मंसिर १२ गते १३:१९
पोखरा रंगशालामा खेल होइन चित्रकला !

१२ मंसिर, पोखरा । पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझ–बिहान सधैं खेलाडीहरु अभ्यासमा देखिन्थे । तर, बिहीबारको दृष्य केही फरक थियो । कोर्ट भित्र केही कुर्सी र केही क्यानभास थिए ।

बास्केटबल कोर्टमा खेलाडी र बलको साटो क्यानभास थियो र थिए, क्यानभासमा एकतमास रङ पोतिरहेका कलाकारहरु । कोही क्यानभासमा नीलो आकासको रङ पोत्दैछन् । कोही घरी उत्तर फर्किंदै, घरी क्यानभास हेर्दै माछापुच्छ्रेलाई कलामा उतारिहेका छन् । सबै आ–आफ्नै धुनमा छन् ।

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्ष्य गरी बिहीबारदेखि पोखरामा सुरु भएको ‘आर्ट फर स्पोर्ट वर्कसप’को दृश्य हो यो । पोखरेली कला क्षेत्रमा क्रियाशील २० जना कलाकारहरुले अहिले क्यानभासमा मन्त्रमुग्ध चित्र कोरिरहेका छन् । वर्कसपमा नेपाल प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका निवर्तमान प्रमुख रमेश श्रेष्ठ, वरिष्ठ कलाकार, यादवचन्द्र भुर्तेलदेखि बुद्धिज् एट्लेयरका ज्योति गुरुङसमेत सहभागी छन् ।

वर्कसपको गण्डकी प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले क्यानभासमा माछापुच्छ्रे हिमालको चित्र कोर्दै उदघाटन गरे । उदघाटन गर्दै उनले भने, ‘खेल आफैंमा कला हो । कला भएरै यसले सुन्दरता प्राप्त गरेको छ ।’

२० जना कलाकार सहभागी वर्कसपबाट तयार भएका चित्र १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिलाई प्रदान गरिने वर्कसप संयोजक रमेश श्रेष्ठले जानकारी दिए । ‘वर्कसपमा करिब २०/२२ वटा चित्र बन्छन् । ती चित्र पोखरेली परिवेश वरिपरि हुन्छन्,’ उनले भने, ‘सबै तयार भइसकेपछि हामीले आयोजक समितिलाई नै हस्तान्तरण गर्ने छौं ।’

वर्कसप संयोजक श्रेष्ठले खेलमा भाग लिन आउने स्वदेशी तथा विदेशी पर्यटकलाई चित्र उपहार दिएर पर्यटन तथा कलाको प्रचार–प्रसार गरिने सुनाए । उनले भने, ‘खेलकुदमा चित्रकलाले पहिलो पटक स्थान पाएको छ । यसले भिजिट नेपाल २०२० लाई पनि सघाउनेछ भन्ने आशा लिएका छौं ।’

१३ औं साग पोखरा अतिथि सत्कार तथा व्यवस्थापन समिति सदस्य खिम गुरुङले खेलमा भाग लिन आउने विशिष्ट प्रतिनिधिलाई चित्र उपहार दिइने जानकारी दिए । उनले भने, ‘वर्कसपले खेलकुदलाई कला र सिर्जनासँग जोड्नका साथै पोखरा आउने विशिष्ट अतिथिलाई स्वागत सत्कार पनि गर्न सकिने छ ।’

अर्थमन्त्री किरण गुरुङले बिहीबार नै १३ औं सागका लागि पोखरा रंगशालामा बनाइएको मेडिकल सेन्टर पनि उदघाटन गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय