+
+
Shares

युनिभर्सल कलेजमा शुल्क विवाद : १४ दिनदेखि विद्यार्थी रिले अनशनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १३:५६

१२ मंसिर, बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका विद्यार्थीहरुले थालेको रिले अनशन बिहीबार १४ औं दिन पनि जारी छ ।

मेडिकल कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति सरकारसँग गरेतापनि विद्यार्थीहरुले भने आन्दोलनलाई जारी राखेका हुन् ।

आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाव दिन अनिश्चितकालिन २४ घण्टे रिले अनशन जारी राखेको विद्यार्थीको भनाइ छ ।

कलेजको मुख्य गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको ब्यानर टाँगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि रातभर नै अनशन बस्ने गरेका छन् । रिले अनशनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी भएको विद्यार्थीहरुले जनाएका छन् । रातिमा समेत रिले अनशन जारी रहने एक विद्यार्थीले बताए ।

विद्यार्थीहरुले केही दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।

कलेजले अनुसन्धान हुने आशंकामा प्रशासनमा रहेको महत्वपूर्ण कागजपत्र पनि गायब पारेको आरोप विद्यार्थीको छ ।

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरु कार्तिक १३ गतेदेखि आन्दोलनमा छन् । आन्दोलनका कारण एक महिनादेखि कलेजमा पठन-पाठन ठप्प छ ।

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षमा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारीश्रामिक शुल्क त्रिविको मापदण्ड अनुसार बृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि कुनै प्रकारको विभेद गर्न नहुने लगायतका माग विद्यार्थीले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?