Comments Add Comment

उपनिर्वाचन गराउन ५५ सय कर्मचारी मतदास्थलमा पुगे

१२ मंसिर, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन गराउन निर्वाचन आयोगबाट खटिएका ५ हजार ५ सय ५२ कर्मचचारी मतदानस्थलमा पुगेका छन् ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कर्मचारीहरु मतदानस्थलमा पुगिसकेको जानकारी दिएको छ । कर्मचारीले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मतदाता परिचयपत्र वितरण र मतदान केन्द्रको निर्माण गर्नेछन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारीलाई सहयोग गर्न राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला व्यक्ति, संघ संस्था र निकायलाई आयोगले आग्रह गरेको छ । त्यस्तै अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ ।

निर्वाचनसँग सम्बन्धित सबै पक्षको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकोले डर, त्रास, धम्की र प्रलोभनमा नपरी ढुक्क भएर मतदान गर्न पनि आयोगले अपील गरेको छ ।

मंसिर १४ गते कास्की – २ मा प्रतिनिधिसभा सदस्यका लागि, भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङको ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकासहित स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाअध्यक्षमा उपनिर्वाचन हुदैछ ।

उपनिर्वाचनको प्रचार प्रसार अवधि मंसिर ११ गते राति १२ बजेदेखि सकिएको र अब प्रचार प्रसार गरेमा कारबाही हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment