Comments Add Comment

नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठक छिट्टै बोलाउछौं : महासचिव पौडेल   

१२ मङ्सिर, काठमाडौं । सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ  । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए ।

‘अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरुपमा जनताको बीचमा जाने तयारी गरिएको छ’, उनले भने । विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत आवश्यक निर्णय लिँदै आएको छ । त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ । अन्य एकताका कामले साकार रुप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन । पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ ।

पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ । पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरुपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ । सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ ।

पार्टी सदस्यका रुपमा रहेका आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरुपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ । एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताए ।

‘पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेको छौँ भन्ने विषयमा आमकार्यकर्ता तहमा मतैक्य होस् भन्ने चाहना राखिएको छ । आजको नेकपाको सैद्धान्तिक र नीतिगत मान्यता के हुन् भन्नेमा थप स्पष्ट गर्नु जरुरी भएको छ’ महासचिव पौडेलले भने ।

पछिल्ला दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगै देशका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटमा समेत संलग्न रहेका महासचिव पौडेलले जनतामा नेकपाप्रतिको विश्वास उस्तै रहेको आफूले पाएको जानकारी दिए । ‘सरकारले काम गर्दैछ, नेकपा हाम्रै पक्षमा छ भन्ने विश्वास जनतामा छ’, उनले भने ।

महासचिव पौडेलले नेपालको एक इन्च जमिन पनि नछाड्ने दृढता व्यक्त गरे । ‘भारत सरकारलाई हाम्रो तर्फबाट ‘प्रोटेस्ट नोट’ पठाइएको छ । त्यहाँ तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको हो भन्ने प्रष्ट पारिएको छ । सरकारले वार्ता र संवादमार्फत नेपालको भूमि फिर्ता ल्याउँछ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment