+
+

गुगलका सिइओ सुन्दर पिचाइको दैनिकी : शाकाहारी खाना, साँझमा व्यायाम

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १०:१२

एक क्लिकमा सारा जिज्ञासा राख्ने हैसियत राखेको इन्टरनेट सर्च इन्जिन गुगलका कर्मचारीहरु कति व्यस्त होलान् ? त्यसैमाथि त्यसको पनि हाकिमहरुको अवस्था झनै कस्तो होला ? झण्डै ८५ हजारभन्दा धेरैलाई रोजगारी दिएको र विश्वको सबैभन्दा ठूलो इन्टरनेट सर्च इन्जिन गुगलका प्रमुख कार्यकारी अधिकृत झनै कति व्यस्त होलान् ? उनीहरुको जीवन शैली कस्तो होला ?

हरेक ठूला मानिसहरुले आफ्नो जीवनशैली र परिवारसँगको सम्बन्धलाई समेत ध्यान दिएका हुन्छन् । धेरैलाई लाग्न सक्छ व्यस्त जीवन शैलीकाबीच उनीहरु परिवारलाई धेरै समय दिन सक्दैनन् । तर, तिनै व्यस्त मानिसहरुले नै परिवारलाई धेरै समय दिने गरेका हुन्छन् । गुगलका प्राविधिक कार्यकारी एवं उत्पादन प्रमुख हुन् पिचाई सुन्दरराजन एवं सुन्दर पिचाई । भारतको तमिलनाडु स्थित मैदुरमा जन्मिएका उनलाई सन् २०१५ अगस्ट १० मा गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो ।

जतिबेला उनी गुगलको प्रमुख कार्यकारी अधिकृत बने । त्यही समयदेखि नै उनलाई परिवारले एउटा सर्तको घेराले बाँधेर राख्यो । दुई सन्तानका पिता समेत रहेका उनलाई परिवारले विशेष अवस्था बाहेक हरेक रात परिवारसँग बिताउनुपर्ने सर्तको घेरामा बाँध्यो । त्यही समयदेखि उनले घरमा आएर गुगल खोल्न पनि छाडिदिए । उनी परिवारसँग नै रमाउँछन् । खाना बनाउने बेलामा परिवारलाई सगाउँछन् । भारतीय खानामा उनीहरुको अझै पनि प्रेम छ ।

सफलता र तनाव कहिलै पनि हातमा हात मिलाएर हिँड्दैनन् । त्यही उक्ति सुन्दर पेचाईको जीवनमा पनि लागू हुन्छ । उनको जीवनशैलीमा केही वर्षको अन्तरालमा आमूल परिवर्तन आएको छ । कुनै समय खुल्ला आकाशमा समेत रात बिताएको बताउने पेचाईं अहिले दिनमा नै अरबौं रुपैयाँ कमाउने र गुमाउने हैसियतमा पुगेका छन् । श्रीमद्भागवत गीतामा भनिएजस्तै कुनैपनि कुरा धेरै हुँदा नआत्तिने र समस्यामा पर्दा मात्तिनु हुँदैन भन्ने उदाहरण हुन् पेचाई ।

गुगलको नयाँ फिचरको बारेमा योजना बनाउने, ८५ हजार कर्मचारीको निरीक्षण गर्ने र व्यापार बृद्धिको लागि दीर्घकालीन रणनीति बनाउने जिम्मा उनकै काँधमा छ । प्रविधिको यात्रामा नै नयाँ आयाम ल्याएको गुगलका सिइओ पेचाईलाई पत्रपत्रिकाको यति सौख छ कि उनको हरेक दिनको सुरुवात नै पत्रिका पढेर हुने गर्छ । विभिन्न सञ्चारसंस्थाहरुलाई दिएको अन्तर्वार्तामा उनले पढाइले मस्तिष्कलाई व्यायाम गराउने भएकोले आफूले शारीरिक अभ्यासभन्दा पनि मानसिक अभ्यासको लागि बिहान अभ्यासको ठाउँमा पत्रिका पढ्ने गरेको बताउँछन् ।

पेचाई बिहान साढे ६ देखि ७ बजेको बीचमा उठ्छन् । उनलाई आफैं निद्रा पुर्‍याएर उठ्नु राम्रो लाग्छ । उठेपछि उनको मर्निङ वाकमा जाने चलन छैन । बरु समय मिल्यो भने उनी साँझमा शारीरिक अभ्यासको लागि निस्कने गर्छन् ।  उनी आफैं भन्छन् ‘ म बिहानै उठ्नेवाला मान्छे होइन ।’ उनी बिहानी उठेपछि पहिले वाल स्टि्रट जर्नलका सबै समाचारहरु हेर्छन् । त्यसपछि न्युयोर्क टाइम्सको अनलाईनमा छापिएका समाचारहरु हेर्छन् ।

उनी पहिरनमा त्यस्तो सौखिन छैनन् । उनी कार्यालय होस् या त अन्यत्र पनि अनौपचारिक पोषाकमा नै निस्कने गर्छन् । धेरै कपडा लगाउने भन्दा पनि एउटा फाटेपछि अर्काे किन्ने उनको बानी छ । उनी बिहान पत्रिका र अनलाईन पढ्ने समयमा नै पढ्दै बिहानको खाजा खाने गर्छन् । उनी शाकाहारी हुन् । तर, अण्डा चाहिँ खान्छन् । उनको बिहानको खाजा नै अम्लेट र चियाको हुन्छ । आफू शाकाहारी भएकोले प्रोटिनको लागि अम्लेट खानेगरेको उनी बताउँछन् । उनी कफी पिउँदैनन् । भारतीय भएकोले सानैदेखि आफूलाई चियाको लत लागेको उनी बताउँछन् ।

पेचाई कुनै चतुर अभिनेता होइनन् । जसले दुनियाँ राजनीति गरेर पद हाँसिल गरोस् । तर, उनको रिस, सहानुभूति र सोचबिचार गरेर निर्णय गर्ने व्यवहार नै उनको सफलताको कारण रहेको बिजिनेस इन्साईडरले जनाएको छ । बच्चाहरुको जसरी टेलिफोन नम्बरहरु याद गर्नको लागि उनको दिमाग एकदमै तेज छ । हाइस्कूलदेखि नै क्रिकेटमा अब्बल रहेका उनी क्रिकेटका अत्यधिक ठूला समर्थक हुन् ।

बिहान हिँडेका उनी राति मात्रै घर पुग्ने गर्छन् । घरमा उनीहरु ४ जना बस्ने गर्छन् । घरमा काम गर्ने मान्छे राखेका छैनन् । त्यसैले घर पुगेपछि उनी पूर्णतया परिवारसँग नै रमाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?