Comments Add Comment

चक्रपथभित्र आज जोर–बिजोर प्रणाली, ठूला गाडीलाई सागभर रिङरोड भित्र निषेध

त्रिपुरेश्वर र आसपासको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीको सुझाव

१५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो ।

दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।

ट्राफिक प्रहरी महाशाखाले साग खेलकुद प्रतियोगिताको उद्घाटनलाई सहज पार्न आज काठमाडौं उपत्यकाको चक्रपथभित्र बिहानैदेखि बिजोर नम्बरका सवारीमात्र सञ्चालनमा आएको जनाएको छ । महाशाखाका अनुसार, रिङ रोड र रिङ बाहिर भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । त्यस्तै सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।

जोर–बिजोर सवारीसाधनको अन्तिम नम्बरको आधारमा छुट्याइएको छ ।

ठूला सवारीलाई साग भर चक्रपथभित्र निषेध

त्यस्तै, ठूला सवारीलाई भने सागभर चक्रपथभित्र सञ्चालनमा रोक लगाइएको छ ।

ठूला सवारीले ट्राफिक जाम गर्ने भएकाले साग अवधिभर चक्रपथभित्र निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, त्रिपुरेश्वर आसपासका सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment