Comments Add Comment

ढिलो गरी सुरु भयो चिसो, सबैभन्दा धेरै जुम्लामा

यो वर्ष काठमाडौं उपत्यका लगायत देशभर ढिलो गरी चिसो सुरु भएको छ । पश्चिमी वायुको प्रभावका कारण ढिलो गरी चिसो बढ्न सुरु भएको मौसम विज्ञान विभागले जनाएको छ । देशका विभिन्न स्थानबाट मौसम पूर्वानुमान महाशाखाले लिएको विवरण अनुसार शुक्रबार सबैभन्दा कम जुम्लाको तापक्रम साढे ३ डिग्री सेन्टिग्रेड पुगेको छ । सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम साढे १६ डिग्री सेन्टिग्रेडसम्म पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेन्टिग्रेड र अधिकतम २३ डिग्री सेन्टिग्रेड पुगेको छ । देशभर विभिन्न १५ वटा स्टेसनमध्ये सबैभन्दा कम जुम्लामा न्यूनतम ३.८ डिग्री सेन्टिग्रेड र सबैभन्दा धेरै नेपालगञ्जमा न्यूनतम तापक्रम १६.५ डिग्री सेन्टिग्रेड पुगेको महाशाखाले जनाएको छ । डडेल्धुरामा शुक्रबारको न्यूनतम तापक्रम ५.५ डिग्री सेन्टिग्रड पुगेको छ । डडेल्धुराको अधिकतम तापक्रम १५.५ डिग्री सेन्टिग्रेड पुगेको छ ।

यो तापक्रम यसवर्षकै सबैभन्दा कम हो । मौसमविद् एवं काठमाडौं विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्यले प्रशान्त महासागरबाट सुरु भएको एलिनो ल्यामिनाका कारण यो वर्ष ढिलागरी चिसो सुरु भएको बताए । जाडो महिनामा पश्चिमबाट हावा चल्ने र गर्मीमा पूर्वबाट हावा चल्ने गर्छ । यही एलिनोका कारण ढिलो गरी पश्चिमी वायु सक्रिय भएको उनले बताए । केही न केही हदमा जलवायु परिवर्तनको समेत असर परिरहेको भन्दै उनले त्यो बिस्तारै चल्ने प्रक्रिया भएकोले धेरै ढिला गरी चिसो सुरु हुनुको कारण जलवायु परिवर्तन मात्रै नभएको बताए ।

अघिल्लो वर्ष यही दिन काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेन्टिग्रेड पुगिसकेको थियो । शुक्रबार काठमाडौंमा भएको चिसो अघिल्लो वर्ष २१ दिन अघि नै सुरु भइसकेको थियो । अघिल्लो वर्षको कात्तिक २२ गते काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम ७ डिग्री पुगेको थियो । यो जलवायु परिवर्तनको असर स्वरुप भएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो ३५ वर्षमा तीब्र रुपमा जलवायु परिवर्तनको असर देखिन थालेको जानकारहरु बताउँछन् । त्रिभुवन विश्वविद्यालय नेवारी भाषा केन्द्रीय विभागका पूर्व प्रमुख समेत रहेका पाटनका स्थानीय तुलसीलाल श्रेष्ठ पछिल्लो ३५ वर्षमा काठमाडौं उपत्यकामा तीब्र रुपमा तापक्रम बढिरहेको बताउँछन् । पहिले कात्तिकको सुरुदेखि नै मुटु काम्ने चिसो हुने गरेको भएपनि अहिले पुसमा समेत त्यो चिसो पाउन नसकिने बताउँछन् ।

काठमाडौं उपत्यकामा सबैभन्दा चिसो पुषको मध्यतिर शून्य डिग्री सेन्टिग्रेडसम्म हुने गर्छ । अघिल्लो वर्ष जनवरी ४, ५ र ६ मा सबैभन्दा कम शून्य डिग्री सेल्सियस पुगेको थियो । सोही दिन दिपायल र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री पुगेको थियो भने पोखरा र धनकुटाको तापक्रम न्यूनतम ४ डिग्री पुगेको थियो । अघिल्लो वर्ष काठमाडौंको तापक्रम बढेसँगै उपत्यकाबाहिरको पनि तापक्रम बिस्तारै बढ्दै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment