
१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा आयोजकले सार्वजनिक गरेको नयाँ खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाले असन्तुष्टि जनाएका छन्।
शुरुको खेलतालिका परिवर्तन गरी आफूहरुले लगातार खेल्नेगरी बनाएको भन्दै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले असन्तुष्टि जनाएका हुन् ।
शुरुमा एन्फाले ६ टिमलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गरेको थियो । तर भारतले नआउने जानकारी गराएपछि ५ टिमलाई राउण्ड रोविन लिग अनुसार खेलाउन नयाँ खेलतालिका सार्वजनिक गरिएको थियो । माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले आफूहरुलाई मर्का पर्ने गरी खेल तालिका बनाएको गुनासो गरेका छन् ।
दैनिक खेल खेल्नुपर्ने भएकोले गाह्रो हुने माल्दिभ्सका प्रशिक्षक सेगर्टले बताए । ‘यो हाम्रो लागि स्वीकार्य हुने छैन । कुनै पनि नियममा दैनिक फुटबल खेल्ने भन्ने छैन’ सेगर्टले भने ‘यसले खेलाडीको चोट बढाउँछ र घाटा हुन्छ ।’
यस्तै सेगर्टले सोमबारको खेल खेल्ने नखेल्नेबारे आइतबार राति खेलाडी र फुटबल फेडेरेसनसंग कुरा गरेर निर्णय गर्ने बताए । ‘हामीलाई यो मान्य हुने छैन । हामी फेडेरेसनसंग सल्लाह गरेर भोलि वा खेल्ने नखेल्ने निर्णय गर्नेछौं’ उनले भने ।
सेगर्ट पुरानै खेल तालिका भए आफूहरु खेल्न तयार रहेको र नयाँ खेल तालिका अनुसार नखेल्नेसम्म चेतावनी दिए । यसबारे आयोजक कमिटीलाई पुनर्विचार गर्नसमेत उनले सुझाव दिए ।
यस्तै श्रीलंकन प्रशिक्षक पाकेर अलीले खेल तालिका देखेर अचम्ममा परेको बताए । ‘हामीसंग २० खेलाडी मात्र छ । खेलाडी घाइते भए टिमलाई घाटा हुन्छ’ उनले भने । अलीले नियम अनुसार खेल्नुपर्ने बताउँदै खेल तालिका परिवर्तन भएपछि टोलीमा लक्ष्यमा नै फरक परेको बताए । ‘हामी उच्च आशा लिएर आएका थियौं, अब खेल तालिका नै परिवर्तन भएपछि के लक्ष्य राख्ने ?’ उनले भने ‘मैले फुटबल संघलाई यसबारे जानकारी गरिसकेको छु । हामीले भोलि खेल्ने नखेल्ने निर्णय गरिसकेको छैन ।’
बंगलादेशका प्रशिक्षक जेमी डे र भुटानका प्रशिक्षक पेम्बा दोर्जीले पनि यो खेल तालिका कठिन भएको बताए ।
यद्यपी बंगलादेश र भुटानका प्रशिक्षकले साग फुटबलका लागि आफूहरु तयार रहेको र राम्रो प्रदर्शनको आशा रहेको बताए । बंगलादेशका प्रशिक्षक जेमी डे ले टिममा सिनियर टिमबाट खेलिसकेका खेलाडीसमेत रहेकोले टिम सन्तुलित रहेको बताए ।
भुटानका प्रशिक्षक पेमाले सबै टिमको लक्ष्य स्वर्ण पदक नै जित्नु नै हुने र आफूहरुको लक्ष्य पनि राम्रो खेल्ने बताए ।
प्रतिक्रिया 4