१६ मंसिर, काठमाडौं । आइतबार औपचारिक रूपमा सुरु १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ ।
२६ खेल समावेश सागको यस संस्करणमा भलिबल खेल मंसिर ११ देखि सुरु भइसकेको छ । भलिबलको अब पदक मात्रै छिनोफानो हुन बाँकी छ ।
त्यस्तै, दुई चर्चित खेल फुटबल र क्रिकेटको स्पर्धाहरु सोमबारदेखि नै सुरु हुनेछन् । क्रिकेटअन्तर्गत महिलातर्फको खेलहरु सोमबारदेखि पोखरामा सुरु हुनेछ । नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।
ब्याडमिन्टन र खोखोका खेलहरु आइतवार उद्घाटनकै दिन शुरु भइसकेको छ । ब्याडमिन्टन पोखरा र खोखो काठमाडौंकै कीर्तिपुरमा सुरु भएको हो । यसबाहेक सोमबार अरु तीन खेल पनि हुँदैछ । नेपाललाई सागमा धेरै पदक दिलाएको तेक्वान्दो र कराँते १३औं सागको दोस्रो दिन अर्थात् सोमबार सुरु हुनेछ।
सन् १९९९ मा नेपालमै आठौं साग आयोजना हुँदा यी दुई खेल एकसाथ भित्रिएका हुन् । त्यसपछि तेक्वान्दो लगातार चारपटक सागमा समावेश हुँदा कराँते भने २०१६ मा भारतमा भएको १२औं संस्करणमा हुन सकेन। त्यस संस्करणमा तेक्वान्दोले स्वर्ण जित्न सकेको थिएन । यसपटक यी दुवै खेलमा नेपालले धेरै स्वर्ण जित्ने लक्ष्य राखेकोले सबैको नजर यी दुई खेलमा छ । त्यसैले पनि सोमबार देखि सुरु हुने दुई खेलको पहिलो दिनदेखि नै स्वर्णको छिनोफानो हुनेछ।
तेक्वान्दोमा ग्योरोगीमा १६ र पुम्सेमा १३ गरी कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। यस्तै करातेमा कुमुतेतर्फ १५ र कातातर्फ ४ गरी कूल १९ स्वर्णका लागि भिडन्त हुनेछ ।
तेक्वान्दोमा पुम्सेतर्फ समावेश १३ वटै स्वर्णको छिनोफानो सोमवार एकै दिनमा हुनेछ । यस्तै कराँतेमा व्यक्तिगत र टिम कार्तातर्फको ५ र कुमेतेको ५ गरी ९ स्वर्णको सोमबार छिनोफानो हुनेछ ।
दशरथ रंगशालमा फुटबल हुने
करिब ५ वर्षपछि दशरथ रंगशालामा फुटबल फर्किएको छ । यही १३ औं सागको लागि एक साताअघि नेपाली टोलीले रंगशालमा अभ्यास गरेको थियो । सागको पुरूष फुटबलका खेलहरु रंगशालमै हुनेछन् । अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार, पहिलो दिन सोमबार बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ । नेपालले पहिलो खेल मंगलबार भुटानसँग खेल्नेछ।
महिला फुटबल भने मंगलबारदेखि पोखरामा सुरु हुनेछ।
भलिबलमा कास्यको छिनोफानो हुने
मंसिर ११ देखि नै सुरु भएको भलिबलको सेमिफाइनलसम्मका खेलहरु भइसकेका छन् । घरेलु टोली नेपालको महिला टिम फाइनल पुगिसकेको छ भने पुरुष टिम समूहको दुवै खेल हार्दै बाहिरिसकेको छ ।
सोमबार कास्य पदकका लागि दुवैतर्फको खेल हुँदैछ । पुरुषतर्फ सेमिफाइनलमा पराजित श्रीलंका र बंगलादेशबीच तेस्रो स्थान अर्थात् कास्यको लागि खेल हुनेछ । यस्तै महिलातर्फ पनि श्रीलंका र बंगलादेशबीच नै कास्य पदकका लागि खेल हुनेछ। पुरुषतर्फको खेल २ बजे र महिलातर्फको खेल ४ बजे हुनेछ।
फाइनल खेल भने मंगलबार हुनेछ । पुरूषतर्फ स्वर्णको दाबेदार दुई टोली भारत र पाकिस्तान नै फाइनल पुगेका छन् ।
महिलातर्फ भने घरेलु टोली नेपालले साग इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो र १३औं सागमा रजत पदक समेत पक्का गरिसकेको छ। अब नेपालले भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।‘
यसबाहेक नेपालले खोखोमा आइतबार विजयी शुरुवात गरिसकेको छ । यस्तै, पोखरामा भएको ब्याडमिन्टनमा महिला र पुरुष दुवै टिम इभेन्ट्सको सेमिफाइनल पुग्दै कम्तीमा पदक पक्का गरिसकेका छन्। यी खेलहरू सोमबार पनि हुनेछन्। यस्तै गल्फ काठमाडौंको गोकर्णमा सोमवार सुरु हुनेछ।
ट्रायथलनको दुई स्वर्णको छिनोफानो आज
१३ औं सागअन्तर्गत पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुँदैछ । इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीहरूले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गर्नेछन् ।
सोमबारको प्रतिस्पर्धाका लागि आज खेलाडीहरूको दर्ता, साइकल तथा खेलाडीहरूले लगाउने पोशाक परिक्षण गरिएको छ । त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरूलाई टेक्निकल डेलिगेटले विस्तृत जानकारी तथा खेलस्थलबारे जानकारी प्रदान गरेका छन् ।
खेललाई निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिइएको छ ।
फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरूको लागि तालमा एकै साथ डाइभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलोपटक प्रयोग गरिएको छ ।
 
                    










 २०७६ मंसिर  १६ गते ८:२०
                        २०७६ मंसिर  १६ गते ८:२०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4