News Summary
Generated by OK AI. Editorially reviewed.- केबी साम एनकेएलले जेनजी आन्दोलनमा क्षतिग्रस्त काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच प्रहरी कार्यालय ८० लाख रुपैयाँ लागतमा मर्मतसंभार गरेको छ।
- केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले खेलाडी र प्रहरीको मनोबल बढाउन र जीवनशैली सहज बनाउन मर्मतसंभार गरेको बताए।
- केबी साम एनकेएलले जनकपुर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ ट्राफिक अइल्यान्ड निर्माण गर्ने योजना बनाएको छ।
१४ कात्तिक, काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ ।
व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र प्रहरी कार्यालय मर्मतसंभार गरेको हो । ती कार्यालयमा पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित झ्याल १५० वटा, ढोका १३, उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने पूरा भवन बनाइदिएको हो ।
केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले भने, ‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन् । जेनजी आन्दोलनमा उनीहरू कठिन परिस्थितिबाट गुज्रिएका थिए । काठमाडौंसहित धेरै सहरका प्रहरी कार्यालय ध्वस्त भएको थियो । त्यसमध्ये हाम्रा खेलाडी र सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासस्वरुप ८० लाख रुपिया लागतमा पाँच कार्यालय मर्मतसंभार गरेका छौं । देश निर्माणमा खेलकुदसँगै कर्पोरेट हाउसलाई जोड्न पाउँदा खुशी छौं । सहकार्यका लागि नेपाल प्रहरीलाई धन्यवाद दिन चाहान्छौं ।’
जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले केबी साम एनकेएलको तारिफ गर्दै भने, ‘जेनजी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालहरू सरकार आफैले पनि तत्कालै पुननिर्माण गर्न संभव नदेखिएको परिस्थितिमा अग्रसरता लिएर बनाइदिएकोमा बेगानी ग्रुपप्रति आभारी छु ।’ केबी साम एनकेएलले जनकपर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ वटा ट्राफिक अइल्यान्ड पनि निर्माण गरिदिने जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने, ‘घरमै दशैं, तिहार, छठ पर्व मनाइरहेको अवस्थामा हाम्रा कार्यालय फेरि बस्नलायक बनाइदिनुभएकोमा बेगानी ग्रुपलाई धेरैधेरै धन्यवाद । यस्तै किसिमको सहयोग र सहकार्यले नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’जस्ता अभियान चरितार्थ भएको छ।’
बेगानी ग्रुपको आल्मुनियम उत्पादन केबी साम हो । बेगानी ग्रुपकै एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी गत वर्ष ६ सहरका ६ टिमलाई त्रिपुरश्वरस्थित कभर्ड हलमा उतार्दै एनकेएलको पहिलो संस्करण भव्य रुपमा आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।
पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।
 
                    










 २०८२ कात्तिक  १४ गते १६:५९
                        २०८२ कात्तिक  १४ गते १६:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4