Comments Add Comment

सेलिब्रेटीको अनुभव : पहिलो डेटमै बिहेको प्रस्ताव, जन्तीले ट्राफिक जाम

प्रेम विवाह कि मागी विवाह ?

मंसिर १३ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘लभ यु हमेशा’ का अभिनेता हुन् यशराज गराज । केही महिनाअघि उनले अभिनय गरेको ऐतिहासिक फिल्म ‘कीर्तिपुर’ प्रदर्शनमा आएको थियो । मोडलको रुपमा समेत सक्रिय यी अभिनेताको अर्को एउटा फिल्म ‘उफ् यो मन’ पनि प्रदर्शनको तयारीमा छ ।

आकर्षक व्यक्तित्वका धनी यी अभिनेता विवाहित हुन् भन्ने कुरा चाहिँ अधिकांशलाई थाहा नहुन सक्छ । एसराजले केही वर्षअघि प्रेम विवाह गरेका हुन् । हामीले यसराजलाई प्रेम विवाह तथा मागी विवाहमध्ये कुन चाहिँ राम्रो हो ? भन्ने जिज्ञाशा राखेका थियौं । जवाफमा उनी भन्छन्-‘यही नै विवाह राम्रो हो भन्नै मिल्दैन । कतिलाई पारिवारिक वातावरणले पनि असर गर्छ र त्यही अनुसारले प्रेम अथवा मागी विवाह गर्छन् ।’ ‘मैले चाहिँ १३ वर्ष प्रेम गरेर उनैसँग विवाह गरेकोले प्रेम विवाह नै ठिक लाग्यो, एसराज भन्छन्-‘प्रेम विवाहमा अवश्य पनि एक-अर्कालाई राम्ररी चिन्न सकेका हुन्छौं । एक-अर्काको मन पर्ने, मन नपर्ने कुराहरु पहिले नै थाहा हुन्छ । दुबैबीच राम्रो समझदारी भयो भने सम्बन्ध दिगो रहन्छ ।’

‘मागी विवाहमा चाहिँ एक-अर्कासँग चिनजान गर्नै भनौं अथवा एक-अर्कालाई चिन्न नै केही समय लाग्ने हुन्छ । मागी विवाहका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा गरिएको जिज्ञाशामा एसराज भन्छन्-‘एक-अर्कासँग खुलेर मनको कुरा गर्न पनि धेरै समयसम्म हिच्किचाहट भइरहन्छ जस्तो लाग्छ ।’

प्रेम विवाह आफूले सोचे जस्तो भयो कि भएन भन्ने जिज्ञाशामा एसराजको जवाफ छ-‘मैले त आफूले सोचेको जस्तो नै र खोजेको जस्तो नै पाएको छु ।’ वैवाहिक जीवनको अनुभवका बारेमा एसराज भन्छन्-‘राम्रो छ, रमाइलो छ । पारिवारिक जीवन होस् अथवा व्यवसायिक जीवन होस्, श्रीमतीबाट सबै कुरामा राम्रो साथ र समर्थन पाएको छु । आफूले सक्दो सर्पोट पनि गरिरहेको छु ।’

एसराजले वैवाहिक सम्बन्ध दीगो बनाउने केही टिप्सहरु पनि दिएका छन् । खासगरी अविवाहितहरुका लागि । उनी भन्छन्-‘राम्रो वैवाहिक सम्बन्ध होस् अथवा प्रेम सम्बन्ध मात्रै पनि किन नहोस्, एक-अर्कामा विश्वास हुन/गर्न एकदमै जरुरी छ । एकले अर्कालाई बुझ्छु भनेर मात्रै हुँदैन । साँच्चिकै बुझ्न पनि जरुरी छ । कुनै कुरामा झगडा पर्दा सम्बन्ध सिध्याउनेतर्फ लाग्नुभन्दा सम्बन्ध अझ बलियो बनाउनतर्फ लाग्न जरुरी छ ।’ यसराजका अनुसार आफूलाई जति बेला विवाह गर्नका लागि ठिक समय आएको जस्तो लाग्छ त्यही बेला विवाह गर्नु उचित हुन्छ ।

अविवाहित व्यक्तिहरुका लागि यसराजले यसो भनेका छन्-‘आफ्नो विवाह गर्ने समय आयो जस्तो लाग्छ भने, कोही छ जोसँग पुरै जीवन बिताउन सक्छु जस्तो लाग्छ भने, रिसाउँदा फकाउन सक्छु जस्तो लाग्छ भने, सर्पोट गर्न र सर्पोट पाउन सक्छु जस्तो लाग्छ भने चाँडै पार्टी खान पाउँ….।’ गायक उदेश श्रेष्ठले पनि प्रेम विवाह गरेका हुन् । उनलाई प्रेम विवाह तथा मागी विवाह दुबै उत्तिकै मनपर्छ । यद्यपि आफूले प्रेम विवाह गरेको भएकाले उनलाई प्रेम विवाह अझ बढी मनपर्छ ।

‘केही समयको प्रेम सम्बन्धमा रहँदा नै एक-अर्काको सकारात्मक अनि नकारात्मक कुराहरुको ज्ञान हुने हुनाले स्वीकार्य भए सम्बन्ध अगाडि बढ्ने र अस्वीकार्य सम्बन्ध विवाह अगाडि नै सम्बन्ध टुक्रिने हुँदा प्रेम विवाह पारदर्शी लाग्छ । गायक श्रेष्ठ भन्छन्-‘आफूले विवाह भागेर गरियो तर आफूले सोचेकोभन्दा पृथक साधारण र राम्रो रहृयो ।’ ‘विवाह गरेर दाम्पत्य जीवन प्रारम्भ गरेपछि अनेकौं उतार-चढावहरु आउने गर्छ । उनी सम्झन्छन्-‘हाम्रो जीवनमा पनि त्यो क्षण आएको थियो र अहिले पनि कहिलेकाहीँ आउँछ । तर, निष्कर्षमा आपसी समझदारी र विश्वास नै बलियो कडी हुने रहेछ ।’

‘कुनै पनि सम्बन्ध विश्वासमा नै टिकेको हुने भएकाले वैवाहिक जीवन सफल बनाउनका लागि सबैभन्दा पहिला एक-अर्कामा विश्वास हुन एकदमै जरुरी छ । गायक श्रेष्ठका अनुसार एक-अर्काको कामको कदर हुनु पर्छ अनि निरन्तर अटुट साथले वैवाहिक जीवनलाई सफल बनाउँछ । गायक श्रेष्ठले आफ्ना अविवाहित साथीहरुलाई विवाहका बारेमा टिप्स दिंँदै भनेका छन्-‘जीवन एउटा हिसाब-किताबको मेल हो, कतै घाटा भएमा अर्काेतिरबाट नाफा अवश्य हुनेछ । आफू हृयान्डसम छु अथवा अत्यन्तै सुन्दर छु र मलाई सुहाउने जोडी नपाएसम्म विवाह गर्दिन भनेर कहिल्यै पनि नसोच्नु होला ।

महिला र पुरुष साथीहरु, हजुरहरुलाई मेरो हार्दिक निवेदन छ । हाम्रो जीवनमा तीन वटा कुरा मात्र हामीले सोचेको र चाहेको समय अनि अवस्थाभन्दा फरक हुने गर्छ । त्यो हो- विवाह, यात्रा अनि मृत्यु ।’

अभिनेता तथा निर्देशक  निर्मल शर्माले भने मागी विवाह गरेका हुन् । उनलाई मागी विवाह तथा प्रेम विवाह दुबै ठिकै लाग्छ । यद्यपि विवाहपछि एक-अर्काप्रति आत्मीयता हुनु अत्यन्त जरुरी रहेको उनको बुझाइ छ । कलाकार शर्माले आफ्नो मागी विवाहबाट उनले सोचेकोभन्दा बढी सुख पाएको अनुभव गरेका छन् । ‘विवाह करले होइन, सबैभन्दा पहिला विवाहका लागि आफू तयार हुन जरुरी छ । कलाकार शर्मा भन्छन्-‘विवाहपछिको थप जिम्मेवारीहरु बहन गर्न सक्ने आत्मविश्वास हुनु जरुरी छ । नत्र धेरै कुराहरुको असमझदारी टुट्न सक्छ र पारिवारिक कलह तथा अशान्ति उत्पन्न हुनसक्छ ।’

कलाकार शर्माको वैवाहिक समारोह निकै भव्यतापूर्वक सम्पन्न भएको थियो । उनी सम्झन्छन्-‘हाम्रो विवाहको साइत अफिस टाइममै जुरेको थियो । जन्ती जाने र स्वयंवरको साइत अफिस टाइममा भएकाले जन्ती जाने क्रममा ट्राफिक जाम नै भएको थियो । दुई वटा टुरिष्ट बस, १२-१२ वटा कार, २५-३० वटा बाइकसहित मेरो विवाहको जन्तीमा थिए । मित्रपार्कबाट बाजागाजासहित जावलाखेल जाने क्रममा भएको ट्राफिक जाम म कहिले भुल्न सक्दिन । भिआईपीको जस्तो सवारी, सिँगारिएको गाडी मेरो मात्रै, आधा घण्टापछि सबै जम्मा भएर नाच्दै दुलहीको घर पुगेको क्षण वास्तवमै रमाइलो थियो ।’

कलाकार शर्माले विवाह नगरेका अविवाहित साथीहरुलाई ‘अब त अति नै ढिलो भइसक्यो, चाँडै विवाह गर्नुहोस्’ भन्न चाहन्छन् ।’ अभिनेता तथा निर्देशक असिम शाहले अन्तर्जातीय प्रेम विवाह गरेका हुन् । उनले सञ्चारकर्मी तथा कलाकार दीपाञ्जली लामासँग प्रेम विवाह गरेका हुन् । मागी विवाह र प्रेम विवाहमध्ये कुन विवाह मनपर्छ भन्ने जिज्ञासामा निर्देशक शाह भन्छन्-‘मन मिल्नु पर्‍यो, प्रेम विवाह पनि राम्रो हो, मागी विवाह पनि राम्रै हो ।’ प्रेम विवाहका सकारात्मक पक्षहरु औंल्याउँदै निर्देशक शाह भन्छन्-‘प्रेममा विवाहमा अगाडि नै एक-अर्कालाई राम्रोसँग बुझिन्छ । त्यसैले अगाडि समस्या हुने सम्भावना कम हुन्छ ।’

निर्देशकको प्रेम कथा निकै रोचक छ । उनी भन्छन्-‘पहिलो डेट मै आई लभ युको साटो ‘विल यू म्यारी मी’ नै भन्दिएको चाहिँ अहिले सम्झिदा आँटेकै हो मैले जस्तो लाग्छ ।’

निर्देशक शाहका अनुसार एक-अर्काको भावनाको कदर नगर्दा, एक-अर्कालाई सम्मान नगर्दा वैवाहिक जीवन टुंगिने समस्यामा प्रेम विवाहमा मात्र होइन, मागी विवाह पनि उत्तिकै आउँछ । वैवाहिक जीवनमा असमझदारी भयो भने त्यस्तो समस्या आउने निर्देशक शाहको बुझाई छ । निर्देशक शाहले दीपाञ्जलीसँग विवाह गरेको १४ वर्ष पुरा भइसकेको छ । ‘आजसम्म पनि हामी प्रेमी प्रेमिका नै छौं जस्तो लाग्छ । निर्देशक शाह भन्छन्-‘हामी श्रीमान्-श्रीमतीभन्दा पनि मिल्ने साथी जस्तो छौं । हामीलाई कहिले पनि हामीले विवाह गरेको फिल नै भएको छैन । अहिले पनि हामी डेटिङमै छौं कि जस्तो लाग्छ ।’

निर्देशक शाहले अविवाहित युवा-युवतीहरुलाई विवाहका बारेमा केही सल्लाह पनि दिएका छन् । उनी भन्छन्-‘प्रेम विवाह गर्नुहोस् अथवा मागी विवाह गर्नुहोस् । मुख्य कुरा पार्टनरलाई राम्ररी बुझ्नुपर्छ । एक-अर्काको भावनालाई सम्मान गर्दै अगाडि बढ्नुहोस् । तपाईंको दाम्पत्य जीवन कहिले पनि फेल खाँदैन ।’

मोडल, अभिनेता तथा फोटोग्राफर विकास खतिवडाले मोडल तथा कोरियोग्राफर आयुषी शाहसँग प्रेम विवाह गरेका थिए । ‘हामी करिव १५ वर्षसम्म अफेयर्समा रह्यौं’, खतिवडा भन्छन्-‘त्यसपछि मात्र हामीले विवाह गरेका हौं ।’ मोडल खतिवडाका अनुसार मागी विवाहभन्दा प्रेम विवाह नै राम्रो हो । किनभने विवाह गर्नु भन्दाअघि नै दुबैलाई एक-अर्काको बारेमा सबै कुरा थाहा हुन्छ । ‘प्रेम विवाह गर्ने जोडीमा समझदारी पनि अझ बढी हुन्छ जस्तो लाग्छ । खतिवडा भन्छन्-‘प्रेम विवाह गर्ने श्रीमान्-श्रीमतीलाई उनीहरुको बानी, व्यहोरा, काम गर्ने शैली, साथीभाइ सबैको बारेमा राम्रो जानकारी हुन्छ । त्यसैले उनीहरुबीच एक प्रकारको समझदारी भइरहेको हुन्छ ।’

‘यदि तपाईं मागी विवाह गर्दै हुनुहुन्छ भने पनि विवाहभन्दा अघि एक-अर्कालाई भेटेर एक-अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ’ खतिवडा भन्छन्-‘यदि यसरी चिनजान गरेर मात्र विवाह गर्ने निर्णय गरियो भने मागी विवाह पनि असफल हुँदैन ।’

प्रेम विवाह होस् अथवा मागी विवाह, वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमतीको दुबैको उत्तिकै योगदान हुनुपर्छ । ‘श्रीमानले सधैं काम-काम मात्र भन्नु हुँदैन श्रीमतीलाई खुशी बनाउने कामहरु पनि गरिदिनुपर्छ । जस्तै, डिनरमा जाने, घुम्न जाने गरिरहनुपर्छ, खतिवडाका अनुसार श्रीमतीले पनि श्रीमानलाई हरेक काममा साथ र समर्थन गरेको खण्डमा वैवाहिक जीवन स्वतः सफल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment