Comments Add Comment

अञ्जलीको कीर्तिमानी बलिङ, नेपाल १० विकेटले विजयी

१६ मंसिर, पोखरा । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

अञ्जलीको कीर्तिमानी बलिङ

नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् ।

नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् ।

जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।

रणनीतिअनुसार खेल्यौं र जित्यौं : प्रशिक्षक टमाटा

खेलपछि अनलाइनखबरसँग कुरा गर्दै नेपाली राष्ट्रिय महिला टिम प्रशिक्षक जगत टमाटाले रणनीति अनुसार नै खेलेकोले जित सम्भव भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘जे सोचेका थियौं । त्यही प्लानिङ मुताबिक नै खेल्यौं,’ उनले भने, ‘माल्दिभ्स नयाँ टिम हो । तर, त्यही मौका उठाएर कमभन्दा कम समयमा म्याच प्याक गर्‍यौं ।’

टमाटाले अञ्जली र काजलले पहिलो म्याचमा उत्कृष्ट खेलेकाले पनि थोरै बलमै जित सम्भव भएको बताए । ‘हुन त खेलमा सबैको भूमिका बराबर हुन्छ । फिल्डिङ, बलिङ सबैले राम्रै गरेका हुन् ।’

१ ओभरमै जित निकालेकाले साग अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पनि राम्रो सुरुआत भएको टमाटाले बताए । उनले भने, ‘आजको खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे । तर, आउने खेलमा पनि यही स्पिड कायम गर्न जरुरी छ ।’

नेपाली टिम बलियो : माल्दिभ्स

नेपाली टिम माल्दिभ्सभन्दा राम्रो र उत्कृष्ट खेलेकै कारण जितेको माल्दिभ्सकी कप्तान जुना मारियाले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘नेपाल हामीभन्दा राम्रो टिम हो ।

त्यसमा पनि हाम्रो पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले पनि गाह्रो भएको हो ।’ मारियाले आफूहरु हारभन्दा पनि राम्रो देशसँग खेलको अनुभव लिन पाएकोमा खुसी लागेको बताइन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नेपालले बंगलादेशको सामना गर्ने भएको छ । श्रीलंका र बंगलादेश दुवै टेस्ट मान्यता प्राप्त देश हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment