Comments Add Comment

मण्डेकाजीले सागमा बनाए दोहोरो स्वर्णको कीर्तिमान

१६ मंसिर, काठमाडौं । करातेका मण्डेकाजी श्रेष्ठले दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णको कीर्तिमान बनाएका छन् ।

१३ औं सागमा उनले नेपाललाई पहिलो स्वर्ण दिलाए । पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । उनी त्यतिमा मात्र रोकिएनन्, पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण दिलाउन सफल भए । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

यससँगै उनले १३ औं सागमा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् ।‘म एकदमै खुसी छु, दोहोरो स्वर्ण जित्न सफल भएँ’ हर्षित मुद्रामा मण्डेकाजीले सुनाए ।

सन् २००६ मा श्रीलंकामा भएको १०औं सागमा राजेन्द्र भण्डारीले दुई स्वर्ण जितेका थिए । तर डोपिङका कारण उनको स्वर्ण खोसियो ।

त्यसयता दोहोरो स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् मण्डेकाजी ।

मण्डेकाजी तीनै हुन्, उनले ढाकामा भएको ११ औं सागमा अन्तिम समयमा आएर खेल्न पाएका थिएनन् । अन्तिम समयमा उनी सहभागी इभेन्ट नै हटाएपछि उनले खेल्न पाएका थिएनन् ।

‘तीन दिन बाँकी हुँदा हामी रुँदै नेपाल फर्किनु परेको थियो । त्यो इखले नै साग खेल्नुपर्छ र नेपाललाई स्वर्ण दिलाउनुपर्छ भनेर लागिरहेँ’ मण्डेकाजीले सुनाए ।

दुर्भाग्य १२औं सागमा कराते नै परेन । तर उनले हरेस खाएनन् र, १३ सागमा दोहोरो स्वर्ण जित्न सफल भए । ‘परिवार र बाबुले समर्थन गर्नुभयो । तिमी कहिल्यै हरेस नखाऊ, खेलमा ध्यान देऊ भनिरहनुभयो’ उनी भन्छन्, ‘यो पटक मेरो लक्ष्य पनि दोहोरो स्वर्ण नै थियो । र त्यसमा सफल भए ।’

१३औं सागमा बलियो मानिएको भारतले करातेमा सहभागिता जनाएको छैन । तर स्वर्ण विजेता मण्डेकाजी भारत नआएका कारण नेपाल सफल भएको मान्दैनन् । ‘भर्खरै भएको पाँचौं दक्षिण एसियाली च्याम्पियनसीपमा भारतलाई नै हराएर हामीले स्वर्ण जितेको हो । त्यसैले भारत नआएकाले सजिलो भएको होइन,’ भन्छन्, ‘हाम्रा लागि बलियो प्रतिद्वन्द्वी पाकिस्तान र श्रीलंका नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment