Comments Add Comment
धरानमा नेकपाले हार्नुका ५ कारण :

‘रेड एरियामा कांग्रेसले जितेको हैन, कम्युनिस्टले हारेको

'धराने जनतामा चेतना बढेछ, नेकपालाई चेतावनी दिए'

धरान नेपालकै वामपन्थीहरुको गढ मानिने ठाउँ हो । यो रेड एरिया हुनुका पछाडि केही कारणहरु थिए । र, केही कारणहरु अहिले पनि छन् ।

विसं. २०१६ मंसिर ७ गतेको पहिलो नगरपालिका चुनावमा केदारनाथ खनाल पनि वामपन्थीबाटै जितेका हुन् । त्यसपछि पञ्चायतकालमा सूर्यप्रसाद उपाध्याय नगर प्रमुख भए, उनको पृष्ठभूमि पनि वामपन्थी नै हो । के देखिएको थियो भने, वामपन्थीले समर्थन नगरेमा नजित्ने । वामपन्थीको मौन समर्थन भए पनि आवश्यक पर्ने । यही कारणले धरान वामपन्थीको पकड भएको एरिया नै हो ।

लेफ्टहरु सामान्यतया भारतविरोधी छन् । त्यो भारतविरोधी धारणा धरानमा पहिलेदेखि नै बन्दै आयो । मनमोहन अधिकारी पनि यहाँ आएर धेरै वर्ष बसे । उनले संगठन पनि गरे । महेन्द्र क्याम्पस धरानमा पनि अधिकतम मानिसहरु वामपन्थी थिए । डेमोक्रेटटहरु, कांग्रेसहरुले पढ्न पनि सक्दैनथे । पढ्नुपर्‍यो भने बिराटनगर जानुपर्थ्यो  ।

अहिलेको चुनावले चाहिँ वामपन्थीको पकडलाई तोडिदियो । यो नेपाली कांग्रेसका लागि एकदम उत्साहजनक र ऐतिहासिक विजय हो । कांग्रेसको यो विजयबाट कम्युनिस्ट अचम्ममा परेका छन् । धेरैजसो वडाहरु उनीहरुको पकडमा थिए । उनीहरुले यसअघि २० मध्ये १५ वडाहरुमा चुनाव जितेका थिए । यसपालि ४/५ वटामा झर्नु भनेको त ठूलो धक्का हो । यो धक्का वामपन्थीहरुलाई कसरी लाग्यो ? मैले पनि पत्याएको थिइनँ यस्तो होला भनेर ।

तर, म चुनावअघि जति वडाहरुमा गएँ, सर्वसाधारण मजदुरहरुले समेत यसचोटि कांग्रेसलाई दिने भनेको सुनियो । रुखमा, रुखमा भनेको सुनियो ।

उपचुनाव भैसकेपछि मैले ४/५ वटा कुराहरु सोचें ।

पहिलो कुरो- वामपन्थीहरु, कम्युनिस्टहरु हार्नुका पछाडि यो २० वर्षको अवधिमा धरान नगरपालिकामा जुन संयन्त्र बन्यो, त्यसमा कर्मचारीतन्त्र अत्यन्त हावी भयो । जनताले काम गर्न जानुपर्‍यो भने, एउटा सिफारिस लिन जानुपर्‍यो भने पनि अनेक बाहनामा काम नगरिदिने । विशेष गरी निम्न वर्गका मान्छेहरुको काम नगर्दिने । त्यो प्रवृत्ति देखियो ।

नगरपालिकाका ती कर्मचारी भनेका वामपन्थीको पकडका हुन् । एउटा हैन, सबै त्यहाँ वामपन्थीहरु मात्र छन् । तिनै कर्मचारीले दुःख दिएका छन् । उपमेयरले भनेको पनि टेर्दैनन् । उपमेयर आफैं पनि काम गर्न सक्दिनन् । आलाकाँची विचरी हुन् । त्यसकारण यो पहिलो प्रहार नगरपालिकाको कर्मचारी तन्त्रमाथि हो । र, त्यसलाई ठीक गर्न नसक्ने जनप्रतिनिधिहरुको विरुद्ध हो जनमत ।

यो पनि पढ्नुहोस धरानको ‘लालकिल्ला’ तोड्ने तिलक राई : तेस्रो प्रयासमा सफल

नम्बर दुई- धरानमा नेकपाको जुन नगर कमिटी छ, त्यो नगर कमिटीको नेतृत्व असक्षम छ । यहाँ जाति, जनजाति, ब्राह्मण सबैलाई मिलाएर लानुपर्ने हो । तर, त्यो किसिमको देखिएको छैन । कम्युनिस्ट वृत्तबाट पनि के प्रतिक्रिया आएको छ भने यहाँको नेकपा नेतृत्वले, शायद सुनसरीको नेतृत्वले आफ्नो पकेटका मान्छे छान्यो । लोकपि्रय मान्छेहरुलाई नगर कमिटीमा ल्याएन । यसले गर्दा नगर कमिटीले सबै वडामा ध्यान पुर्‍याउन सकेन । यसवापत वामपन्थीहरुले नै नेकपा उम्मेदवारलाई जानीजानी भोट नहालेका हुन् चेतावनी दिनका लागि ।

नम्बर तीन-चार/पाँच वर्षअघि नेकपा माओवादीले सुकुम्बासी एरियामा जग्गाधनी लालपूर्जा बाँडेको थियो । अहिलेका सुकुम्बासीहरु पढेलेखेका, शिक्षित छन् । यो लालपूर्जा नक्कली हो भन्ने कुरा उनीहरुले थाहा पाइहाले । भोलि वामपन्थीले नै जित्यो भने के गर्छ त ? त्यही नक्कली लालपूर्जा बाँड्ने ? जनतालाई ठग्ने हो ? उनीहरुलाई यस्तो आशंका लाग्यो । यसबाट पनि नेकपाका मतदाताहरु असन्तुष्ट भए ।

चेतनाको स्तर पनि जनतामा बढेछ । जनता कुनै पार्टीका दास होइनन् । आज एउटा विचार छ, परिस्थिति अनुसार भोलि अर्को विचार हुन सक्छ भन्ने कुरा पनि यसले अभिव्यक्त गर्‍यो

वामपन्थीहरुको धेरै पकड भएको क्षेत्र भनेको सुकुम्बासी एरिया हो । १३, १५, १६ र १७ नम्बर वडा हो । यी वडाहरुबाट नै वामपन्थीलाई भोट आएन । किनभने, सुकुम्बासीहरु भोट दिनै आएनन् । जब मान्छे भोट दिन आएनन् र भोट कम खसिरहेको छ भनेपछि नेकपाका केही मानिसहरु तिनलाई लिन गए । केही मान्छेहरु आए पनि, तर उनीहरु गेटबाट भित्र छिरेनन् । यो उनीहरुले नेकपालाई च्यालेञ्ज गरेका हुन् ।

चौथो कुराचाहिँ के हो भने चेतनाको स्तर पनि जनतामा अब बढेछ भन्ने बुझ्नुपर्‍यो । जनता कुनै पार्टीका दास होइनन् । आज एउटा विचार छ, परिस्थिति अनुसार भोलि अर्को विचार हुन सक्छ भन्ने कुरा पनि यसले अभिव्यक्त गर्‍यो ।

र, पाँचौं कुराचाहिँ उम्मेदवारको सवालमा छ । हुन त बहुदलीय प्रतिस्पर्धामा उम्मेदवार महत्वपूर्ण होइन म अहिले पनि भन्छु । लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो हुन्छ । पार्टीलाई गाली गरेर लोकतन्त्र चल्दैन । पार्टी नै सर्वेसर्वा हो । तर, जनताले उम्मेदवारको लोकपि्रयता पनि हेर्छन् ।

धरानमा यसपालि वामपन्थीले उठाएका प्रकाश राई शालीन र भद्र व्यक्तित्व हुन्, पार्टीमा अत्यन्त खटेका हुन् । तर, जनताले को कति वर्ष जेल पर्‍यो, कसले पार्टीमा कति योगदान गर्‍यो भनेर हेर्दैनन् । जनताले त आफूसँग सम्पर्क भएको व्यक्ति को छ, त्यो हेर्छन् ।

कांग्रेसका जो तिलक राई हुन्, उनीचाहिँ यातायात व्यवसायी पनि हुन् । यसबाट मजदुर क्षेत्रमा उनको राम्रो सम्पर्क पुग्यो । किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष पनि भए । यसबाट पनि उनको आफ्नो जनजाति समाजमा राम्रो पहुँच पुग्यो । र, अलिकति पढेका वौद्धिक व्यक्तित्व पनि हुन् र सक्रिय व्यक्ति पनि हुन् । नगरपालिकामा पनि केही समय संयन्त्रमा बसेर उनले काम गरे ।

हुन त दुबै उम्मेदवारहरु भद्र छन् । तर, तुलना गर्दाखेरि प्रकाश राईभन्दा तिलक राई अलि उत्तम भनेर जनताले मूल्यांकन गरे । यसैले गर्दा धरान नगरपालिकामा ऐतिहासिक रुपमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको हो ।

म त नेपाली कांग्रेसले विजय प्राप्त गरेको भन्दिनँ, यो त कम्युनिस्टहरुमाथिको ठूलो प्रहार हो । अब उनीहरु सच्चिए भने अर्को चुनाव जित्छन्, होइन भने फेरि हार्छन् ।

नेकपाले यति लामो समय काम गर्दा एउटा पनि काम गरेको देखिएको छैन । एउटै ठाउँमा बसपार्क तीनपटक/चार पटकसम्म शिलान्यासमात्रै गरिरहन्छन्, बसपार्क बनाउन सक्दैनन् । यसैले गर्दा उनीहरु पराजित बनेको अनुभव भएको छ ।

(अनलाइनखबरकर्मी ध्रुब भट्टराईले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment