
१७ मंसिर, गोरखा । सरकारले निर्धारण गरेको मुआब्जा रकम कम भएको भन्दै आन्दोलनमा उत्रिएका आरुघाटवासीले गाउँपालिका कार्यालयमा ताला लगाएका छन् ।
बुढीगण्डकी सरोकार समितिको अगुवाइमा स्थानीयवासीले मंगलवार बिहान १० बजे आरुघाट गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । उनीहरुले आरुघाट बजार आज पनि बन्द गरेका छन् ।
केही दिन अनिश्चितकालका लागि बजार बन्द गरिने सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए ।
बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेत बजारको मुआब्जा आइतबार राति निर्धारण गरिएको थियो ।
आनाको ५० हजारदेखि सात लाखसम्म मुआब्जा निर्धारण भएको छ । तर, उक्त मुआब्जा कम भएको भन्दै आरुघाटवासीले असन्तुष्टि जनाएका हुन् । ‘सरकारले सोचेर मुआब्जा निर्धारण गरेन, साह्रै कम भयो,’ खनालले भने, ‘वर्गीकरण पनि तरिका मिलाएर गरेनन् ।’
गाउँपालिका प्रतिनिधि र सरोकारवाला बीच छलफल हुने जानकारी गराउँदै उनले भने, ‘कुरा मिल्यो भने भइहाल्यो भएन भने आन्दोलनका कार्यक्रम घोषणा गरेर चरणवद्ध आन्दोलनमा जान्छौ ।’
आरुघाट बजार बन्द भएसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । यातायातका साधान पनि ठप्प छन् ।
प्रतिक्रिया 4