Comments Add Comment

अनुपमाले दिवंगत आमालाई समर्पण गरिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । कराँतेकी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । अनुपमाले दिवंगत आमालाई स्वर्ण पदक समर्पण गरेकी छन् ।

उनको यो पहिलो साग हो । डेब्यू सागमा स्वर्ण सुखद हो । त्यसमाथि एसियन गेम्समा काश्य पदक विजेतालाई हराउन पाउनु अर्को सुखद संयोग रहृयो ।

६८ केजीमाथि प्रतिस्पर्धा गरेकी अनुपमाले पाकिस्तानी खेलाडी नगरिसलाई ६-२ को स्कोरमा हराइन्

श्रीलंकनसँग डर थियो

फाइनल खेल्नुअघि उनको भेट श्रीलंकन खेलाडीसँग भयो, जोसँग हालै मात्र बंगलादेशमा भएको पाँचौं साउथ एसियन च्याम्पियनसिपमा फाइनलमा पराजित भएकी थिइन् ।

सेमिफाइनल जित्न सके स्वर्ण जित्छु भन्ने लागेको थियो । ‘बंगलादेशमा एक अंकले हारेकी थिएँ । त्यसैले डाउट थियो, तर सफल भएँ,’ उनले भनिन् ।

फाइनलमा पाकिस्तानकी खेलाडीसँग भेट भयो । उनीसँग यसअघि कहिल्यै खेलेकी थिइनन् । त्यसमाथि उनी एसियन गेम्सको पदकधारी खेलाडी पनि हुन् । ‘उसँग कहिल्यै खेलेको थिइनँ । कस्तो होला भन्ने थियो’ स्वर्ण जितेपछि खुसी हुँदै उनले भनिन्, ‘सेमिफाइनलमा श्रीलंकनलाई हराएपछि होप त थियो ।’

फाइनल आफूले सोचेभन्दा राम्रो भएको उनले सुनाइन् ।

जनयुद्धदेखि सागसम्म

सिन्धुलीकी अनुपमा एक समय माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । बन्दुक बोकेर युद्ध लड्न त गइनन् तर पार्टीले अराए खटाएअनुसार काम गरिन् ।

यो पनि पढ्नुस्ः दुब्लाउन सिकेको कराँतेले जीवनको बाटो मोडिदियो माओवादी शान्ति प्रक्रियामा आएपछि भएको छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी लडाकुहरुको तर्फबाट बनेको पीएलए क्लबबाट उनले पनि खेलिन् । काश्य पदक पनि जितिन् ।

त्यसपछि बालाजु डोजोमा ध्रुवविक्रम मल्लको प्रशिक्षणमा हुर्किएकी उनले सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा काश्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् । सिद्धार्थ बनस्थली एकेडेमीमा प्रशिक्षकको भूमिकामा समेत रहेकी उनले १३औं सागमा स्वर्ण जित्न सफल भएकी छन् ।

उनले यो स्वर्ण आफ्नी दिवंगत आमालाई समर्पण गरेकी छन् । आफूलाई परिवार र दाइको सहयोग रहेको भन्दै उनले अघि भनिन्, ‘अबको लक्ष्य भनेको ओलम्पिक हो ।’

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment