Comments Add Comment

बंगलादेशकी प्रधानमन्त्री : भान्साको काममा जाँगर चलाउने, प्याज नखाने

भारतको राष्ट्रपति भवनमा पनि आफैं भान्सामा अघि सरिन्

हामीकहाँ हुनेखाने भइसकेपछि मान्छेहरु सामान्य काम गर्न लाज र अल्छी मान्छन् । आफुले खाने खाना पकाउन, आफुले बनाएको जुठो भाँडा माझ्न, आफुले लगाएको लुगा धुन समेत अर्को मान्छे खोज्छन् । उनीहरु यस्तो ठान्छन्, मानौ सामान्य काम गरियो भने आफ्नो मान-प्रतिष्ठा घट्छ ।

तर, विश्वका कति धनीमानी, राजनीतिज्ञ, उच्च पदमा रहेकाहरु आफ्नो काम आफै गर्छन् । जस्तो कि, शेख हसिना । हुन त उनी बंगलादेशकी प्रधानमन्त्री हुन् । केही समयअघि प्याज नखाने घोषणा गरेर चर्चामा आएकी उनी घरायसी कामकाजमा उत्तिकै लगाव राख्छिन् । प्रधानमन्त्री भएपनि उनी भान्साको काममा समय दिन्छिन् ।

खुल्ला स्वभावकी उनी चर्चामा आउने विभिन्न काम गरेर सधैं सबैको नजरमा आइरहेकी हुन्छिन् । केही साता अघि उनले प्याज नखाने घोषणा गरेर यस्तै चर्चाको काम गरिन् । प्याजको भाउ आकाशिएको बेलामा आफ्नो देशमा उत्पादन नहुने प्याज बहिस्कार गरेर उनले वाहवाही लुटेकी छिन् ।

सन् २०१७ को अपि्रलमा बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारत भ्रमणमा गएकी थिइन् । विदेशी नेताहरूको औपचारिक भ्रमणको लागि प्रायः राष्ट्रपति भवनमा रात्रीभोजको आयोजना हुन्छ । तर, बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको हकमा भने त्यसो भएन । उनले त्यो भ्रमणमा चाखलाग्दो व्यवहार गरिन् ।

यो पनि पढ्नुहोस भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

इकोनोमिक्स टाइम्सले तयार पारेको एक रिपोर्ट अनुसार हसिना सो भ्रमणमा आफैं राष्ट्रपति भवनको भान्छामा गएर बंगालको बहुमूल्य माछा इलिसको खाना पकाउन सुरु गरिन् । त्यहाँका भान्छेहरुले उनलाई सहयोग गरे । आफ्नो लागि बंगलादेशबाट ल्याएको माछा आफैंले बनाएर खाएको कुरा इकोनोमिक्स टाइम्सले २०१७ अपि्रल १५ मा प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

यो केवल उनले गरेको सामान्य व्यवहार त थिएन । यो एक प्रकारको कूटनीतिक सन्देश थियो । तर, उनी केवल प्रधानमन्त्री मात्रै होइनन् । उनी परिवारमा एक कुशल गृहिणी आमा पनि हुन् । जसले आफ्नो छोराछोरीलाई खाना बनाएर खुवाउने गर्छिन् ।

प्रधानमन्त्री हसिनाले पकाएको इलिस जातिको माछालाई हिल्सा पनि भन्ने गरिन्छ । त्यो माछा बंगलादेशको राष्ट्रिय माछा हो । यो माछा भारतको पश्चिम बंगाल, आसाम र त्रिपुरामा लोकप्रिय छ । यसरी भारत भ्रमणमा धेरैको चासो हुने बेलामा त्यो माछा आफैंले पकाएर खाँदा त्यसको खपत धेरै हुने भएकोले उनले यस्तो रणनीति अपनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

उनले किचनमा पसेर खाना पकाएको यो पहिलो घटना भने होइन । उनी खाना पकाउनको लागि एकदमै जाँगर चलाउने र खुशी हुने व्यक्ति हुन् । समय समयमा उनले खाना बनाइरहेको यस्ता तस्बिरहरु बाहिर आउने गरेका हुन्छन् । बंगलादेशी सञ्चारमाध्यमहरुमा उल्लेख भए अनुसार उनी एक कुशल गृहिणी पनि हुन् । उनी भान्सामा प्रवेश गरेपछि कुनै न कुनै खानेकुरा तयार पारेर मात्रै निस्किन्छिन् । उनको पाक कला पनि प्रशंसनीय रहेको जानकारहरु बताउँछन् ।

केही वर्ष अघि हसिनाले आफ्नो छोरा सजीब अहमद वाजेद जोयको जन्मदिनको दिन आफैंले “चिकन पोलो” पकाएको तस्बिर सञ्चारमाध्यमहरुमा प्रकाशित भएको थियो । यो फोटो उनकै छोरा जोयको फेसबुक पेजबाट सार्वजनिक भएको थियो । सो फोटोमा प्रधानमन्त्री हसिनाले भान्छामा खाना पकाउँदै गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

शेख हसिना त्यस्ती शक्तिशाली महिला प्रधानमन्त्री हुन् जो फोर्ब्स पत्रिकाको २०१७ को १०० शक्तिशाली महिलाहरुको सूचीमा ३० औं नम्बर भित्र पर्न सफल भएकी थिइन् ।

हसिना भान्सामा काम गर्न, बगैंचामा काम गर्न रुचाउँछिन् । उनी स्थानीय बंगाली खाना र कन्टिनेन्टल खानामा बढी रुचि राख्छिन् । उनको दैनिक खानामा पनि प्रायः बंगाली खाना नै हुने गरेको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी फिल्मका गीतहरु धेरै सुन्ने गर्छिन् । शान्त वातावरणमा बस्न पाएको बेलामा घरमै पनि गीतहरु गुन्गुनाउने उनको बानी छ । खेलकुदतर्फ उनलाई क्रिकेट मन पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment