
के तपाईं विवाह गर्दै हुनुहुन्छ ? विवाहको मिति तय भइसके पनि कहाँ र कसरी वैवाहिक समारोह सम्पन्न गर्ने भन्ने द्विविधामा हुनुहुन्छ । यति तपाईं विदेशमा बसोबास गर्नुहुन्छ र नेपालमा आएर वैवाहिक समारोह सम्पन्न गर्नका लागि झन्झट पो मानिरहनु भएको छ कि ? यदि त्यसो हो भने शहरमा वेडिङ प्लानरहरु तपाईंको सेवाका लागि हाँजिर भइसकेका छन् । २०६८ सालमा स्थापनामा भएको वेलकम वेडिङले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध गराइरहेको छ । संस्थाकी निर्देशक नीता पौडेलसँग अनलाइनखबरले वेडिङ प्लानिङका बारेमा केन्द्रित त रहेर गरेको कुराकानी :
वेडिङ प्लानर बन्ने सोचाई कसरी आयो ?
विभिन्न नाता गोता, साथी सर्कलको विवाहका कार्यक्रमहरुमा स्वदेश र विदेश भ्रमण गर्दा त्यसको राम्रो व्यवस्थापन इभेन्ट प्लानर कम्पनीले गरेको देखेकी थिएँ । नेपालमा पनि अबको सम्भावनासहीतको सेवामूलक बिजनेस हुने देखेर यो व्यवसायलाई व्यवसायिक बनाउने सोच आयो । यसैमा निरन्तर, लागिरहेकी छु ।
नेपालमा वेडिङ प्लानरबाट विवाह गराउने चलन कतिको सफल भइरहेको छ ?
आज हरेक दिन मानिसहरु व्यस्त जीवनशैलीहरु व्यतित गरिरहेका छन् । विवाह भनेको ठूलो उत्सव हो । यो कसैलाई पनि सजिलै व्यवस्थापन गर्न गाह्रो पर्ने भएकोले इभेन्ट प्लानरको आवश्यकता महसुस हुन थाल्यो । अझ विदेशमा बस्नेहरु नेपालीहरुले स्वदेशमा आएर अनिवार्य रुपमै वेडिङ प्लानरबाट विवाह गराउने चलन प्रारम्भ भएको छ ।

कुन संस्थामार्फत् वेडिङ प्लानरको काम गरिरहनु भएको छ ?
हाम्रो वेडिङ प्लानर गर्ने संस्थाको नाम ‘वेलकम वेडिङ’ हो । यो वेलकम एड ग्रुप अन्तर्गतको वेलकम इभेन्ट म्यानेजमेन्टको एउटा विङ्स हो । वेलकम इभेन्टले सबै किसिमका कर्मसियल इभेन्टहरु गर्छ भने वेलकम वेडिङले विवाह, व्रतवन्ध, वर्थ डे, पास्नी, स्वीट सिक्सटिन लगायत सम्पूर्ण रिचुयल प्रोग्रामहरु गर्छ ।
अहिलेसम्म कति वटा विवाह गराइसक्नु भएको छ ?
साना-ठूला वैवाहिक समारोहहरु गरी अहिलेसम्म करिब एक सयको हाराहारीमा गरीसकियो होला । वेडिङ एनिभर्सरी, ब्रतबन्ध सबै जोड्यो भने त धेरै नै होला ।
यसको सकारात्मक पक्षहरु के-के छन् ?
सकारात्मक कुरा भनेको क्रमिक रुपमा यो विजनेस स्थापित हुँदैछ भने मानिसहरुलाई समेत यस्ता संस्थाहरुको आवश्यकता महसुस हुँदैछ ।
यसको लागि कुन कुन कुराहरु आवश्यक पर्छ ?
सबैभन्दा पहिले अध्ययन, त्यसपछि ग्राहकको रिक्वायरमेन्ट बुझ्ने र आवश्यकता अनुसारको बजेटिङ्ग गर्ने, सजावट, क्याटरिङ्गसहीत अन्य आवश्यकता अनुसारका सर-सामानहरुको सही व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण हो ।
वेडिङ प्लानरमार्फत् एउटा वैवाहिक समारोह पूरा गर्नका लागि न्यूनतम बजेट कति लाग्छ ?
बजेट भन्ने कुरा जतिमा पनि व्यवस्थापन गर्न सकिन्छ । कसैले आफ्नो सानो बजेटमा सम्पूर्ण विवाह, पार्टी सकाउनुपर्यो भन्नुहुन्छ । त्यसैको आधारमा प्लानिङ्ग गरीदिन्छौं । कसैले विवाहको आवश्यकता अनुसार प्लानिङ्ग गर्न लगाउनुहुन्छ, त्यसैगरी गरीदिन्छौं । सामान्यतया न्यूनतम ५ लाख रुपैयाँदेखि माथि जति पनि लाग्न सक्छ ।
वेलकम वेडिङले केवल वेडिङ मात्र प्लानिङ गर्छ कि अरु अवसरहरुको पनि ?
विवाह सम्बन्धी सबै कार्यक्रमहरु गरीरहेका छौं । यसबाहेक ब्रतबन्ध, शुभ जन्मोत्सव स्वीट सिक्सटिन, वेडिङ एनिभर्सरी, धार्मिक कार्यहरु आवश्यकता अनुसार तथा कमर्सियल इभेन्ट, सेमिनार लगायत भ्याली तथा अधिराज्यभर हुने साना, ठूला इभेन्टहरु पनि गरीन्छ ।
वेडिङ प्लानिङको लागि कुन कुरा अति नै महत्वपूर्ण हुन्छ ?
सबै कुरा उत्तिकै महत्वपूर्ण हुन्छ । किनकी सजग, चनाखो भएर काम गरेर जस लिनुपर्ने हुँदा टिम राम्रो बनाएर कार्य विभाजन गरी काम गर्नुपर्ने हुन्छ ।
वेडिङ प्लानिङका लागि कस्तो स्थान उपयुक्त हुन्छ ?
यदि आफ्नो घरमा कम्पाउण्ड छ भने अथवा घरसँगै छिमेकमा खाली स्थान छ भने विवाहलाई उत्सवको रुपमा आफ्नै घरलाई सजाउन सकिन्छ । अन्यथा पार्टी प्यालेस, होटल इत्यादिमा पनि गरीन्छ ।
यसको लागि प्रायः कस्ता ग्राहकहरुले बढी सोधपुछ गर्छन् ?
विदेशमा बसोबास गर्ने नेपालीहरुले वेडिङ प्लानरमार्फत विवाह गराउने अत्यन्त रुचि देखाइरहनु भएको छ । उनीहरु स्वदेशमा आएर विवाह गर्न चाहन्छन् । तर, व्यवस्थापन गर्न मानिसहरु छैन भने वेडिङ प्लानरको बढी प्रयोग हुन्छ ।
यो कामबाट कतिको सन्तुष्टि मिलेको छ ?
भर्खर-भर्खर स्थापित हुँदै गइरहेको नयाँ व्यवसाय भएकोले सम्भावनाहरु धेरै नै छन् । तर, समय पनि लाग्ने देखिन्छ । यो व्यवसायप्रति सन्तुष्टि नै मिलेको छ । त्यसैले नै हामीले यसलाई निरन्तरता दिइरहेका छौं ।
विवाहको योजनामा बनाइरहेकाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
आउनुहोस्, तपाईंहरुको आवश्यकता अनुसार कम बजेटमा धेरैभन्दा धेरै राम्रो थिमेटिक कन्सेप्टमा विवाहको व्यवस्थापन गरिदिन्छौं । जिन्दगीमा एक पटक गरिने विवाहलाई सेलिबे्रट गर्नुहोस् । विवाहलाई एउटा औपचारिकतामा मात्र सीमित नराख्नुहोस् ।
विवाह अथवा अन्य अवसरलाई व्यवस्थापन गर्न यसले कस्तो भूमिका खेलेको अनुभव हुन्छ अथवा यसले कतिको सहयोग गरेको छ ?
अवश्य पनि विवाहलाई व्यवस्थित र मर्यादित उत्सवको रुपमा व्यवस्थापन गर्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विवाहको थिमबाटै पनि केटा र केटीको माया-प्रेम, भावना, विचारहरु झल्किएको महसुस हुन्छ र आगामी दिनमा दुबैलाई एक-आपसमा चिन्ने अवसर पनि विवाहको थिमले दिन्छ । यसो गर्न वेडिङ प्लानरको सही व्यवस्थापनले उहाँहरुलाई ठूलो मद्दत गर्छ ।
यो क्षेत्रमा अझ नयाँ-नयाँ के गर्दै हुनुहुन्छ त ?
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एउटा नयाँ कन्सेप्ट डेभलप गरेका छौं । संसारका कुनै पनि कुनामा बस्ने विदेशी हुन् अथवा नेपाली समुदायका व्यक्तिहरुलाई लक्षित गरेर डेस्टिनेसन वेडिङको कन्सेप्टहरु डेभलप गरिरहेका छौं । यसका साथै डेस्टिनेसन वेडिङसँगै फोटो सेसनको प्याकेज पनि डेभलप गरेका छौं ।
जस्तै हिमालयमा विवाह गर्न चाहनेले हिमालयमा गएर विवाह गर्ने, जंगलमा विवाह गर्न चाहनेले तराईको जंगलको कन्सेप्टमा र मठ-मन्दिर लगायत नेपालका विभिन्न स्थानमा विवाहको प्याकेज र फोटो सेसनको प्याकेजमा काम गरिरहेका छौं । यसका साथै ठूला-साना होटल, रिर्सोट, पार्टी प्यालेसहरुसँग मिलेर पनि काम गर्दैछौंं भने एयरलायन्स र हेलिकप्टरहरुसँग पनि सहकार्य गरिरहेका छौं ।
प्रतिक्रिया 4