Comments Add Comment

चितवन निकुञ्ज घुम्ने विदेशी पर्यटक घटे, समग्रमा बढे

१९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष विदेशी पर्यटकको संख्या घटेको छ । यो वर्षको पहिलो चौमासिकमा विदेशी पर्यटक ३८ हजार ३३० आएका छन् ।

गतवर्षको साउनदेखि कात्तिकसम्म ३९ हजार ४३६ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले विदेशी पर्यटक सौराहामा मात्रै नभई नेपालमा नै कमी भएको बताए । किन विदेशी पर्यटक घटे भन्नेबारेमा जानकारी प्राप्त गर्न नसकिएको र यो खोजीको बिषय भएको उनको भनाइ छ ।

गतवर्षको चार महिनाको तुलनामा यस वर्षको चार महिनामा १ हजार १०७ जना विदेशी पर्यटक घटेको देखिन्छ । नेपाल र सार्क देश बाहेकबाट आउने पर्यटकलाई निकुञ्जले विदेशी पर्यटकका रुपमा राख्ने गरेको छ ।

समग्रमा निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि

विदेशी पर्यटक घटे पनि नेपाली र सार्क मुलुकका पर्यटक भने बढेको तथ्याङ्कमा देखिन्छ । समग्र पर्यटकको संख्या यस अवधिमा २६.८५ प्रतिशतले बढेको सूचना अधिकारी घिमिरेले बताए ।
तथ्यांक अनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो संख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।

वृद्धि भएको पर्यटकमध्ये नेपालीको संख्या बढी छ । गत वर्षको यस अवधिमा नेपाली ९ हजार ८५५, सार्क मुलुकका ५ हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए । यस वर्ष नेपालीको संख्या २४ हजार ४३५, सार्क मुलुकका ६ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् । जसमध्ये नेपालीको संख्या गत वर्षभन्दा १४ हजार ५८० ले बृद्धि भएको छ ।

सार्क मुलुकका पर्यटक १ हजार १९६ ले बढेको छ । गत आर्थिक वर्ष भरिमा १ लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए । तेस्रो पर्यटकीय गन्तब्यका रुपमा परिचित चितवनमा यस बर्ष तीन लाख पर्यटक भित्राउने लक्ष्य छ ।

२०७२ सालको भूकम्पका कारण आव २०७२र०७३ मा ८७ हजार ३२१ पर्यटकले मात्रै निकुञ्ज भ्रमण गरेका थिए । त्यसपछिका वर्षहरुमा भने क्रमशः वृद्धि हुँदै आएको छ । आव २०७३/७४ मा १ लाख ३९ हजार १२५, आव ०७४/०७४ मा १ लाख ५२ हजार ६७१ र ०७५/०७६ मा १ लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।

चितवनमा मुख्य रुपमा निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।

पर्यटकहरु हात्ती, जीप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ । उक्त टिकटलाई आधार मानेर पर्यटकको संख्या निकाल्ने गरिन्छ । जिल्लाका पर्यटकीय ठाउँमा आएर पनि निकुञ्ज नजाने पर्यटकको संख्या पनि ठूलो रहने गरेको छ । तर त्यसको कुनै पनि निकायले तथ्याङ्क लिने गरेको पाईंदैन । जिल्लाको सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment