Comments Add Comment

सार्वजनिक नीति निर्माणमा ‘भेन्यु सपिङ’

सरकारले संसदको ०७६ सालको वर्षे अधिवेशनमा गुठी ऐन संशोधनका लागि सदनमा विधेयक पेश गर्‍यो । तर, जनताको उग्र विरोधका कारण फिर्ता लिनुपर्‍यो ।

सन् २०१९ को शुरुमा हङकङको विधायिकामा हङकङवासीहरुलाई चीनमा सुर्पुदगी गर्ने विधेयक पेश भयो । विधेयकको विरोधमा आन्दोलन चर्केपछि हङकङ सरकारले विधेयक फिर्ता लियो ।

यी दुई उदाहरणबाट के बुझिन्छ भने सरकार जनताको विरोध हुने डरले नयाँ नीति निर्माण गर्न वा नीति परिवर्तनमा उतिसारो उत्साहित हुँदैन । आवश्यक भए पनि जनताले मन नपराउने नीति बनाउन सक्रिय हुँदैन । परिणामतः शासन प्रणालीमा नीतिगत यथास्थिति लामो समयसम्म कायम रहन्छ ।

‘भेन्यु सपिङ’

सरोकारवालाहरुको विरोधले औपचारिक बाटोबाट नीति बन्न सम्भव नभएपछि सरकार वा सरोकारवाला सबै घुमाउरो बाटो लिन बाध्य हुन्छन् । घुमाउरो बाटोलाई नै सोझो अर्थमा ‘भेन्यु सपिङ’ भन्ने गरिन्छ ।

राजल्लदेवीले सवारी चालक अनुमतिपत्र लिइन् । उनी घर नजिकैको यातायात कार्यालयमा बुझ्न गइन् । भीडभाड थियो र चिनेको कर्मचारी कोही पनि थिएन । उनले मामासँग सल्लाह गरिन् । अर्को जिल्लामा मामाका साथी प्रमुख थिए । राजल्लदेवी उतै लागिन् र अनुमतिपत्र प्राप्त गरिन् । पासाङले इलामको लोक सेवा आयोगबाट धेरैपटक परीक्षा दिए । तर, सफल हुन सकेनन् । उनी धनकुटा पुगे र सफल पनि भए । यी भेन्यु परिवर्तनका व्यक्तिगत उदाहरण हुन् ।

सरकारले राष्ट्रिय आवश्यकता तथा अन्तराष्ट्रिय प्रतिवद्धता पूरा गर्न नयाँ नीति निर्माण वा कानून बनाउनुपर्ने हुन्छ । जस्तो कि, सूचनासम्वन्धी हकको व्यवस्था संविधानमा भैसकेपछि पनि सरकारले शासन सञ्चालन गर्ने सम्र्पूण प्रक्रिया पारदर्शी बनाउनुपर्ने भएकाले नीति वा कानून बनाउन उदासीन देखियो । नयाँ नीतिको जनताले गर्ने विरोध वा संस्थागत पूर्वाग्रहले सरकारका लागि सहजै नीति वा कानून बनाउन सम्भव भएन । नीति निर्माणमा चासो राख्ने हित समूह वा एडभोकेसी समूहले अदालतमा उजुरी हाले । अदालतले नीति निर्माण गर्न आदेश जारी गर्‍यो । अदालतको आदेश बमोजिम नीति निर्माण भयो । यो भेन्यु परिवर्तनको सार्वजनिक उदाहरण हो ।

भेन्यु भन्नाले यस लेखमा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय हुने आधिकारिक स्थानलाई बुझनुपर्छ । प्रत्येक भेन्युको आफनै सीमितता र आफ्नै क्षमता हुन्छ । नीति निर्माताहरु वा एडभोकेसी समूहहरु नीति परिवर्तन वा नयाँ नीति बनाउन खोज्छन् । त्यसबेला राजनीतिक उदासीनता र संस्थागत पूर्वाग्रहले त्यो नीति परिवर्तन वा निर्माणको उद्देश्य सजिलै प्राप्त हुँदैन । नीति निर्माण गर्ने उद्देश्यले वैकल्पिक भेन्युको सप (छनोट) गरी नीति निर्माणको उद्देश्य हासिल गर्नु भेन्यु सपिङ हो ।

परम्परागत पोलिसी भेन्युमा समस्या आएपछि सरोकारवालाहरुले नीति निर्माणको लागि नयाँ भेन्यु छनोट गर्नुलाई भेन्यु सपिङ भनिन्छ । अर्थात, नीति निर्माणका लागि पर्याप्त समर्थन मिल्ने निकाय वा भेन्युको छनोट गर्नु भेन्यु सपिङ हो । भेन्यु परिवर्तनले नीति निर्माण वा नीति परिवर्तन सफल हुन जान्छ । नीति निर्माणका लागि औपचारिक भेन्युको सट्टामा नीतिसम्बन्धी आफना विचार वा भनाई राख्न तथा वैकल्पिक नीतिको महत्व बुझाउन नीतिनिर्माता र एडभोकेसी समूहले सञ्चालन गर्ने भेन्यु सपिङ एक रणनीति हो ।

भेन्यु सपिङ नीति निर्माताको ध्यान आर्कषित गर्ने सार्वजनिक नीति निर्माणको एक बैकल्पिक उपाय हो । यसमा एडभोकेसी समूहको महत्वपूर्ण भूमिका रहन्छ । नीति निर्माणको भेन्यु सरकारको संरचनाभित्र वा वाहिर तथा औपचारिक र अनौपचारिक दुबै तथा वहुतहका सरकार संघ, प्रदेश र स्थानीयतह जुनसुकै पनि हुनसक्दछन् । समाज परिवर्तनशील र अन्तरक्रियात्मक छ । यावत वस्तुहरु परिवर्तन भैरहेका छन् । कार्यपालिकाले मूलुकको शासन सञ्चालनको जिम्मेवारी र उत्तरदायित्व लिएको हुन्छ ।

यसकारण सार्वजनिक नीति निर्माण कार्यपालिका अर्थात मन्त्रिपरिषदको एकाधिकार हो । कार्यपालिका सजिलैसँग नीति परिवर्तन गर्न उत्साहित हुदैन् । नीति परिवर्तन गर्दा जनता वा सरोकारवालाहरुको विरोध हुन्छ । आलोचना हुने र आवधिक निर्वाचनमा हार खेप्नु पर्ने डरले नीतिहरु वर्षौंसम्म बढोत्तरी सिद्धान्तमा बन्ने र देशमा आमूल परिवर्तन हुन नसक्ने रहन्छ । कतिपय अवस्थामा नीति उपयोगविहीन तथा समय र परिस्थितिअनुरुप नहुँदा पनि प्रचलनमा रहिरहेको पाइन्छ ।

भेन्यु सपिङका केही तथ्यहरु

भेन्यु सपिङ प्रजातान्त्रिक शासन प्रणालीमा उपयोग गरिने एक राजनीतिक रणनीति हो । जब कुनै नीति एकभन्दा बढी निकायको कार्यक्षेत्रभित्र पर्छ तब नीति एकाधिकार पाउने निकायको सट्टामा पहिलेदेखि बञ्चित समूह भेन्यु सप गरी अर्को निकायमा जान्छन् । अर्थात आफूलाई सहयोग गर्ने संस्था छनोट गरी आफ्नो चाहना अनुरुपको नीति निर्माण गर्छन् । भेन्यु सपिङको रणनीतिका केही तथ्यहरु देहाय बमोजिम छन् ।

  • सीमित विवेकशीलता : नीति निर्माताले समाजमा रहेका सबै समस्या एकैपटक समाधान गर्न सक्दैन । सूचनाको अभाव, बजेटको अभाव, पर्याप्त विकल्पको खोजी र तिनको विश्लेषणका लागि समयको कमी तथा नीति निर्माणसम्बन्धी ज्ञानको कमीजस्ता कारणले नीति निर्माणलाई सीमित बनाउँछ । नीति निर्माता सबै समस्यालाई समान महत्व नदिएर केहीलाई मात्र महत्व दिन्छ र नीति बनाउँछ । अरु समस्याहरु थाती नै रहन्छन् ।
  •  शक्ति र एजेण्डा : नीति परिवर्तनले समाजमा सकारात्मक र नकारात्मक प्रभाव पार्ने गर्छ । नीतिबाट लाभ लिइरहेको पक्ष नीतिको पक्षमा र नीतिको अभावमा समस्या भोगिरेहेका वर्ग विपक्षमा उभिने हुन्छ । शक्तिमा पहुँच भएकाहरुले तात्कालिक घटनाका आडमा नीति निर्माणको एजेण्डा निर्धारण गर्दछन् ।
  •  नीति मागको फार्मिङ (निर्माण) : नीति निर्माणका लागि पेश गरिने प्रस्तावको ढाँचा निमार्ंण एक कला हो । नीति निर्माणको प्रस्ताव जति राम्रो लेख्यो (फार्मिङ गर्‍यो), त्यति नै राजनीतिज्ञले बुझ्ने भएकाले नीति निर्माण सहज हुन्छ ।
  • नीति एकाधिकार : सरकारलाई संविधानतः नीति निर्माणको एकाधिकार हुन्छ । सार्वजनिक नीति जनताका लागि निर्माण गरिने भएकाले जनताको चासो हुनु स्वाभाविक हुन्छ । जनताको चासो बढ्दै गएको परिपे्रक्ष्यमा नीति विद्धान वाउम्गोटनर र जोन्सले एकाधिकारलाई चुनौति दिँदै नीति निर्माण अन्य निकाय वा स्थानबाट पनि सम्भव हुन्छ भनेर भेन्यु सपिङका अवधारणा ल्याएका थिए ।
  • भेन्यु सपिङ : नीति निर्माणका लागि एकाधिकार प्राप्त निकाय भेन्यु अर्थात कार्यपालिका (सरकार) को बदलामा अन्य भेन्युबाट पनि आफ्नो अनुकुलको नीति निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले नीति एडभोकेसी समूहले अन्य भेन्यु व्यवस्थापिका वा अदालत छनोट गर्नु भेन्यु सपिङ हो । भेन्युको भूमिका मिडियाले पनि निर्वाह गर्न सक्छ । कुनै भेन्युमा वा सरकारको तहमा आफ्नो अनुकुलको निर्णय हुन सकेन भने आफ्नो चाहना पूरा गर्न भेन्यु परिवर्तन गर्ने गरिन्छ ।
  •  संकट र तात्कालिक घटना : समाजमा विवाद वा समस्या जे भए पनि सो को समाधानका लागि कुनै निदान नभएको अवस्थामा कुनै एउटा तात्कालिक घटना (ट्रिगरिङ घटना) ले नीति निर्माता वा राजनीतिज्ञको ध्यान आकृष्ट गर्न सक्छ । राजनीतिज्ञहरुको ध्यानार्कषणका लागि आलोचनात्मक समूहको महत्व अझ बढी रहन्छ ।
  • समस्याको मापन : समस्याको मापन सजिलो हुँदैन । यद्यपि समस्या समाधानका लागि नीति निर्माण गर्नुपर्ने हुन्छ, जुन कठिन हुन्छ । जस्तो कि गरिवी, सामाजिक छुवाछुत, लैगिंक भेदभाव जस्ता समस्या सजिलै नाप्न सकिँदैन ।
  • पोलिसी इमेज : सार्वजनिक नीतिसम्बन्धी कार्यानुभवका सूचना र भावनात्मक अनुभूतिको मिश्रण हो, पोलिसी ईमेज । नयाँ पोलिसी ईमेजले नयाँ सहभागीलाई आर्कषण गर्छ ।

सार्वजनिक नीति के हो ?

सार्वजनिक नीतिका लेखक थोमस डे भन्छन् ‘सरकारले के गर्ने, के नगर्ने भनेर जे छनोट गर्छ, त्यो नै सार्वजनिक नीति हो ।’ कुनै समस्या वा सरोकारको विषयमा एक वा बहुकर्ताहरुद्वारा अवलम्वन गरिने कार्यको उद्देश्यमूलक ढाँचालाई जेम्स एण्डरसनले सार्वजनिक नीति भनेका छन् । पहिले सार्वजनिक नीति निर्माण राजनीतिक विषयको रुपमा मात्र हेर्ने गरिन्थ्यो । तर, अहिले सार्वजनिक नीति सरकारको मात्र चासो होइन भन्ने दृष्टिकोणले ठाउँ लिँदै गएको पाइन्छ ।

सार्वजनिक नीति निर्माणको आफ्नै एउटा प्रक्रिया हुन्छ । जनताका माग वा सरकारले चुनावी घोषणापत्रमा व्यक्त प्रतिवद्धतालाई नीतिमा रुपान्तरण गर्न कर्मचारीतन्त्रले महत्वपूर्ण भूमिका खेल्छ । कर्मचारीतन्त्रसँग, सूचना, अनुभव र नीति पारित गर्ने टयाक्टिस हुन्छ । नीति प्रस्ताव भएपछि नीतिको विहंगम विश्लेषण हुन्छ र नीति निर्माण गर्ने-नगर्ने निर्णय लिइन्छ ।

सरोकारवालाहरुले यस चरणमा आइपुगेपछि नीति आफ्नो स्वार्थ अनुकुल छ छैन् अध्यन गरी नीतिको विरोध वा सर्मथन गर्छन् । सरकारलाई जनताको माग, आफ्नो घोषणापत्रमा व्यक्त वचनवद्धता तथा अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता पूरा गर्न नीति बनाउनुपर्ने नै हुन्छ ।

सार्वजनिक नीतिमा एण्डरसनले भनेझैं नीति सम्वद्ध धेरै कर्ताहरु सक्रिय हुन्छन् । विश्वमा गरिने सभा सम्मेलनहरुदेखि देशभित्रका सडकमा जनताले उठाएका माग र गरेका नारावाजी सबै सार्वजनिक नीतिको विषय क्षेत्रभित्र पर्ने कारण नीतिका सरोकारवालाहरु राष्ट्रिय-अन्तराष्ट्रियरुपमा नै सक्रिय भएको पाइन्छ ।

हित समूहहरुको राष्ट्रिय-अन्तराष्ट्रियरुपमा नै नेटवर्क छ । वर्तमान अवस्थामा नयाँ सार्वजनिक नीति निर्माण वा भैरहेको सार्वजनिक नीति परिवर्तनमा हित समूहहरुले राजनीतिक सामीप्य, सूचनाको पर्याप्तता, आर्थिक सामथ्र्य र नेटवर्कका कारण कर्मचारीतन्त्रको भूमिकालाई छायाँमा पार्दै गएको देखिन्छ ।

पङचुएट सन्तुलन सिद्धान्त र भेन्यु सपिङ

भेन्यु सपिङको सिद्धान्तलाई विश्लेषण गर्न फ्रयाङक आर बाउम्गार्टनर र ब्रायन डी जोन्सले पङचुएट सन्तुलनको सिद्धान्तलाई अगाडि ल्याएका छन् ।

नीति निर्माण गर्ने एकाधिकार सरकार अर्थात कार्यपालिकाको हुन्छ । सरकार समाजमा उत्पन्न वा देखिएका वा मागिएका सबै विषयमा नीति बनाउन तत्पर देखिँदैन । सरकारलाई नीति बनाउँदा जनविरोध हुने भयले गाँजिरहेको हुन्छ । एउटा नीति बनाएर सयौं समस्याहरुलाई बेवास्ता गरिरहेको हुन्छ । सरकारको उदासीनताले कैयौं नीतिहरु बर्षौंसम्म पनि परिवर्तन नहुने र परिवर्तन भैहाले पनि सामान्य बढोत्तरीमा मात्र हुने स्थिति हुन्छ । कहिलेकाँही कुनै-कुनै नीति सरोकारवालाको दबाबमा (जस्तै- वैदेशिक रोजगार नीति) छिटो-छिटो परिवर्तन भैरहेका हुन्छन् । यो अध्ययनको एउटा रोचक विषय हो ।

पङचुएट सन्तुलन सिद्धान्तले सार्वजनिक नीतिमा पाइने दीर्घकालीन स्थिरता परिवर्तनको झोक्काले छोटो समयमा छिटो-छिटो हुने महत्वपूर्ण र अविश्वसनीय नीति परिवर्तनको मापन र विश्लेषण गर्छ । लामो स्थिरता परिवर्तनमा बिराम लाग्छ र नयाँ सुरुवात हुन्छ । नीति निर्माणको सन्र्दभमा नीति निर्माण गर्ने निकायको एकाधिकारलाई सहयोग गर्ने संस्था अर्थात नीति समुदाय र नीति निर्माणको प्रक्रियाबाट अलग राखिएको समुदायबीचको सन्तुलन तथा नीति यथावत राख्ने र नीतिमा परिवर्तन गर्ने बीचको सन्तुलनको विश्लेषण पङचुएट सन्तुलन हो ।

नीति एकाधिकारमा कमजोरी आउनासाथ नयाँ नीतिको सिर्जना हुन जान्छ । र, पहिले अलग्याइएको -पङचुएट गरिएको) समूह नीति निर्माणमा सहभागी हुन्छ । नीति निर्माणमा समस्या समाधानका लागि तयार गरिएको नीतिगत ढाँचा (फार्मिङ) ले राजनीतिज्ञको ध्यान आर्कषित गर्छ । सो विषयले छलफलका लागि नीतिगत एजेण्डामा महत्वपूर्ण स्थान पाउँछ र नयाँ नीति बन्छ ।

नीति निर्माण प्रक्रियामा भेन्यु सपिङको भूमिका

भेन्यु सपिङ एक प्रजातान्त्रिक प्रक्रिया नै हो, जसले विकल्पहरुको छनोटलाई प्रवर्द्धन गर्छ । फ्रयाङ्क आर वाउम्र्गाटनर र ब्रायन डी जोन्स हित समूहले आफ्नो माग पूरा गर्न औपचारिक र अफिसियल भेन्युको सट्टामा अनौपचारिक र अनअफिसियल भेन्यु तथा सरकारका तहहरु संघ, प्रदेश र स्थानीय तह छनोट गर्दछन् र आफ्नो स्वार्थसिद्ध कसरी गर्छन् भनी सोको अध्ययन गर्ने एक विधाकारुपमा भेन्यु सपिङको अवधारणा अगाडि सारेका हुन् ।

नीति निर्माणमा रहेको सरकारको एकाधिकारलाई चुनौती दिने हो भने नयाँ नीति समुदाय र नयाँ नीतिको जन्म हुन्छ भन्ने बुझाइ भेन्यु सपिङको रहेको छ । यसले नीति निर्माणका लागि कार्यपालिकीय एकाधिकार समाप्त गर्दै वैकल्पिक भेन्यु देखाएको छ र नीति निर्माणलाई प्रजातान्त्रिक र प्रतिस्पर्धात्मक बनाएको छ ।

भेन्यु सपिङले नीति निर्माणमा समावेश नगरिएको वर्ग सहभागी बन्ने वातावरण पनि निर्माण भएको छ । यसले नीति निर्माताका लागि निरन्तरको परिवर्तन र परिवर्तनलाई आत्मसात गर्नुपर्ने आवश्यकतालाई पनि एकसाथ उद्घाटन गरेको छ ।

सानै परिवर्तनले पनि नीति परिवर्तन ठुलै हुन सक्छ । नीति निर्माणमा रहेको स्थिरतालाई भङ्ग गर्दै नीतिमा गरिएको आमूल परिवर्तनले समाजमा पनि आमूल परिवर्तन ल्याउँछ भन्ने विश्वास भेन्यु सपिङको रहेको छ । तर, भैरहेको स्थिरतामा विचलन आउँदा राजनीतिक सन्तुलन नै बिग्रन सक्छ भने हरेक संस्था वा निकाय प्रचलित नियम कानूनअनुरुप चल्नुपर्ने प्रक्रियालाई भेन्यु सपिङले समेट्न सकेको छैन । भेन्यु सपिङ रणनीतिको हुबहु अवलम्वन सहज नभए पनि नीति निर्माणका लागि भेन्यु सपिङ विकल्पको खोजी र छनोट एउटा रणनीति हो ।

भेन्यु सपिङ सार्वजनिक नीति निर्माण वा परिवर्तन वा परिमार्जनको एउटा रणनीति हो । खासगरी नीति निर्माण प्रक्रियामा बर्षौंदेखि सहभागी नभएको समुदायले आफ्नो अनुकुलको नीति निर्माण गर्न औपचारिक प्रक्रियामा पहुँच नभएपछि वैकल्पिक बाटो खोज्न बाध्य हुने कारण भेन्यु सपिङ उनीहरुका लागि राम्रो भरोशा बनेको छ ।

भेन्यु सपिङले औपचारिक नीति निर्माण प्रक्रियालाई चुनौति दिएकाले औपचारिक नीति निर्माण प्रक्रियामा सुधार गर्ने वा नीति साहित्यमा भेन्यु सपिङलाई औपचारिक प्रक्रियाकै एउटा हाँगोका रुपमा स्वीकार गर्नु उपयुक्त देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment