Comments Add Comment

यसरी खोसिँदैछ दाम्पत्य सुख ?

अक्सर श्रीमान्-श्रीमती जीवनको अन्तिम समयसम्म खुशीका साथ जीवन व्यतित गर्ने अभिलाषा राख्छन् । तर, कतिपय दम्पतीबीचको सम्बन्ध तनावमय हुन्छ । त्यसको प्रमुख कारण भनेको एक-अर्कासँग धेरै अपेक्षा राख्नु हो । विवाह अगाडि श्रीमान्-श्रीमतीले एक-अर्काबाट धेरै अपेक्षा राखेका हुन्छन् । तर, जिन्दगीभरी साथ निभाउनका लागि जुन कुरा आवश्यक पर्छ, त्यो उनीहरुसँग हुँदैन ।

प्रारम्भमा जब केटा-केटी एक-अर्काको नजिक आउँछन् । त्यो समयमा उनीहरुलाई आफूहरु एक-अर्काको लागि नै बनेको हो र उनीहरुको साथी जस्तो यो संसारमा अरु कोही छैन जस्तो लाग्छ । उनीहरुलाई एक-अर्काको बानी व्यवहार पनि मिल्दो-जुल्दो लाग्छ । तर, विवाहको केही वर्षपछि नै उनीहरुलाई एक-अर्काप्रतिको भावनाहरु शून्य लाग्न थाल्छ । जब यस्तो अवस्था आउँछ त्यसले वैवाहिक जीवनलाई नष्ट अथवा बर्बाद पार्न सक्छ । कुनै वैवाहिक जीवन सफल हुन्छ भने कुनै बीच बाटोमा नै टुङ्गिन्छ । यस्तो किन हुन्छ भन्ने कुरा थाहा पाउन निम्न कुराहरुलाई ध्यान दिनुपर्छ ।

आवश्यक भन्दा बढी आशावादी हुनु

काठमाडौंकै एउटी युवती पि्रयालाई जब राहुलसँग प्रेम भएको थियो । राहुल उनलाई आफ्नो सपनाको राजकुमार हो भन्ने लागेको थियो । राहुल जस्तो संसारमा अरु कोही छैन । अब उनको जीवनमा रोमान्स नै रोमान्स हुन्छ । दुबै एक-अर्काको अँगालोमा बेरिएर हाँस्दै-खेल्दै जीवन बित्छ भन्ने सोच्थिन् । तर, विवाहको केही वर्षपछि स्नेहाले आफ्नो सपनाको राजकुमारमा एउटा शैतान जस्तै देख्न थालेकी थिइन् ।

किनभने स्नेहाले जे आफ्नो श्रीमान्बाट अपेक्षा राखेकी थिइन्, त्यो अलिकति पनि पाइनन् । प्रेम कथा भएको फिल्महरुले रोमान्टिक गीतमा प्रेमको त्यस्तो तस्बिर पेस गर्छन् । जसमा हामी वास्तविकता देख्न थाल्छौं । तर, यो यर्थाथभन्दा टाढा छ भन्ने कुरा हामी बिर्सन्छौं । विवाहभन्दा पहिलाको भेटघाटमा केटा-केटीलाई उनीहरुको सबै सपना साकार हुन्छ भन्ने लाग्छ । तर, विवाहपछि उनीहरुलाई आफू सपनाको संसारमा नै हराएको अनुभव हुन्छ । श्रीमान्- श्रीमतीले एकअर्कासँग अपेक्षा राख्नु गलत कुरा होइन । तर, पूरा गर्न नसकिने अपेक्षा राख्नुहुँदैन ।

आपसी तालमेलको कमी

कति महिलाहरु आफू र आफ्ना श्रीमानको हरेक कुरामा एकदम फरक राय भएको बताउँछन् । त्यस्तै कति दम्पतीको विचार पूर्व र पश्चिम जस्तो हुन्छ । कति त आफ्नो विवाह गर्ने निर्णय नै पछुताउने गर्छन् । विवाहपछि कति दम्पतीले आफूहरु एक-अर्काले सोचे जस्तो नभएको गुनासो पनि गर्छन् ।

वास्तवमा विवाहपछि मानिसको गुण स्पष्ट देखिन्छ । जुन कुरालाई विवाह अगाडि बेवास्ता गरिएको हुन्छ । यसको परिणाम विवाहको केही वर्षपछि नै श्रीमान्-श्रीमती एक-अर्कासँग कुनै किसिमको तालमेल नमिल्ने नतिजामा पुग्न सक्छन् ।

एक-अर्कासँग विचार नमिल्दा-नमिल्दै पनि कतिपय जोडीहरु समाज र मानिसहरुले के भन्छन् भन्ने डरले विवाहको बन्धनमा बाँधिरहन्छन् । उनीहरुलाई यो सम्बन्ध निभाउने कि टुक्राउने भन्ने कुरामा अन्योल हुन्छ ।

झैं-झगडा

भनिन्छ, श्रीमान्-श्रीमतीको झगडा परालको आगो । त्यसैले त्यस्ता कुनै पनि दम्पती छैनन्, जसको बीचमा मनमुटाव र झगडा हुँदैन । तर, त्यो झगडाले ठूलो रुप लियो भने के गर्ने ? यदि वैवाहिक बन्धन बलियो छ भने श्रीमान्-श्रीमतीलाई संकोच नमानी एक-अर्कासँग गुनासो गर्न सक्छन् भन्ने लाग्छ । तर, प्रायः रिसको झोकमा गुनासो गर्दा नोक्सान हुन्छ र त्यस माध्यमले आफ्नो साथीको चरित्र प्रश्न उठाउने काम हुन्छ । जुन कुरा दुबैले सहन सक्दैनन् र झगडा बढ्न थाल्छ । जब श्रीमान्-श्रीमती रिसको झोकमा अनियन्त्रित हुन्छन् । तब उनीहरुको घर, घर नभएर एउटा लडाईंको मैदान बन्छ र त्यसमा उनीहरुको बच्चा पिसिन्छन् ।

झगडा सुल्झाउनुभन्दा उनीहरु आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरुको शब्द कुन समयमा हतियारको रुप लिन्छ भन्ने कुरा थाहा हुँदैन । झगडा जब नियन्त्रणभन्दा बाहिर जान्छ । त्यो समयमा सबैभन्दा धेरै नोक्सान त्यस समयमा हुन्छ । जब श्रीमान्-श्रीमती एक-अर्कालाई त्यस्ता वचन लगाउँछन् । जसले उनीहरुको जीवनलाई खतरामा पारिदिन्छ । त्यसैले त्यस्ता कुराहरु भन्नु हुँदैन ।

सम्बन्ध बिग्रने कारण

विवाह गरेको केही वर्षपछि आफ्नो वैवाहिक जीवनबाट दिक्क भएर एउटी श्रीमतीले के भनिन् भने अब उनलाई पुग्यो । आफ्नो वैवाहिक जीवनलाई बचाउँदा-बचाउँदै उनी थाकिसकिन् ।

उनलाई के थाहा छ भने जब उक्त सम्बन्धबाट कुनै फाइदा छैन भने त्यो सम्बन्धलाई किन बचाउने कोसिस गर्ने ? अब उनलाई केवल आफ्ना बच्चाहरुको मात्र चिन्ता छ ।

भनिन्छ, जब श्रीमान्-श्रीमती एक-अर्कालाई प्रेम गर्छन्, उनीहरुले सबै कुरा बिर्सिएर आफूलाई एक-अर्कामा समाहित गर्छन् । तर, जब विकर्षण बढ्न थाल्छ, त्यो बढेको बढ्यै हुन्छ । एक-अर्कासँग तुष बढ्न थाल्छ । तर, केही श्रीमान्-श्रीमतीहरु आफ्नो सम्बन्धलाई टिकाइराख्छन् । किनभने उनीहरुसँग अरु कुनै विकल्प नै हुँदैन । यस बारेमा कोही मन नलागी-नलागी विवाहको बन्धनमा बाँधिनु भनेको त्यस्तो जागिर खानु जस्तो रहेको बताउँछन् ।

तपाईंले आफ्नो तर्फबाट लाख राम्रो गर्ने प्रयास गर्नुहुन्छ । तर, तपाईंको अघिल्तिरको व्यक्तिलाई उक्त कुराको कदर नै हुँदैन । निराशा, तालमेलको कमी, लडाईं झगडा तथा विकर्षण आदि महत्वपूर्ण कारणहरु हुन् । जसले श्रीमान्-श्रीमतीबीचको प्रेममा कमी ल्याइरहेको हुन्छ । तर, के यी मात्रै वैवाहिक जीवन टुंगिने कारणहरु हुन् त ?

श्रीमान्-श्रीमतीको झगडा गर्ने अन्य कारणहरु

पैसा

श्रीमान्-श्रीमतीको बीचमा पैसा एउटा संवदेनशील मुद्दा बनिरहेको हुन्छ । यदि दुबै जागिरे छन् भने उनीहरुको आम्दानीलाई कसरी खर्च गर्ने अथवा कहाँ लगानी गर्ने भन्ने कुराले विवाद प्रारम्भ हुन्छ । त्यही विवादले पछि झगडाको रुप लिन्छ । त्यसकारण त्यस्तो झगडाबाट बच्नका श्रीमान्-श्रीमती मिलेर हरेक महिना बजेट बनाउनु पर्छ । जहाँ पैसा लगानी गरिन्छ, त्यसको जानकारी दुबैलाई हुनुपर्छ ।

जिम्मेवारीहरु

प्रायः के हुन्छ भने श्रीमान्-श्रीमतीको प्रेम पहिलो बच्चा जन्मिने बित्तिकै घट्न थाल्छ र पहिलाको तुलनामा धेरै झगडा हुन थाल्छ । केही हदसम्म यसको कारण के हो भने दुबै आफ्नो कामबाट यति थाकेका हुन्छन् कि स्वयंका लागि समेत उनीहरुलाई फुर्सद हुँदैन ।

धोका

एक-अर्कामाथि भरोसा सफल वैवाहिक जीवनका लागि अति नै अनिवार्य मानिन्छ । एक-अर्कामाथि भरोसा हुन छाड्नुले श्रीमान्-श्रीमतीको सम्बन्धलाई नै बर्बाद बनाउन सक्छ ।

लैंगिक सम्बन्ध

दुबैबीच चाहे जति नै मनमुटाव भएपनि यदि उनीहरुबीच यौन सम्बन्ध कायम भइरहेको छ भने झगडा, मनमुटावजस्ता कुराहरु लामो समयसम्म टिक्दैन । तर, उनीहरुबीच त्यही यौन सम्बन्ध पनि भइरहेको छैन भने उनीहरुको सम्बन्धबिच्छेद हुन समेत बेर लाग्दैन ।

हस्तक्षेप

श्रीमान्-श्रीमतीको सम्बन्धमा हस्तक्षेप गर्नु, श्रीमान्-श्रीमतीको सम्बन्धमा कुनै तेस्रो पक्षको हस्तक्षेप अथवा यौनमा सन्तुष्टि नहुने कारण कुनै अर्कै व्यक्तिलाई मन पराउन थाल्नु पनि मनमुटावको कारण बन्न थाल्छ ।

बच्चाहरुलाई कस्तो पर्छ प्रभाव ?

तपाईंको वैवाहिक जीवन कस्तो छ ? त्यसको प्रत्यक्ष प्रभाव बच्चाहरुमा पर्छ । वैवाहिक जोडीहरुमाथि करिब २० वर्षसम्म गरिएका अध्ययनले के पत्ता लगाएको छ भने खुशी नहुने बुबा-आमाका छोरा-छोरीहरुमा हृदयको गति तेज हुन्छ । खासगरी कुनै पनि खेल खेलेपछि उनीहरुको हृदयको गति तीब्र हुन्छ । जसलाई कम हुन निकै धेरै समय लाग्छ । बुबा-आमाको दिनरातको झगडाका कारण बच्चाहरुले पढाईमा पनि राम्रो अंक ल्याउन सक्दैनन् । यद्यपि उनीहरुको पढाई भने राम्रै हुन्छ ।

अर्कोतिर, जुन श्रीमान्-श्रीमतीमा राम्रो तालमेल हुन्छ, उनीहरुका बच्चाहरु पढाईका साथसाथै सामाजिक कार्यक्रममा पनि उत्तिकै उत्कृष्ट हुन्छन् । श्रीमान्-श्रीमतीको सम्बन्धमा मनमुटवा नहोस्, सम्बन्ध नबिगि्रयोस्, दाम्पत्य जीवन सुखमय होस्, वैवाहिक जीवनमा कुनै पनि समस्या नआओस् भन्नका लागि हरेक श्रीमान्-श्रीमतीले आपसी समस्याहरु स्वयंले समाधान गर्नुपर्छ । तेस्रो व्यक्तिलाई आफ्नो निजी जीवनमा हस्तक्षेप गर्ने मौका दिनै हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment