
२० मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको कुस्ती प्रतियोगितामा भारतले पहिलो दिन नै चारवटा स्वर्ण जितेको छ ।
दुई महिला र दुई पुरुष इभेन्ट गरी चार स्पर्धामा भारतले चार स्वर्ण जित्दा नेपालले एक रजत र तीन कास्य पदक जितेको छ । श्रीलंकाले तीन वटा रजत र एउटा कास्य पदक जित्दा पहिलो दिनको खेलमा बंगलादेशका खेलाडीहरु पदकविहीन रहे ।
महिलातर्फको ५० किलो तौल समूहमा भारतकी शितल तोमरले स्वर्ण जित्दा श्रीलंकाकी निरोशानीले रजत र नेपालकी मनिषा सिंहले कास्य जितेकी छन् ।
महिलातर्फकै ५३ किलो तौल समूहमा भारतकी पिंकी कुमारीले स्वर्ण, नेपालकी शिबानी दुबेले रजत र श्रीलंकाकी समिकाले कास्य जितिन् । पुरुषतर्फको ५७ किलो तौल समूहमा भारतका राहुलले स्वर्ण जित्दा श्रीलंकाका काथोरंगनाले रजत र नेपालका नरेश यादवले कास्य जिते ।
पुरुषतर्फकै ६५ किलो तौल समूहमा भारतका अमितले स्वर्ण जित्दा श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक हात पारेका छन् । २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि कुस्ती प्रतियोगिता भइरहेको छ । बाँकी पदकका लागि शनिबार बिहानदेखि खेल शुरु हुनेछ ।
प्रतिक्रिया 4