Comments Add Comment

अकुपाई टुँडिखेल : खेलाडीको उपस्थितिमा गरियो प्रदर्शन

फाइल फोटो

२१ मंसिर, काठमाडौं । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानको पाँचौ दिन शनिबार खेलाडीहरु सहभागी भएका छन् । ‘देशका लागि खेलाडी, खेलाडीका लागि टुँडिखेल’ भन्ने नाराका साथ अभियानको पाँचौ कार्यक्रम सम्पन्न गरिएको हो ।

शनिबार टुँडिखेलभित्र आयोजना गरिएको कार्यक्रममा खुला स्थानको महत्वबारे चर्चा गरियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमै चलिरहेको कारण पनि पाँचौ कार्यक्रममा खेलाडी जोडिएको हो ।

मैदान भनेको खेलकुद क्षेत्रको आधारभूत पूर्वाधार भएको र मैदानमा छेकबार लगाएसम्म कुनै पनि राष्ट्रको खेलकुद क्षेत्र विकास हुने कल्पना गर्न नसकिने अभियानका अभियन्ता आलोक तुलाधरले बताए ।

देशका लागि खेलाडी चाहिने र खेलाडीको क्षमता विकासका लागि खुला स्थान चाहिने भएकाले अभियानमा खेलाडीलाई जोडिएको अभियन्ता तुलाधरले बताए । कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडीहरू विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, हेमान गुरुङ, रिजन धिमाल लगायतका खेलाडीहरु सहभागी भएका छन् ।

खुलामञ्चलाई मानव सांग्लोले घेरेर शुरु भएको अकुपाई अभियान ३ महिना चल्नेछ । यसभन्दा अघि अभियानले टुँडिखेलमा साहित्यक सम्मेलन गरेर सार्वजनिक सम्पत्तिको महत्वबारे चर्चा गरिएको थियो ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सर्वसाधारणको पहुँचमा छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङस्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment