Comments Add Comment

गढीमाई मेला : बलि मात्र हैन, अपार व्यापार पनि

१९ मंसिर, वीरगञ्ज । बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला भन्ने वित्तिकै विश्वमा सबभन्दा धेरै वशुबलि दिइने स्थानको रुपमा चर्चा हुन्छ ।

यो साल १ मंसिरबाट सुरु भएको मेलामा १७ र १८ गते बलिको दिन तोकिएको थियो । १७ गते मंगलबार पञ्चबलि दिइसकेको सूचना फैलिएपछि गढीमाई मन्दिर परिसर भन्दा करिब तीन किलोमिटर परको पसाहा खोला किनारदेखि नै बलि दिन शुरु भएको थियो ।

ठूलो संख्याको पशुबलिका कारण चर्चित यो मेलाको आर्थिक र मनोरञ्जनात्मक पक्ष भने सधैं ओझेलमा पर्ने गरेको छ । जबकी, लाखौं मानिस ओइरिने यो मेलामा गढीमाईबाट भाकल पूरा भएको भन्दै बलि चढाउन आउने केही हजार मात्र हुन् । अधिकांश मानिस त रमिता हेर्न, देवीको दर्शन, किनमेल र मनोरञ्जन गर्न आएका हुन्छन् । उनीहरुबाट करोडौंको आर्थिक कारोबार हुने गरेको छ ।

तर, मेलाको बजार अस्तव्यस्त छ । धुलाम्य सडक किनारमा परिकार पकाएको जताततै देखिन्छ । शौचालयको प्रबन्ध नहुँदा सबैले जथाभावी मल–मूत्र त्याग गर्छन् । श्रृङ्गारका सामाग्री र तातो–तातो जेरी, पकौडा, चाउमिन र मःमदेखि माछामासुका परिकारका पसल फोहोर ठाउँमा छन् । रोटेपिङलगायतका खेल तमासादेखि नरिवल, ध्वजालगायतका प्रसादी व्यापार पनि त्यहीँ हुन्छ ।

हरेक पञ्चवर्षीय मेलामा अलैंची दाना र पातलो चिउराको पसल राख्न आइपुग्ने दरभंगा (भारत, बिहार)का गौतम कुमार गढीमाईका करिब ८० प्रतिशत दर्शनार्थी भारतीय हुने बताउँछन् । उनका अनुसार, त्यही अनुपातमा व्यापारी पनि भारतबाट आउँछन् । सबैले केही न केही कमाएरै लैजाने उनले बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) को वीरगञ्ज महानगरपालिका समिति अध्यक्ष ओमप्रकाश सर्राफ लाखौं मानिस आउने गढीमाई मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन हुन नसकेको बताउँछन् । ‘सरसामान र व्यापारी भारतबाटै आउँछन्, नाफा पनि उतै गइरहेको छ’, उनी भन्छन्, ‘अब स्थानीय उत्पादन र व्यापारीले पनि फाइदा लिन सक्ने वातावरण बन्नुपर्छ ।’

मेलामा भारतीय र चाइनिज समान बढी पाइन्छ ।

समन्वय नै हुन्न : व्यवसायी

गढीमाई मेलामा आउने दर्शनार्थीबाट व्यापारिक लाभ लिन सकिनेमा बाराका उद्योगी व्यवसायी सहमत छन् । तर, त्यसका लागि मेला आयोजना गर्दा नै समन्वय हुनपर्ने उनीहरु बताउँछन् । बारा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सञ्जय गुप्ता गुप्ता भन्छन्, ‘मेला–महोत्सव आफैंमा आर्थिक कारोबारको थलो भएकोले गढीमाई मेलामा पनि स्तरीय बजार सिर्जना गर्न सकिन्छ, तर हामी समन्वयमै चुकिरहेका छौं ।’

मेला अगाडि नै चुस्त समन्वय गर्नुपर्ने पञ्चवर्षीय मेला मूल समितिले भने अश्लील ‘अर्केष्टा’ सञ्चालन गर्न दिएको कारण आलोचना खेपिरहेको छ । जोखिमपूर्ण मानिने ‘मौतका कुवा’ पनि प्रदर्शन गरिएको  छ ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह भने गढीमाई ट्रष्ट र गढीमाई नगरपालिकाबीच विवाद हुँदा यसपालिको मेलामा बजार झन अस्तव्यस्त भएको बताउँछन् ।

‘स्थानीय उत्पादन प्रदर्शनी राख्ने, बजारलाई व्यवस्थित बनाउने सोच भएपनि मेला शुरु हुनु अघि ट्रष्ट र नगरपालिकाबीचको विवाद मिलाउँदैमा समय बित्यो’, साहले भने, ‘त्यसैले, यसपालि नेपाली व्यापारी खुशी छैनन् ।’

एक करोड ८७ लाखको ठेक्का

मुलुक संघीय व्यवस्थामा गएपछिको पहिलो गढीमाई मेला हो यो । विगतमा मेला आयोजक गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति (गढीमाई ट्रष्ट) र स्थानीय सरकारबीच द्वन्द्व हुँदा प्रमुख जिल्ला अधिकारीलगायतको समन्वयमा दुवै समूहलाई मिलाएर गढीमाई पञ्चवर्षीय मेला मूल समिति बनाएर मेला सञ्चालन गरिन्थ्यो ।

ट्रष्टको निर्वाचन प्रतिनिधिसभा सदस्य निर्वाचनलाई माथ गर्ने खालको हुन्थ्यो । यो सबको कारण गढीमाई मेलाबाट हुने आम्दानीलाई मानिन्थ्यो । ट्रष्ट सञ्चालनको पारदर्शितामा प्रश्न उठ्ने गरेको थियो ।

मूल समितिका महासचिव एवंं ट्रष्टको तत्कालिन सचिव मोतिलाल कुशवाह पाँच वर्षअघिको मेलामा खर्च कटाएर ५९ लाख रुपैयाँ बचेको बताउँछन् । ‘११ करोड आम्दानी भन्ने झुटो हो’, उनी भन्छन्, ‘सबै कटाएर ५९ लाख रुपैयाँ बचेको चाहिँ साँचो हो ।’

भक्तजनले मातालाई चढाउने सुनचाँदी र नगद भेटीको हिसाब पारदर्शी नभएको आरोप लाग्दै आएको छ । सुन चाँदीलगायतका गर गहना र भेटी पुजारी समूहले लुकाउने गरेको आरोप लाग्दै आएको छ ।

यसपालि हाट बजार व्यवस्थापनका लागि जग्गा ६५ लाख र १ करोड २२ लाख रुपैयाँमा मनोरञ्जन ठेक्का लगाइएको र भेटी संरक्षण गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ । सात लाख रुपैयाँको पार्किङ शुल्क ठेक्का भने चौतर्फी विरोधपछि खारेज गरिएको थियो ।

नगर प्रमुख उपेन्द्र यादव मेलाको आम्दानी र खर्च पारदर्शी ढंगले सार्वजनिक गरिने बताउँछन् । यसपालि पुजारी जति नै स्वयंसेवक खटाएर भेटी संरक्षण गर्ने प्रयास थालेको उनले बताए । उनले भने, ‘कति सुनचाँदी र भेटी आम्दानी भएको छ, यस पटकबाट थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment