२१ मंसिर, काठमाडौं । उदयपुरको जिल्ला अस्पताल सुधारको माग गर्दै स्थानीय युवाले आन्दोलन शुरु गरेका छन् । केही दिन अघि भएको एम्बुलेन्स दुर्घटनामा उदयपुरका ७ जनाको मृत्यु भएको थियो ।
मृतकको शव लिएर अस्पताल पुग्दा अस्पतालको विजोग अवस्था देखेपछि स्थानीय आन्दोलित भएका हुन् । आन्दोलित स्थानीयले अस्पताल सुधारका विभिन्न माग राख्दै ७ दिनको समयसीमा दिएका छन् ।
आन्दोलनको नेतृत्व गरेका स्थानीय नेता किरण राईले अस्पतालमा सामान्य सेवा पनि सहज तरिकाले पाउने अवस्था नरहेकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता चलिरहेका बेला एम्बुलेन्स दुर्घटनामा परी ६ जना नातेदारको मृत्यु भए पछि राई उदयपुर पुगेका थिए । नेपाल फुटवल संघ (एन्फा)का प्रवक्ता समेत रहेका राई नेकपाका स्थानीय नेता हुन् ।

शव लिएर राति जादा राख्ने ठाउँ नभएको, चिकित्सक तथा अप्पतालका कर्मचारीहरु पनि नभेटिए पछि सुधारका लागि आन्दोलनमा जानुपरेको राईले बताए । ‘अस्पतालको अवस्था नै नाजुक छ, सामान्य उपचारका लागि चाहिने सामाग्री पनि उपलब्ध छैनन्’ राईले भने, ‘यस्तो अवस्था देखेपछि चुप लाग्न सकिएन, एक हप्ताभित्र पनि सुधार नभए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’
राई नेतृत्वको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका प्रमुख तथा त्रियुगा नगरपालिकाका मेयरलाई अस्पताल सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् । उनका अनुसार ७ दिनभित्र अस्पताल परिसरमा सरसफाइ गर्नुपर्ने, बिग्रिएका बत्ती मर्मत गर्नुपर्ने, सरकारकाबाट निःशुल्क उपलब्ध हुने औषधी उपलब्ध गराउनु पर्नेलगायतका माग अघि सारेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4