Comments Add Comment

किम्फमा एडमण्ड हिलारीको शतवार्षिक मनाइने

२२ मंसिर, काठमाडौं । राजधानीस्थित राष्ट्रियसभा गृहमा बुधबारदेखि सुरु हुने काठमाडौं इन्टरन्यासनल फिल्म फेस्टिभल (किम्फ) को अववसरमा सर एण्डमण्ड हिलारीको शतवार्षिकी मनाइने भएको छ । पाँच दिने फिल्म महोत्सवको सुरुवात नै हिलारी सम्बन्धी वृत्तचित्र ‘दि एसेनट अफ एभेरष्ट’ को प्रदर्शनीबाट गरिने आयोजकले जानकारी दिएको छ ।

हिलारी र तेन्जिङ नोर्गेले १९५३ मे २९ मा प्रथम पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । एन्टोनेलो पादोभानले निर्देशन गरेको ‘दि एसेनट अफ एभेरष्ट’ ५६ मिनेटको छ ।

‘फिल्मको अर्को रोचक पक्ष सर एडमण्ड हिलारीको ‘न्यारेशन’ हो’, आयोजक हिमाल एसोसियसनका अध्यक्ष बसन्त थापाले भने, ‘जसअन्तर्गत आरोहणका क्रममा भोग्नु परेका स्मरणीय अवस्थालाई हिलारीले फेरि सम्झिएका छन् र हामीलाई सुनाएका छन् ।’

भ्याइसेस फ्रम मार्जिन्स् (सीमान्त आवाज) ट्यागलाइन रहेको चलचित्र महोत्सवमा देखाइने चलचित्रहरूले समाजलाई झक्झक्याउने बहस सिर्जना गर्ने अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘फिल्म हेरिसकेपछि नेपाली समाजलाई तरङ्गित पार्ने खालका मुद्दाहरूबारे बहस गर्न महोत्सवका दर्शकहरू प्रेरित हुने विश्वास लिएका छौं ।’

२९ देशका ७९ फिल्म देखाउँदै

काठमाडौं महानगरपालिका सहआयोजक रहेको १७ औं किम्फमा प्रदर्शनका लागि २९ देशका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगात्मक चलचित्र गरी ७९ चलचित्र छनोट भएका छन् ।

अन्तराष्ट्रिय, नेपाल पानोरमा र लघुफिल्म विधामा उत्कृष्ट चलचित्रहरू पुरस्कृत हुने किम्फकी निर्देशक रमयता लिम्बुले जानकारी दिइन् । लिम्बुका अनुसार अन्तराष्ट्रिय चलचित्र मध्ये प्रथमले दुई लाख, द्वितीयले एक लाख पचास हजार र तेस्रोले एक लाख रुपैंयाँ पुरस्कार पाउने छन् । अन्तराष्ट्रिय विधातर्फ १७ वटा चलचित्र प्रतिस्पर्धामा छन् ।

नेपाल पानोरमातर्फ उत्कृष्ट चलचित्रले एक लाख र ७५ हजार तथा सर्वाधिक दर्शक छनोटमा परेको एउटा चलचित्रले ७५ हजार रुपैंयाँ पुरस्कार पाउने छ । नेपाल पानोरोमातर्फ १७ चलचित्र प्रतिस्पर्धामा छन् । पुरस्कारहरू डकुमेन्ट्री निर्देशक छिरिङ रितार, नेपाल पर्यटन बोर्ड र ओस्कर कलेजले प्रायोजन गरेका हुन ।

यस्तै, युवाहरू प्रोत्साहित गर्ने उद्धेश्य रहेको लघुफिल्म प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतियालाई २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । लघुफिल्मतर्फको पुरस्कार टोनी हागन फाउण्डेसन प्रायोजन गरेको हो ।

उत्कृष्ट चलचित्र छान्न कलाकार अम्मिना रञ्जित (नेपाल), फेस्टिभल डाइरेक्टर ग्राब्रियला क्हून (पोल्याण्ड), चलचित्र निर्देशक ली जे कू (कोरिया) र आरोही फिल कोट्स् (बेलायत) सदस्य रहेको निर्णायक मण्डल गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment