Comments Add Comment

धितोपत्र बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा पर्न दौडधुप

२३ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न र बनाउन दौडधुप सुरु भएको छ । बोर्ड अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् ।

सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको थियो । जसमा ८ जनाले आवेदन दिएका छन् ।

समितिले ८ मध्येबाट सर्टलिस्ट गरेर ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयमा सिफारिस गर्ने योजना बनाएको छ । समितिले सर्टलिस्ट गर्नुअघि नै सिफारिसमा पर्नका लागि आकांक्षीहरुले राजनीतिक लविङ थालेका छन् ।

आवेदन दिएकाहरु धेरैजसो नेकपा समर्थित छन् । पहिलो नम्बरमा रहेका नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्म ढुंगानाको चर्चा छ । उनी राष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिन्छन् । उनी बोर्डकै सञ्चालक समिति सदस्यसमेत हुन् । सरकारले अध्यक्ष बनाउने योजना अनुरूप ढुंगानालाई सदस्य नियुक्त गरिएको अर्थ मन्त्रालयभित्रै चर्चा छ ।

अध्यक्षका लागि बोर्डकै वर्तमान कार्यकारी निर्देशक निरज गिरी तथा उपकार्यकारी निर्देशक नवराज अधिकारीसमेतको आवेदन परेको छ । यसबाहेक नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसमेतले अध्यक्षका लागि आवेदन दिएका छन् ।

बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीले पनि आफूलाई प्रवल दाबेदारका रूपमा प्रस्तुत गर्दै आएका छन् । नेकपानिकट मानिने अधिकारीले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएको उनीनिकट स्रोतले बताएको छ । अनुभवका आधारमा गिरी, अधिकारी, बोर्डका पूर्वसदस्य र नेप्सेका पूर्वमहाप्रबन्धक थपलियासमेत बलिया दाबेदार हुन् ।

समितिका सदस्य एवं अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले छिट्टै सर्टलिस्ट गरिने बताए । तर छनोट समितिको बैठक कहिले बस्ने भनेर छलफल नै भएको छैन । संयोजकले बैठक बोलाएपछि ३ जनाको नाम अर्थ मन्त्रालय पठाउने समितिको तयारी छ ।

समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्त दिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment