Comments Add Comment

घर फर्किने दिन युएईमै अस्ताइन् सुकमाया

युएई । युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् ।

साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई  कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत बनेपछि साथीहरुले नै अजमानस्थित खलिफा अस्पताल पुर्‍याए ।

सुकमायाको उपचारमा चिकित्सकले सक्दो प्रयास गरे । तर डिसेम्बर ५ तारिख बिहान चिकित्सकले उनलाई मृत घोषणा गरे ।

चिकित्सकका अनुसार अस्पताल ल्याउँदै गर्दा उनलाई बचाउन सकिने आशा न्यून थियो । मुटुमा गम्भीर समस्याले थलिएकी सुकमायाको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।

युएईमै कार्यरत उनका भाइ कमल टमाटाले बिहीवार साँझ खबर पाए । बिहीवार बिहान नेपाल जान तयार भएकी दिदी भम्भीर अवस्थामा अस्पतालमा भएको खबरले नि:शब्द थिए ।

छिमेकी दाइ मनोज विकको साथमा उनी अस्पतालमा पुगे । बिहीवार साँझ घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफिनमा देख्ने साहस कमलसँग थिएन।

आँखा भरी आँसु पार्दै कमलले सुनाए, ‘घर गएर उपचार गराउने भनेको थियो । तर हामीलाई छोडेर जानुभयो । अब दिदीको कहिल्यै उपचार नहुने भयो।’

२३ वर्षीया सुकमायाको घरमा श्रीमान र ४ वर्षकी छोरी छिन् । श्रीमान  नेपालमै प्लम्बरको काम गर्छन् । २ वर्षअघि उनी रोजगारीका लागि युएई आएकी थिइन् ।

सारजास्थित एक विद्यालयमा हाउसकिपिङ्गको काम गर्थिन् । एक महिनाअघि मात्र घर गएर आएकी थिइन्।

तिहारमा भाइलाई यतै टीका लगाइदिएकी उनले मुटुमा केही समस्या भएको बताएकी थिइन् । भाइ कमलका अनुसार यहीँ आएर जाँच गर्दा मुटुमा समस्या रहेको र चाँडै उपचार गराउन चिकित्सकले सुझाएका थिए

युएईमा उपचार गर्दा धेरै खर्च लाग्ने भएकाले सुकमाया डिसेम्बर ५ तारिख (बिहीवार) नेपाल फर्कने तय भएकाे थियाे । तर त्यही दिन नै सुकमाया कहिल्यै नफर्कने गरी युएईमै अस्ताइन् ।

पोस्टमार्टमपछि उनको शव अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । उनले पाउने सेवासुविधा कार्यरत कम्पनीले उपलब्ध गराउने जनाएको छ ।

आवश्यक कागजात पूरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनका भाइ कमलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment