
२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदकमध्ये भारतले १८ वटा जितेको छ । स्वर्ण रजत र कास्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कांस्य गरी २९ पदक जित्न सफल भयो ।
दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कांस्यसहित १४ पदक हात पारेको छ । बंगलादेशले ६ रजत र ४ कांस्य गरी १० पदक जित्यो । चौथो स्थानमा रहेको श्रीलंकाले २ रजत र ५ कांस्य गरी ७ पदक जितेको छ । माल्दिभ्स, भुटान र नेपाल पदकविहीन रहे ।
सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो ।
भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभीस केएआई र फर्नान्डो टीडीएसको जोडी ८ अंकमा रोकिएको थियो ।
कांस्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कांस्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंककमा रोकिँदै चौथो स्थानमा रहे ।
विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरेका थिए ।
प्रतिक्रिया 4