Comments Add Comment

‘तीस सेकेण्ड रिङमा उभिन नसक्दा हारेँ’

यो सागमा म एकदमै दुःखी छु । मैले वर्षौंदेखि देखेको सपना यही सागमा चकनाचुर भयो । उसुमा ८५ केजी तौल समूहमा स्वर्ण जित्ने सपना थियो, तर सकिनँ । रजत त पक्का जस्तै थियो त्यो पनि भाग्यले साथ दिएन । मेरो सबै सपना तीस सेकेण्ड रिङमा उभिन नसक्दा चकनाचुर भयो ।

यो मेरो जीवनको बिर्सन नसक्ने क्षण हो ।

म श्रीलंकाको खेलाडीसँग रजतको लागि भिडिरहेको थिएँ । जित्छु भन्ने नै थियो । पहिलो सेट दुई-जिरोले जितेको पनि थिए । दोस्रो सेटमा पनि म अगाडि थिएँ । तर मेरो खुट्टा एक महिनाअघि मात्र फ्याक्चर भएको थियो । मेरो खुट्टा कमजोर छ भन्ने विपक्षी खेलाडीले थाहा पाएछ । उसले मेरो खुट्टामा ताकेर हानिरहेको थियो । म छलिरहेको थिएँ ।

मैले सेमी किक हानेको बेलामा उसले मेरो खुट्टा समातेर हानिदियो । त्यसपछि मेरो फ्याक्चर खुट्टाको लिगामेण्ट गयो । रेफ्रीले एक… दुई… तीन भन्दै १० सम्म गने । तर, म उठ्न सकिनँ ।

१० गन्दासम्म उभिएको भए मैले रजत जित्थेँ । तर तीस सेकेण्ड उभिन नसक्दा म जितेर पनि हारेँ । हारेको मान्छेले गेम जित्दा रुन आयो । एकदमै तनाव भएर हात ठट्टाएँ । तर नहुनु भइसकेको थियो ।

एक वर्षपछि भारतमा एसिएन च्याम्पियनसिप हुँदैछ । अब त्यसको तयारी गर्न थाल्छु र म आफू राम्रो खेलाडी हुँ भनेर प्रमाणित गर्न चाहन्छु

त्यही बेला मेरा गुरुहरु आएर भने,  ‘तैले राम्रै खेलेको होस्, भाग्यले साथ दिएन त के गर्छस् ।’

खेल हारेको दिन त बरु खुट्टा भाँचिएको भए हुन्थ्यो, यस्तै, यस्तै कुरा मनमा आएको पनि थियो । देशले ममाथि गरेको लगानी खेर फालेँ भनेर खिन्न भएको थिएँ । मैले साथीहरुको खेलहरु हेर्न सकेको छैन, चिन्ता मात्रै लाग्छ ।गुरुहरुले भनेपछि मन अलि शान्त भयो । तर, हारिरहेको मान्छेले गेम जित्दा मन कहाँ मान्छ र ? सजिलैसँग सपना चकनाचुर भएको जस्तो लाग्छ । फेरि यस्तो मौका आउला नआउला भन्ने चिन्ताले तनाव दिइरहेको छ ।

किनकि म यही गेमका लागि भनेर गएको १५ महिनादेखि घर पनि नगइ अभ्यासमा थिएँ । दैनिक ८ देखि १२ घण्टा अभ्यासमा जुटेको थिएँ । दशंैको टीकाको दिन पनि म अभ्यासमै थिएँ । यसरी तयारी गरेको मान्छे ‘मेडिकल्ली डिसक्वालिफाइड’ भएर हार्नु पर्दा नमजा लाग्ने रहेछ ।

तर, गुरुहरुले ‘अर्को पटक पक्कै जित्छस्’ भनेर सम्झाएपछि म थारै सम्हालिएको छु ।

म यो पटक उत्कृष्ट फममा थिएँ । योभन्दा अघि चीनको सांघाइमा १५ वर्ल्ड च्याम्पियनसिपमा मैले नेपाली खेलाडीले अहिलेसम्म खेलेको भन्दा उत्कृष्ट पर्फमेन्स दिएको थिएँ । त्यही भएर मैले गोल्ड मेडल जित्छ भन्नेमा सबै ढुक्क थिए, तर कांस्यमा चित्त बुझाउनु पर्‍यो ।

अहिले नेपाली सेनामा कार्यरत छु । मैले उसु खेल्न थालेको ६ वर्ष भयो । त्यसअघि भलिबल खेलाडी थिएँ ।

तर उसु तालिम लिएको ६ महिनामा मैले वर्षौं पुराना खेलाडीलाई हराएको थिएँ । सातौं राष्ट्रिय खेलकुदमा म दोस्रो भएको थिएँ । आठौं राष्ट्रिय खेलकुदमा गोल्ड जितेँ । वर्ल्ड च्याम्पियनसिप र सागमा छनोट भएरै आएको हुँ ।

अबको मेरो लक्ष्य भनेकै जसरी हुन्छ, देशको लागि मेडल ल्याउने हो । एक वर्षपछि भारतमा एसिएन च्याम्पियनसिप हुँदैछ । अब त्यसको तयारी गर्न थाल्छु र म आफू राम्रो खेलाडी हुँ भनेर प्रमाणित गर्न चाहन्छु ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment