२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।
अपराजित रहेकाले स्वर्ण हकदार : बालगोपाल
सन् २००४ पछि यू-२३ राष्ट्रिय टिम अर्थात ओलम्पिक टिमले साग खेल्न थालेयता नेपालले दोस्रो पटक सागमा स्वर्ण पदक जितेको हो भने समग्रमा चौथो पटक । दुवै सफलतामा नेपालले पाकिस्तानको कीर्तिमान बराबरी गर्यो । यू-२३ टिम खेल्न थाले यता सन् २००४ को नवौं र २००६ को दशौं सागमा पाकिस्तानले लगातार फुटबलमा स्वर्ण जितेको थियो । नेपालले २०१६ को १२औं र २०१९ को १३ जितेर त्यसको बराबरी गर्यो ।
यस्तै समग्रमा ४ स्वर्ण जित्ने पाकिस्तानकै कीर्तिमान पनि बराबरी गर्यो । यसअघि नेपालले सन् १९८४ मा नेपालमै भएको पहिलो साग र १९९३ मा ढाकामा भएको छैटौं सागमा स्वर्ण जितेको थियो । दुवै पटक नेपालको राष्ट्रिय टिमले खेलेको थियो ।
यस्तै पाकिस्तानले पनि राष्ट्रिय टिमले खेल्दा सन् १९८७ को तेस्रो र १९८९ को चौथो संस्करणमा फुटबलमा स्वर्ण जितेको थियो ।
यी भए कीर्तिमान । यस्तै नेपालले यस पटक अर्को कीर्तिमान पनि बनायो, अपराजित रहेर स्वर्ण जित्ने ।
पाकिस्तान र भारत यस पटक सहभागि नरहेकोले ५ टिमबीच राउण्ड रोविन लिगको आधारमा खेल भएको थियो । ८ दिनको अन्तिम ५ खेल खेल्नु त्यो पनि कुनै खेल नहारी अनी स्वर्ण जित्नु आफैमा कठिन कार्य थियो ।
तर नेपालले घरेलु मैदान र दर्शकको साथ सदुपयोग गर्दै कुनै खेल हारेन र फाइनलमा मंगलवार भुटानलाई २-१ ले हराउँदै स्वर्ण जित्यो । स्वर्ण जितेपछि प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया पनि यस्तै थियो । हामी पूरा प्रतियोगितामा अपराजित रह्यौं, त्यसैले स्वर्ण पदकका लागि पूरा हकदार रह्यौं।’
यस्तै बालगोपालले चार महिनाको तयारीले पनि फाइदा पुगेको बताए । ‘हामीले चार महिना लामो तयारीको अवसर पायौं । त्यसकै कारण हामीले राम्रो पनि गर्न सक्यौं’, उनले भने ।
प्रतिक्रिया 4