Comments Add Comment

साढे ५ हजार मुसा मार्न अढाई करोड खर्च !

काठमाडौं । मुसा मार्नका लागि करोडौं रुपैयाँ खर्च गरिएको समाचार सुन्दा अचम्म लाग्न सक्दछ । तर अचम्म मान्नु पर्दैन । किनकी भारतको रेलवे विभागले झण्डै साढे ५ हजार मुसा मार्नका लागि डेढ करोड भारुभन्दा धेरै रकम खर्च गरेको छ ।

वास्तवमा भारतीय रेलवेलाई मुसाको बढ्दो संख्या टाउको दुखाइको विषय बनिरहेको छ । त्यसैले मुसा नियन्त्रणका लागि रेलवे विभागले पछिल्लो समय पैसाको खोलो बगाउन थालेको छ ।

समाचारअनुसार रेलवेले पछिल्लो ३ वर्षमा मुसा नियन्त्रणका लागि १ करोड ५२ लाख भारु खर्च गरेको छ । त्यो भनेको झण्डै अढाई करोड नेपाली रुपैयाँ हो ।

तर दुःखको कुरा के भने करोडौं रकम खर्च गर्दा पनि रेलवे विभाग अझै मुसाको पीडाबाट मुक्त हुन सकेको छैन । किनकी १ करोड ५२ लाख ४१ हजार ६८९ भारु खर्च गर्दा तीन वर्षमा जम्मा ५ हजार ४ सय ५७ वटा मात्र मुसा मारिएको छ ।

मुसा मार्नका लागि तीन वर्षमा भएको खर्चलाई यदि दैनिक हिसाब गर्ने हो भने भारतको रेलवे विभागले मुसा मार्नका लागि दैनिक १४ हजार भारु खर्च गर्ने गरेको रहेछ । अनि हरेक दिन १४ हजार भारु खर्च गर्दा जम्मा ५ वटामात्र मुसा मारिँदो रहेछ ।

रेलवेले मुसा मार्नका लागि ठेकेदार नियुक्त गर्दछ । मुसाले रेलभित्र यात्रुहरुका सामान काटिदिने, रेलमा राखिएका खानेकुरा खाइदिने र अन्य सामानहरु समेत काटेर बिगारिदिने समस्या बढिरहेको छ । यतिमात्र होइन रेल सञ्जालका तारहरु मुसाले काटिदिएर रेलवे सेवा नै प्रभावित हुने र रेलको लिकमुनि मुसाले भ्वाङ पार्दा लिक नै धसिने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment