Comments Add Comment

भेटिएको एक लाख नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

२५ मंसिर, गुल्मी । गुल्मी प्रहरीले एक व्यक्तिको हराएको १ लाख नगद फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

प्रहरीले जिल्ला सदरमुकाम तम्घास निवासी केशवराज आचार्यको हराएको १ लाख रुपैयाँ नगद फेला पारी बुझाएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले एक कार्यक्रमकाबीच आचार्यलाई हस्तातरण गरेका हुन् । तम्घासको क्याम्पस रोडस्थित निलगिरि मोबाइल पसल अगाडीबाट आफ्नो पैसा हराएको भन्दै आचार्यले सोमबार प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक चुडामणि पुनको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय र जिल्ला हुलाक कार्यालयको निगरानीमा रहेको सिसीटिभी फुटेजको आधारमा अनुसन्धान गरि उक्त रकम फेला पारेर आचार्यलाई हस्तानतरण गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

तम्घासमा अध्ययन गर्ने भावना पोखरेलसहितका २ जना विद्यार्थीहरुको सहयोगमा उक्त रकम फेला पार्न सफल भएको प्रहरीले जनाएको छ । आचार्यले हराएको रकम फेला पार्न सहयोग गर्ने विद्यार्थीलाई खुसी हुँदै नगद उपहार समेत दिएका थिए । जिल्ला सदरमुकाम तम्घासमा हुनसक्ने अपराध एवं चोरी लगायतका क्रियाकलापको निगरानी गर्न बजार क्षेत्रमा सिसीटिभी राखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीको सक्रियतामा पहिलो चरणमा बजारका अति व्यस्त एक दर्जन स्थानहरुमा सिसीटिभी राखिएका छन् ।

सिसीटिभी मार्फत रकम फेला पार्न सफल भएकोमा प्रहरी र फेला पार्न सहयोग गर्ने विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी निरौलाले धन्यवाद समेत दिए । उनले कुनै पनि आपराधिक क्रियाकलापहरु हुन नदिनका लागि तम्घास बजार क्षेत्रमा सिसीटिभी राख्ने कार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सागको शानदार समापन

Advertisment